-सोनी शर्मा 

आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।

Hollywood Khabar April 09,2019 Comments

उजाडिएका बृक्षमा नयाँ पात पलाए जस्तै
जुरमुराएका सपनालाई सार्थकता दिन 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
टुटेका आशालाई भरोसा र बिश्वास दिलाउन 
तिमी हरेक दिन खुशिको बहार बनेर
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
आश्वासन दिने कत्ति आए,कत्ति गए 
प्रतिबद्धता पुरा गर्न नतिजावान भएर
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
प्रलोभनको वर्षाले निराश छन् सबै
पुरा गर्न सक्ने मात्र बोल भन्दै
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
वृद्ध बाबा आमालाई एक्लै छोडेर 
पलायन हुने बाध्यतालाई रोक्न 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
बाझिएका खेत,रुखिएका गरामा 
सुन फल्छ भन्ने सन्देश बोकेर 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
पैसाले न्याय किन्न सक्दैन भन्दै 
भ्रष्टलाई तह लगाउने गरि 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
निर्मलाहरुको आत्माले गिज्याइरहदा 
जिवितलाई मल्हम लगाउने गरि
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
नेपाल आमालाई रुवाएर 
किस्तामा देश बेच्न हुन्न भन्दै
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
धरातल बिर्सेर छिमेकीको इसारामा नाच्नेलाई 
घर जलाएर खरनिको टीका लाउन हुन्न भन्दै 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
देश नरहे हामी रहदैनौ भन्दै 
देशप्रेम र नेपालीको भाइचारा बोकि 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
मंगलग्रहमा पुराउने सपना होईन 
एकपेट अन्न र लाज छोप्ने बस्त्र लिएर
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
सीप अनुसारको काम दिने गरि 
बेरोजगारलाई रोजगार बनेर 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना 
कागजमा होइन ब्यवहारमा पुरा गर्नेगरी
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
सारा नेपालीलाई दिर्घायु छर्दै 
सयौं थुङ्गामा एकताको उर्जा भर्दै 
आउ ! नयाँ बर्ष तिमिलाइ स्वागत छ।
 
-नयाँ बर्ष २०७६ सालको शुभकामना ।।