तस्बिर साभार वेब

नेपाल र भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आजबाट शुरु

Hollywood Khabar August 19,2019 Comments

४ भाद्र काठमाण्डौ।नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबारदेखि काठमाण्डौमा सुरु हुँदैछ।बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा.सुव्रमण्यम जयशंकर बुधबार काठमाण्डौ आउँदै हुनुहुन्छ।भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो।

भारतीय विदेशमन्त्री एस जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सह अध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ।राजनीतिक सुरक्षा र सीमा,आर्थिक सहयोग तथा पूर्वाधार,व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।

यी मुख्य कार्यसूची भित्र परेका रेल्वे लाइन,जलमार्ग,पेट्रोल पम्प लाइन,हुलाकी सडक, चेकपोस्ट स्थापना,नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ।बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।