-रक्षा मन्त्रालय र सेनाद्धारा संयुक्त रुपमा संचालित राष्ट्रिय सुरक्षा तालिमको समापन

रक्षा मन्त्रालय र सेनाद्धारा संचालित राष्ट्रिय सुरक्षा तालिमको समापन

Hollywood Khabar March 12,2019 Comments

नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा संचालित उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ।

२०७५ फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको सि.सं.४ उच्च स्तरीय राष्ट्रिय सुरक्षा (Advanced Training on National Security) तालिमको २०७५ फाल्गुन २९ गते उक्त स्टाफ कलेजमा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच अन्तिम प्रवचन गर्नु भई तालिमको समापन गर्नु भएको छ।

उक्त तालिमको समापन समारोहमा मन्तव्य राख्नु हुँदै मन्त्री पोखरेलले राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्न सक्ने र राष्ट्रिय सुरक्षाको लागि सवै नेपालीहरु एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाई साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रवन्ध मिलाउन सहज हुने कुरा समेत बताउनु भएको थियो।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएको छ।

उक्त समापन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।