-मध्यपूर्वमा कोरोना प्रभावित नेपालीहरुको पछिल्लो अवस्था

मध्यपूर्वमा कोरोना प्रभावित नेपालीहरुको पछिल्लो अवस्था

Hollywood Khabar May 06,2020 Comments

रामप्रसाद ढुंगेल/युएई/मे ६, २०२०

वैदेशिक रोजगारी वा अन्य कारण मध्यपूर्वमा रहेका नेपालीहरुमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागिरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मे ५ मा जारी गरेको तथ्यांक अनुसार मध्यपूर्वका ११ देशहरुमा कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या ३ सय ६२ रहेकोे छ।

मध्यपूर्वका युएई, कतार, साउदी अरब, ओमान, बहराइन, कुवेत, इजिप्ट, इराक, जोर्डन, लेबनान र यमन गरी ११ देशहरुमा करिब १ लाख कोरोना संक्रमित भएको अवस्थामा नेपालीहरुको संख्या करिब ४ सय मात्रै देखिएको संघका प्रवक्ता डिबी क्षेत्रीले बताएका छन्।

उक्त देशहरूमा मे ५ सम्मको तथ्यांकअनुसार ८५ हजार ७ सय १० जना कोरोना संक्रमित भएको एनआरएनएको दाबी छ। यी देशहरुमध्ये पनि कोरोनाबाट सबैभन्दा धेरै नेपाली बहराइनमा संक्रमण परेका छन्। बहराइनमा जम्मा ३ हजार ७ सय २० जना कोरोना संक्रमित हुँदा नेपालीको संख्या १ सय ५७ पुगेको छ, यो संख्या मध्यपूर्वका ११ देशहरुमा सबैभन्दा बढी हो।

बहराइनपछि दोस्रो नम्बरमा युएईमा रहेका नेपालीहरु कोरोनाबाट प्रभावित भएका देखिन्छन्। युएईमा करिब १६ हजार कोरोना प्रभावित बिरामी भेटिदा १ सय जना नेपाली कोरोनाबाट संक्रमित भएका छन्। सबैभन्दा दु:खद कुरा त कोरोनाकै कारण युएईमा निधन हुने नेपालीको संख्या ६ पुगेको छ र यो संख्या अझ बढने देखिन्छ। कोरोनाकै कारण युएईबाहेक मध्यपुर्वका अन्य १० देशहरूमा अहिलेसम्म कुनै नेपालीले जीवन गुमाउनु परेको छैन।

युएईमा १५ जना नेपालीले कोरोनालाई जितेर स्वास्थलाभ गरेका छन् भने साउदी अरबमा ४ जना कोरानाबाट मुक्त भएको रिपोर्ट एनआरएनले सार्वजनिक गरेको छ। युएईमा उपचाररत नेपालीको संख्या ७९ छ भने साउदीमा २६ जना, बहराइनमा १ सय ५७ जना, र कुवेतमा ७५ जना उपचाररत अवस्थामा रहेका छन्। यी मध्ये धेरैको अवस्था सामान्य र सुधारोन्मुख छ।