तस्बिर साभार वेब

नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको छ -नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

Hollywood Khabar September 13,2019 Comments

२८ भाद्र इलाम।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलन प्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताएका हुन् । उनले भने, “आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।”

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भने, “आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।”

सोही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैँले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए । “हिजोका संविधान कुनै राणाले र कुनै राजाले जारी गरेका थिए”, नेता नेम्वाङले भने “अहिलेको संविधान जनताले बनाएको हुँदा कसैले अपहरण गर्ला र जनताका अधिकार फेरि पनि छिन्ला कि भन्ने अब कुनै गुञ्जायस छैन ।”