-तस्बिर वेब

नेपाल र चीनको सिमाना स्थित रसुवागढीमा नेपालको झण्डा फहराइयो

Hollywood Khabar October 21,2018 Comments

५ कात्तिक रसुवा।नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी झण्डा फहराइएको हो।नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गरेका थिए।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको थियो।गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको समेत कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिए।

मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा विसं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र विसं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महीना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ।नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ।

रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा समुद्र सतहदेखि १८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजीक पर्छ। नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो।विसं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करीब ७० प्रतिशत सकिएको छ।