आफ्नो शरीर प्रतिको गर्व र क्षमता प्रतिको आत्माबिस्वास हो:नागमा श्रेष्ठ

Hollywood Khabar May 15,2017 Comments

नग्मा श्रेष्ठ नेपाली ग्ल्यामर दुनियाँमा चिर परिचित नाम हो। पिता जयराज श्रेष्ठ र माता चण्डिका श्रेष्ठको  कोखबाट जन्मेकी नग्मा कलेज देखि नै ग्ल्यामरको दुनियाँमा प्रवेश गरिन। पुर्बाञ्चल बिस्वबिधयालयबाट बिबिए गरेकी नग्मा नेपाल र अन्तररास्ट्रीय स्तरमा भएका बिभिन्न खालका सुन्दरी प्रतियोगिताहरुमा सहभागी भैसकेकी छिन। २००९ मा मिस कलेज बनेर सुन्दरी प्रतियोगितामा यात्रा शुरु गरेकी नग्मा अन्तररास्ट्रीय प्रस्तिस्पर्धामा नेपालबाट अहिले सम्मकै सबभन्दा माथिल्लो स्थानमा पुग्ने सुन्दरी हुन्। २०१२ मा मिस नेपाल अर्थको बिजेता बनेर फिलिपिन्सको मनिलामा सम्पन्न मिस अर्थ २०१२ मा उनी माथिल्लो ८ जनामा पुग्न सफल भएकी थिइन। त्यस्तै २०१६ मा बेजिंगमा सम्पन्न बिस्व मिस युनिभर्सिटिमा नेपालको तर्फबाट शान्तिदूत बन्नुको साथै प्रतिस्पर्धामा तेश्रो स्थान समेत प्राप्त गरिन। मिस इको युनिभर्स नेपाल बनेर इजिप्टको कायरोमा सम्पन्न इको-पर्यटन भिडियो प्रतियोगितामा बेस्ट इको टुरिज्म भिडिओ अवार्ड समेत जित्न सफल भएकी छिन।

यी र यस्ता थुप्रै प्रतिष्पर्धाहरु जितेर आफ्नो कौशलता जितेर टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता मात्र होइन नृत्यमा समेत नग्माले आफ्नो परिचय स्थापित गरिसकेकी छिन। आफुलाई राम्रोसंग अभिव्यक्त गर्न सक्ने नग्मा महिला कोठा र चोटाबाट बाहिर निस्केर दुनियाँ देख्नु पर्छ भन्ने मात्र होइन त्यसको दुतको रुपमा समेत काम गर्दै आएकी छिन। मिठो बोली र आकर्षक जिउडालका कारण नेपालमा सम्पन्न भएका ठुला ठुला कार्यक्रमहरुमा कार्यक्रम संचालिकाको रुपमा चर्चित समेत छिन। त्यस्तै नेपाल र विस्वका अन्य देशहरुमा भएका सुन्दरी प्रतियोगिताहरुमा निर्णायक बनेर आफ्नो विज्ञता समेत नग्माले प्रस्तुत गरिसकेकी छिन। अमेरिका लगायत विस्वका धेरै देशहरुको भ्रमण गरिसकेकी प्रतिभावान नग्मा यतिबेला अमेरिकामा छिन। यहि मे २६ देखि २८ सम्म डालसमा सम्पन्न हुन गैरहेको युएनए दोश्रो सम्मेलनमा समेत उनी सहभागी हुँदैछिन।

