Krishna KC, hollywoodkhabar.com

नेकपाको सहयोग, नेजासँगै इन्जाको घोषणा, के हो त नालीवेली ?

Hollywood Khabar August 15,2018 Comments


कृष्ण के सी अमेरिका
नेपालीहरू काम गर्ने संघ संस्था फुट्नु वा नयाँ खुल्नुलाई धेरैले स्वाभाविक रूपमा लिन्छन् ।  अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ-इन्जाको गठनलाई पनि केहि फेसबुकको दोहोरी टसल्ली बाहेक धेरैले सामान्य रूपमा लिए। आखिर नेपाल अमेरिका पत्रकार संघ-नेजा फुटाएर इन्जा बनाउनै पर्ने अवस्था कसरी निर्माण भयो ? यो गठनमा के कस्ता पक्ष र शक्तिकेन्द्रहरू लागि परे भन्ने धेरै पाटाहरू भने बाहिर आएका छैनन्।

अमेरिकामा रहेका नेपालका देब्रेपंथी राजनैतिक धार नजिक अर्थात् कम्युनिस्ट पृष्ठभूमिका केही पत्रकारहरूको एउटा गुप्त बैठक बस्यो। अमेरिकाका नेपाली संघ संस्थामा वामपन्थी राजनीति पृष्ठभूमि भएकालाई माथि उठाउन  पत्रकारहरूको संस्थामा त्यही धारका पत्रकारहरुको नेतृत्व आवश्यक भएको उनीहरूको निष्कर्ष रह्यो । केही लैवरी (प्रस्ट दृष्टिकोण, विचार र अडान नभएका) डेमोक्रेट पत्रकारको काँधमा हरियार राखेर तत्कालिन नेजा उपाध्यक्ष गुणराज लुईटेललाई अगाडि बढाउने रणनीति उनीहरूले तय गरे।

गुणराज लुईटेलको नेतृत्वमा किरण मरहठा, रामचन्द्र भट्ट, सुरज भण्डारी लगायतका  केही कोर वामपन्थी पत्रकारहरूलाई टिममा समेट्ने गरी खाका समेत तय भयो । यो अभियानका पर्दापछाडिका खेलाडीहरू अहिले बाहिर देखिँदै गएका छन् ।  त्यही योजना अन्तरगत नेजाका तत्कालीन अध्यक्ष भोला आचार्यलाई सारथी बनाएर लुईटेलको अध्यक्षको रथ अगाडि वढाउदा वामपन्थीको आरोप पनि नलाग्ने उनीहरूको बुझाई थियो।  सोही अनुरूप लुईटेलले आवश्यक सबै सहयोग गर्दै आचार्यलाई आफ्नो चुनावी दौडाहामा लिएर हिँडे।
चकनाचुर
दुर्भाग्य के भयो भने संस्था भित्रको चरम आर्थिक अनियमितता गरेका कारण कार्यसमितिका कुनै पनि बैठकको सामना गर्न सक्ने अवस्थामा अध्यक्ष आचार्यमा थिएन। उपाध्यक्ष लुइँटेल र एक जना क्षेत्रीय संयोजकको मात्र आचार्यलाई सहयोग थियो। ११ पटक गम्भीर आर्थिक अनियमितता गरेको ठहर गर्दै कार्यससिमिति अध्यक्ष आचार्यलाई कारबाही गर्ने पक्षमा दह्रोसँग उभिएको थियो।  

नेजाका एक जना पूर्व पदाधिकारीका अनुसार कार्यसमिति बैठकले आर्थिक अपचलनको विषयमा छलफल गरी अध्यक्ष भोला आचार्यलाई माफी माग्न बाध्य बनाएर पैसा फिर्ता गर्न लगाएको थियो। पुन गल्ती नगर्ने गरी माइनुट नै गरेर कारबाही समेत गरेको छ । तर रोचक पक्ष के छ भने अध्यक्ष आचार्यलाई माफी मगाउने र पैसा भरपाई गराउने काम जति पटक गरे पनि उनले आर्थिक अपचलनका गतिविधि कहिल्यै रोकेनन्।

