साङ्केतिक तस्बिर

नेपाल एयरलाईन्सको वाइडबडी जहाज आज अस्ट्रेलिया उड्दै

Hollywood Khabar March 31,2020 Comments


१९ चैत्र काठमाण्डौ।चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज  साँझ ५ः३० बजे अस्ट्रेलियाको लागि  उड्दैछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वन पुग्ने निगमले जनाएको छ।

निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो।मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ। वाइडबडी जहाजले अष्टे«लिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै  बिहीबार राति नेपालमा अवतरण गर्ने तालिका रहेको जानकारी दिनुभयो।

वाइडबडी जहाज बिहीबार राति १०:५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ।चीनबाट कोभिड-१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ।यसअघि निगमको वाइडबडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाण्डौ ल्याएको थियो।हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तराष्ट्रिय उडान गरिरहेको छ।