युएनएको सम्मेलनमा युवा पुस्ताको बिशेष रुचि रहेको फेसन शो र कल्चरल शो समेत प्रस्तुत गरिंदैछ। धेरै मध्येबाट चुनिएका १० जना प्रतिष्पर्धी सुन्दरीहरुले यसमा भाग लिंदैछन्। थुप्रै प्रतिभावान नेपाली मोडेलहरु अमेरिकामा रहे पनि उनीहरु अमेरिकाको मोडेलिंग र ग्ल्यामरको दुनियाँमा दर्बिलो उपस्थिति देखाउन सकेका छैनन्। तिनै प्रतिभाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्न हिच्किचाउनु हुन्न र आफुलाई मन लागेको काम गर्न डटेर लाग्नु पर्छ भन्ने प्रेरणा दिन नग्मा यो कार्यक्रममा भाग लिन डालस आउन लागेकी हुन्। युएनएको सम्मेलनमा हुन लागेको उक्त कल्चरल प्रस्तुतिमा नग्माले कार्यक्रम संचालन गर्नुको साथै आबस्यकता अनुसार प्रतिष्पर्धी मोडेलहरुलाई तालिम र सल्लाह सहयोग समेत गर्नेछिन्।यो र यस्ता अन्य कार्यक्रमहरुको लागि यतिबेला अमेरिकाको न्युयोर्कमा रहेकी नग्मा श्रेष्ठसंग युएनए सम्मेलन आयोजकको तर्फबाट र युएसएण्डनेपाल डटकम को तर्फबाट मैले (लेखनाथ गौतम) टेलिफोन अन्तर्वार्ता गरेको थिएँ।

अन्तरबार्ता लिने सबैका आफ्ना आफ्नै शैली हुन्छन, मेरो पनि छ। मेरो अन्तर्वार्ता सिधा प्रस्न र उत्तर भन्दा पनि बढी गफ गरे जस्तो खालको हुन्छ। प्रश्न सोधेर त्यसको ठ्याक्कै उत्तर लिने भन्दा पनि कुराकानी गरेर अन्तर्वार्ता गर्ने मान्छेको भनाइ बुझ्ने प्रयास गर्छु। पूर्ण तयारी हुनु भन्दा पनि उनीहरुलाई प्रश्न भए पछि सबै कुरा त्यहीं उनीहरुलाई नै सोधे भैहाल्यो नि भन्ने मेरो विचार छ। नग्मासंग अन्तर्वार्ता लिन समय र मिति तय गरिदिने युएनए सम्मेलनका सांस्कृतिक फाँटका संयोजक भाइ रायन रेएस (रबिन कार्की) ले पठाएको ३ पेज लामो नग्माको इतिवृतान्त  सरसर्ती मात्रै पढ्न भ्याएँ। राम्रो संग अध्ययनको अभावमा अन्तर्वार्ताको क्रममा मलाई आफु अपुरो भएको समेत महसुस भयो। आउनुस हेरौं, नगमा श्रेष्ठ संग गरेको रमाइलो कुराकानी: 

तपाईंको पारिवारिक पृष्ठभूमि के हो, एफोर साइजको कागजमा तयार प्रश्नावलीबाट मेरो पहिलो प्रश्न नग्मा श्रेष्ठलाई थियो। एकछिन अकमक्क परेर "के यो आबस्यक प्रश्न हो" मलाई लाइनमा ल्याउन नग्माले मेरो सिमा तोकिदिइन। मैले सम्हालिंदै त्यो झटारोलाइ अन्तै मोड्न अर्को प्रश्न गरें, " तपाईंको युएनए को सम्मेलनमा के भूमिका छ?"  "युएनएको यो दोश्रो सम्मेलन हो। पहिलो पल्ट लस एञ्जलसमा भएको थियो सम्मेलन। यसपटक डालसमा हुने सम्मेलनमा मैले सांस्कृतिक र फेसनका प्रस्तुतिहरु संचालन गर्दैछु। त्यसबाहेक फेशन शोका सहभागीहरुलाई जानेको कुरा सिकाउने, आफ्नो लक्षमा पुग्न प्रेरित गर्ने र उनीहरुलाई ग्ल्यामरको दुनियाँमा आफुलाई कसरी स्थापित गर्ने भनेर उर्जा प्रदान गर्नेछु", मिठो, अंग्रेजी मिश्रित भाषामा  निर्धक्क(कन्फ़िडेन्स) संग नग्माले उत्तर दिइन।