अध्यक्षको गतिविधि विरुद्ध तीव्र असन्तुष्टि देखाइ रहेका महासचिव तोया दाहाल लगायत कार्यसमिति सदस्यहरू अध्यक्ष आचार्यलाई हदसम्मको कावाहि गर्ने मनस्थितिमा पुगिसकेका थिए। तर आचार्य कमजोर हुँदा  आफ्नो चुनावी अभियान चकनाचुर हुने चिन्ता लुईटेललाई थियो । जसका कारण अध्यक्षको अनियमितता विरुद्ध कुनै बैठकमा पनि उनले मुख खोलेनन् ।

सियाटल र गुणराजको बिदाइ
अधिवेशन हलबाटै आचार्यलाई कारबाही गर्न सहज स्थानमा अधिवेशन गर्ने मनस्थितिमा महासचिव तोया दाहाल लगायतको समूह लागि परेको थियो। त्यही अनुसार सियाटलमा अधिवेशन गर्ने योजना उनीहरूले बनाए। नेजा कार्यसमितिले सियाटलमा अधिवेशन गर्ने निर्णय सर्वसहमति मै ग-यो। कार्यसमितिमा सर्वसम्मत निर्णय भएको १५ मिनेट मै अध्यक्ष र उपाध्यक्षले मेरिल्याण्डमा अधिवेशन गर्ने विज्ञप्ति जारी गरे । त्यसपछि स्थिति झनै तनावपूर्ण भयो । नेजा नै टुक्रने अवस्था थियो।

अध्यक्ष आचार्य र उपाध्यक्ष लुईटेलको कार्यसमितिको निर्णय विरुद्धको  हर्कतवाट सल्लाहकार तारा बराल र पूर्व अध्यक्ष आङछिरिङ शेर्पा समेत आक्रोशित बन्न पुगे। उनीहरू कार्यसमितिको निर्णय अनुसार नै सियाटलमा अधिवेशन गर्नै पर्ने पक्षमा उभिए। पूर्व अध्यक्ष शेर्पा र सल्लाहकार बरालको आक्रोश र अडान पछि अध्यक्ष आचार्य लत्रिँदै गए । दबाबबाटै सियाटल अधिवेशनलाई स्वीकार गर्न पुगे । मेरिल्याण्ड वा टेक्ससमा नै अधिवेशन गर्ने अडानमा अध्यक्ष आचार्य अडिग भएका भए कार्यसमितिले उनलाई कारबाही गर्ने निश्चित थियो। त्यहीबाट नेजा फुटाएर अध्यक्ष बन्ने लुइँटेलको पहिलो लक्ष चकनाचुर भयो । सियाटलमा अधिवेशन हुँदा अध्यक्ष बन्न नसक्ने निष्कर्ष निकाल्दै लुइँटेलले नेजाको उपाध्यक्षबाट राजीनामा दिए ।

लुईटेलको राजीनामासँगै नेपाल अमेरिका पत्रकार संघ नेजामा वामधारका पत्रकारलाई नेतृत्वमा पु-याउने योजनाकारहरु हतोत्साही भए।  उनीहरूले नै गुणराज लुईटेललाई छुट्टै संस्था खोल्न प्रेरित गर्दै गए । लुईटेलले नेपालमा नेकपा निकट नेता र पत्रकारहरूसँग सम्पर्क गरेर अमेरिकाबाट वामधारका पत्रकारको ग्लोबल नेटवर्क बनाउने विषयमा छलफल गरे ।

पहिला देखि नै नेजासँग असन्तुष्ट अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्कीले नयाँ खुल्ने पत्रकारको संस्था इन्जालाई सहयोग गर्ने बचन लुईटेललाई दिइसकेका थिए। नेकपा नेता तथा मन्त्री प्रदीप ज्ञावली अमेरिका आएको समयमा संस्थाको औपचारिक उद्घाटन गराउने कार्यक्रम पनि महामहिम राजदूत डा कार्कीले नै तय गरिदिएका हुन्।

