-Narayan Thapa

नयाँ र पुराना मिलेर अधिवेशनमा जाँदा सदस्यताको बिषयमा कुनै समस्या देख्दिन:थापा

Hollywood Khabar February 10,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१०/२०

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने भनि निर्णय गरिएको पनि आज एक हप्ता हुन लाग्यो। केन्द्रिय समितिले राज्य च्याप्टरहरुलाई अधिवेशन निर्देशिका र सदस्यता फर्म पठाउन बाँकी छ। निर्वाचनका लागि विभिन्न कमिटीले पूर्णता पाउन बाँकी छ। अधिवेशन कहाँ गर्ने टुंगो लगाउन बाँकी छ। प्रतिनिधि पठाउन पार्टीलाई पत्राचार गरियो या गरिएन थाहा छैन। राज्य च्याप्टरहरु अधिवेशन गर्न आतुर छन्। बरु केन्द्र नै अलि सुस्त हिंडेको अवस्था प्रष्ट देखिन्छ।

यसै शिलशिलामा बिशेश्वर प्रसाद कोइरालाले सुरु गरेको नेपाली जनसम्पर्क समिति बन्द गरिएपछि पुन जापानमा सुरुवात गर्न पहल गर्ने नारायण थापाले पनि आफ्नो धारणा राखेका छन्। हुन त थापाले नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना गर्न पनि रोल गरेका नै हुन्। अझै यसो भनौं, नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापकहरु मध्येका उनि पनि एक हुन्।

नारायण थापाले आफू अधिवेशनको पक्षमा रहेको र अधिवेशन समय सीमामा नै हुनुपर्छ भनेका छन्। उनेल हलिउडखबरसंग कुरा गर्दै भने, पुराना र नयाँ जो नेपाली काँग्रेससँग आस्थावान छ उनीहरु सबैले नेपाली जनसम्पर्क समितिको सदस्यता लिन पाउनुपर्छ र दिनुपर्छ। जहाँ सम्म पार्टीको सदस्यताको कुरा छ त्यो नेपाली काँग्रेस पार्टीको बिधानमा स्पस्ष्ट रुपमा ब्यबस्था गरिएको छ, यहाँ विवाद गर्नुपर्ने कुरा नै छैन। जसले यो बिषय बुझेका छैनन उनीहरुले जनसम्पर्क र नेपाली काँग्रेस दुवैको भावना र मर्म बुझेका छैनन्। अब कुरा गरौँ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यताका। त्यो त झन प्रष्ट रुपमा बिधानमा छ। क्रियाशील सदस्यले मात्र त्यो सुविधा पाउने र क्रियाशील सदस्य हुन नेपाल बाहिरका व्यक्ति नेपाली नागरिक नै रहेको हुनुपर्ने।

अब, सभापति हुने व्यक्ति स्वत: महासमिति सदस्य हुने ब्यबस्था हुनाले उसले क्रियाशील सदस्यता नहुँदा उम्मेदवार नै हुन पाउँदैन। तर अरु पदमा कुनै विवाद नै छैन। यसलाई सजिलो बनाउनको लागि ब्याख्या जसरि गरेपनि प्रयोग गर्दा भने पार्टीले केहि पर्मार्जन गरेर निर्देशिका पठाउँदा सजिलो हुन्छ। सदस्य र प्रतिनिधि भएपछि उम्मेदवार हुने अधिकार सबैको रहने प्रजातान्त्रिक हक हुनाले सभापति हुन जो कोहि पनि आधिकारिक प्रतिनिधिले जनसम्पर्क समितिको उम्मेदवार पाउनुपर्छ। बिजयी भएमा महासमिति सदस्य हुन नपाउने ब्यबस्था भएता पनि त्यो अवस्थामा आफ्नो सट्टा सभापतिले उपयुक्त व्यक्तिलाई चयन गर्न पाउने ब्यबस्था गर्दा सजिलो र उपयुक्त हुन्छ।

नेपाली काँग्रेस पार्टीलाई देश बाहिरका आस्थावान व्यक्तिहरुको सधैं जरुरत पर्छ। सबैलाई अटाएर, मिलाएर, लिएर जानुपर्छ। त्यो घेरा साँघुरो बनाइयो र स्वार्थकै लागि ढोका बन्द गरियो भने नतिजा झन् अपत्यारिलो आउँछ। त्यो अवस्थामा भर्ति र संख्या पुर्याउने होडबाजीले आस्था र योगदानको ठाउमा जमातले लिन्छ। त्यसैले, नेपाली काँग्रेससँग आस्थावान सबैले नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता लिन पाउनुपर्छ। नयाँ र पुराना मिलाएर नयाँ नेतृत्व बनाइयो भने नेपाली कांग्रेस पार्टी र हामी सबैको लागि राम्रो हुन्छ, थापाले भने।