एक दशक अघि सम्म नेपालमा मोडेल र नायिकाहरुले अंग प्रदर्शन धेरै गरे भन्ने हल्ला चल्थ्यो। अंग प्रदर्शन गर्ने नायिकाहरुकोफिल्म होस् या फोटो होस् हेरेर सबैले मनोरंजन त गर्थे तर गाली पनि संगसंगै गर्न पछि पर्दैनथे । नेपालमा ग्ल्यामरको क्षेत्रमा निकै हावा चलिसके पनि आफुलाई भने उही पुरानै झझल्को आउने हुनाले अंग प्रदर्शन बारे नग्मालाइ प्रश्न सोधें, "सुन्दरता र अंग प्रदर्शन बीच के सम्बन्ध छ, आफ्नो कला प्रस्तुत गर्न अंग प्रदर्शन गर्न जरुरी छ ?" ? मेरो प्रश्न उनलाई अलि अनौठो लागेछ क्यारे उनले भनिन, "यो प्रश्न पुरानो भैसक्यो, नेपालमा त यो प्रसंग चल्न छोडिसक्यो तपाई अमेरिकामा अंग प्रदर्शनको कुरा गर्नु हुन्छ"। नागमाले अगाडी भनिन "ग्ल्यामरमा ब्रेन विथ ब्युटीको महत्व छ। सुन्दरी प्रतियोगिताहरुमा शरीर राम्रो र आकर्षक हुनु पहिलो योग्यता भए पनि त्यहि नै सबैथोक होइन। मोडेल र नायिकाहरुमा बुद्धि हुनु टिकिरहनको लागि अत्यन्त जरुरी छ। यसलाई आफ्नो शरीर प्रतिको गर्व र आफ्नो क्षमता प्रतिको आत्मबिस्वासको रुपमा बुझ्नुपर्छ,नग्माले मलाई बुझाउने खोजिन्। यी स्टेजहरुमा आफुलाई प्रस्तुत गरिरहँदा बस्तुको रुपमा प्रयोग हुनु हुँदैन भन्ने मेरो विश्वास छ। यसलाई हामी महिलाहरुको शशक्तिकरणको लागि प्रयोग गर्नु पर्छ"। नग्मासंगको मेरो अन्तर्वार्ता जारी रह्यो, मेरा टेडा प्रश्नहरुको जवाफ मिठो बोली मार्फत उनले दिइरहिन। 

यदि तपाईं नेपाली युबतीहरु मोडेलिंग वा ग्ल्यामरमा आफुलाई प्रस्तुत गर्ने इच्छा छ भने अगाडी बढ्नुस। तपाईंको अघि पक्कै चुनौतिहरु हुन सक्छन तर अन्तत्वगत्वा तपाईंको भित्रि चाहनाको एकदिन विजय हुनेछ। अरुको आलोचनालाइ होइन आफ्नो अन्तरआत्मालाइ साथ दिनुस। राम्रो काममा अगाडी  बढ्नु भयो भने एकदिन तपाईंका आलोचकहरुले समेत समर्थन गर्न बाध्य हुनेछन। आफ्नो सुन्दरता मात्र होइन, विद्वतामा झन् बढी ध्यान दिनुस । तपाईंको ज्ञान, क्षमता र दक्षता नै सुन्दरतालाई निखार्ने माध्यम हुन् । युएनएको सम्मेलनमा भाग लिने कि नलिने दुबिधामा हुनुहुन्छ भने पनि एउटा निर्णय लिनुस । आत्माको आवाज सुन्नुस। अहिलेको फेसन, कल्चरल प्रस्तुतिहरु तपाईंहरुको जिन्दगीको एउटा कोशेढुंगा साबित हुनसक्छ । यसैमा भबिस्य बनाउन चाहनेहरुको लागी यो समय अत्यन्त फलदायी हुनसक्छ। त्यसैले आउनुहोस युएनए सम्मेलनमा टेक्सासको डालस आउनुस, केहि रमाइलो गरौँ, केहि भविस्यका कुरा गरौँ, केहि प्रतिष्पर्धाका कुरा गरौँ अनि केहि सिकौं अनि सिकाउँ। दुइ दिनको जिन्दगीमा मरेर लानु केहि छैन । सम्मेलनमा हुने फेसन र कल्चरल प्रस्तुतिहरुमा सहभागी हुन चाहनेहरुको लागी तपाईंको के संदेश छ भन्ने प्रश्नमा नग्माको जवाफ थियो। उनको चातुर्यता र  बाक्पटुता देखेर छक्क पर्दै म संबाद अन्त्य गरें।