त्यस लगतै केही डेमोक्रेट पत्रकारलाई पनि केही स्थान दिएर वामधारको पत्रकारको सधैँ प्रभाव रहने गरी समूह गठनका लागि नाम चयन भयो। चयन गरिएका पद र नाम मध्येमा उपाध्यक्षमा नाम राखिएका विकासराज न्यौपाने, महासचिवमा किरण मरहठ्ठा, सचिवमा सुरज भण्डारी र सदस्यमा नाम राखिएका रामचन्द्र भट्ट नेजामा र अरू सबै इन्जामा छन्।

नेजाको अधिवेशनमा उनीहरूले भने जस्तो पद पाएका कारण इन्जामा नआएको लुइँटेल समूहको बुझाई छ। जसका कारण नेजाको नयाँ समिति घोषणा भएकै दिन इन्जाको नयाँ समिति घोषणा गर्ने पूर्व तयारीमा तुसरापात भयो। उनीहरू नेजामा पद पाएपछि आउन इच्छुक नदेखिएकाले ती पदहरूमा अरूलाई मिलाएर कमिटीलाई पूर्णता दिन केही दिन थप कसरत गर्नु प-यो। इन्जाको लिस्टमा रहेका अधिवेशन पछि नेजामा अड्किएकाहरू केही बोल्न नसकेर अर्थपूर्ण मौनता साधेर बसेका छन्।

अधिवेशनको केही समय अघिसम्म टेक्ससको एउटा समूह नेजा र अध्यक्ष भोला आचार्यको नाम समेत सुन्न चाहँदैन थिए । अमेरिकामा सबैभन्दा व्यावसायिक पत्रकार आफू मात्र भएको देखाउन चाहने त्यो समूहका पत्रकारले नेजाका कार्यक्रम बहिष्कार मात्र गरेनन् आचार्य उपस्थित भएका कार्यक्रमको समाचार समेत बहिष्कार गरे । जो नेजाका हरेक कार्यक्रम असफल बनाउन हरतरहले लागि परिरहेका थिए। तत्कालीन नेजा अध्यक्ष आचार्यले पनि सार्वजनिक मञ्चबाटै त्यो समूहका व्यक्तिहरूको नामै लिएर नेपालका स्तरहिन सन्ध्याकालीन पत्रिकामा काम गर्ने पत्रकारसँग तुलना गरे।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचनमा एउटै स्रोतको दाना पानी चल्न थालेपछि भने लैवरी समूहका आचार्य र टेक्ससको अर्को समूहमा नाटकीय मित्रतामा देखियो। तिरस्कार समूह आचार्यका हरेक पोस्टमा लाइक र कमेन्टको वर्षा गर्न थाले । दुई वर्षसम्म नेजाको विकल्पमा अर्को संस्था वा महासंघको शाखा ल्याउने भनेर उनीहरूले तयार गरेको ग्राउण्डमा उभिएर गुणराज लुइँटेल इन्जा गठन गरेको बुझ्न अमेरिकामा रहेका जो कोही पत्रकारले सक्छ। गलत मनसायले अरुलार्ई पुर्न खनेको खाडलमा आफै परिन्छ भन्ने हेक्का नराख्दा टाउकोमा हात राख्नुको विकल्प पनि त हुन्न।  भनिन्छ सत्य तितो हुन्छ । ढिलै भए पनि सत्यलाई आत्मसाथ गर्न सक्नुपर्छ ।

**यो लेखिरहँदा धेरैजनाको नाम नै किटेर लेख्नु परेकोमा क्षमा प्रार्थी छु तर पनि त्यो नाम बिना कथा पूरा नहुने र अर्थ पनि नरहने भएकोले सबैको जानकारीको लागि गरिएको छ। यथार्थलाइ सामना गर्नको लागि अनुरोध गर्दछु !**