NRNA: मुस्ताङ्ग केदुकले लाप्राक नमुना बस्तिलाइ दिएको एक करोड सहयोग फिर्ता माग्ने-लामा

Hollywood Khabar September 25,2018 Comments

भनिछ जहाँ लगानी त्यहाँ माया बढी हुन्छ। गैरआवासीय नेपाली संघको लाप्राकको नमुना बस्तिको कुरागर्दा म धेरै भावुक हुन्छु। गैरआवासीय नेपाली संघको गौरवशाली मेगा प्रोजेक्टमा हामीहरु सुरु देखि नै सकृय रुपमा निरन्तर लागी रहेका छौ।

तर अहिलेको उक्त लाप्राक नमुना बस्तीको अवस्था देखि धेरै दुखि भएका छौ। लाप्राक प्रोजेक्ट सबै गैरआवासीय नेपालीहरुको भावनासित जोडिएको छ। यस प्रोजेक्टमा लाप्राकबासी दाजुभाई दिदीबहिनीहरुको आशा र भरोसाले उनीहरुको भविष्य जोडिएको छ।

भुकम्प पिडितको राहत र उद्धारको साथमा एउटा नमुना बस्ति निर्माण गरी उनीहरुको जिविको पार्जन गर्ने ब्यबस्थाको साथमा पर्यटन, स्थानीय कला तथा सांस्कृतिको प्रबर्धन गर्ने  हेतुले यो आयोजना गैरआवासीय नेपाली संघको सर्वसम्मतबाट पारित गरिएको थियो।

मलाइ ऐले पनि धेरै कुराहरु सम्झना छ, हामीले लाप्राकमा बस्ति निर्माणका खातिर धेरै दिन बितायौ। आदरणीय निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना घलेसित धेरै पटक लाप्राक गएक थियौं।

यो लाप्राक प्रोजेक्टको लागि अमेरिकामा रहेको हाम्रो मुस्तांग किदुक संस्थाले मात्र १ करोड भन्दा पनि धेरै रकम उपलब्द्ध गराएको छ।  हामीले गरेको मेहनत र परिश्रमको कतै पनि कुनै मुल्यांकन भएको छैन। तर पनि लाप्राक प्रोजेक्ट पुरा भएको हेर्ने हामी सबैको चाहना छ।

मुस्ताङ्ग केदुकले २ बर्षमा लाप्राक प्रोजेक्टलाई पुरा गरी लाप्राक निवासीहरुलाई भवनहरु  हस्तान्तरण गर्ने गरी रकम उपलाब्द्ध गरेको थियो । अब २ बर्षमा पुरा नभए पछि मुस्तांग केदुकले उपलाब्द्ध गराएको रकम फिर्ता माग्ने उनीहरुको माग छ। त्यो रकम लिएर तिनै भुकम्प पिडितहरुको नमुना बस्ति आफै स्वयमले  निर्माण गरिदिने भन्दैछन। यस बारेमा गैरआवासीय नेपाली संघको नेतृत्वले जवाफ देही हुनु पर्ने छ।

लाप्राक अहिले बेबारिसे अवस्थामा भएको छ। त्यहा गैरआवासीय नेपाली संघको नेतृत्व कहिले काही बिर्सिएको बेला पाहुनाको रुपमा झुल्कने गर्दछ। फोटो सेसन गरी सामाजिक संजाल रंगाएको देखिन्छ। नत लाप्राकका दाजुभाई दिदीबहिनीहरुको दुख र आसालाइ बुझ्ने नै गर्दछन नत गैरआवासीय नेपाली संघको भावना र मूल्यमान्यतालाई बुझ्ने नै कोशिस गर्दछन। नतमस्त भएको नेतृत्वलाई हामीले १ बर्षको समय दियौ। तर आज सम्म पनि केहि प्रगति  नहुदा स्तब्ध भएर म बोल्न बाध्य बनेको छु। कसैको व्यक्तिगत स्वार्थसिद्ध गर्न संस्थालाई प्रयोग गरी ५० औं लाख गैरआवासीय नेपालीको भावनालाई चोट पुराउन न्याय संगत हुदैन।

लाप्राक नमुना बस्ति निर्माण गर्न सबै गैरआवासीय नेपालीहरुले एक/एक डलर, एक/एक युरो, एक/एक पाउण्ड, एक/एक दिराम त्यस्तै गरी हरेक  देशमा रहने गैरआवासीय नेपालीहरुको सामुहिक प्रयास र कोशिसले यो प्रोजेक्ट अगाडी बढेको हो।

गैरआवासीय नेपालीहरुका अभिभावक संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक ड़ा उपेन्द्र महतोले गत अधिबेसनमा भिजन २०२० र बिधान शम्शोधन गर्दाको समयमा गरेको सम्बोधनमा गैरआवासीय नेपाली संघले सुरु गरेका सबै प्रोजेक्टलाई चाडै भन्दा चाडै पुरा गर्न आफु स्वयम् लागी पर्ने बताउनु भएको अझै मेरो सम्झनामा छ। त्यो समय हामी सबैको मन रमाएको थियो। तर आदरणीय डा उपेन्द्र महतोजीको महाबाणी अहिले सम्म कता गए होला सबैले स्मरण गरौ।

तपाईको अभिभावकत्वको ठुलो आशा भरोसा र  बिश्वासमा गैर आवासीय नेपाली संघको विस्तारको अभियान निरन्तर बढेर आज ७९ मुलुकमा फैलिएको छ। तर संघले सुरु गरेका मेगा प्रोजेक्टहरु अलपत्र पर्दा हामी सबै गैरआवासीय नेपालीहरु धेरै दुखि भएकाछौ।

दुखलाग्दो अबस्थामा गुज्रेको संघ, करिव एक बर्ष आग्रह पूर्वाग्रहमा रुमल्लिएर योग्य सक्षम कर्मचारीलाई हटाउने काममा ब्यस्त रह्यो। जसको फलस्वरूप संघले गरेका  उपलाब्द्धिहरुलाई सहि तरिकाले उपयोग गर्न सकेन। संघले सुरु गरेका सबै कार्य योजना अलपत्र पर्ने अबस्थामा पुगेका छन। संघको छावि नै खतम गर्न खोजेको प्रमाणित भयो।  निर्देशक राजेश राणालाई नियम कानुन बिपरित जबर्जस्ति निस्कासन गरियो तर अदालतले पुन बहाली गरी दिए पनि संघको अस्तित्वमा नै कालो धब्बा लागेको छ।

यो सबै नेतृत्वको कमजोरी, लाहपर्बाही असक्षमताको कारण भएको हो भन्ने कुरा सबै गैरआवासीय नेपालीहरुलाई स्पस्ट भएको छ। राणाको मुद्धामा खर्च भएको रकम र राणालाई काम बिना करिव एक बर्षको तलब कसले बेहोर्ने, अनि एउटा दरबन्दीमा २ जनाको तलब कसरी कहाबाट उपर गर्ने, नेतृत्वले तुरुन्त जबाफ देही हुनु पर्दछ।

संस्थाको नाम बेचेर आफ्नो व्यक्तिगत स्वार्थमा लागियो भने भविष्यमा  गैरआवासीय नेपाली संघको अस्तित्व गुगलमा खोज्न पर्ने हुनेछ। कसैको रिस, डाह र पूर्वाग्रहले संस्थाको अस्तित्व खतम हुनसक्दछ। हामीलाई थाहा छ, गैरआवासीय नेपाली संघ संस्था रहे मात्र हाम्रो साझा प्लेटफार्म हुन सक्दछ। संघले कसै सित व्यक्तिगत रिस, डाह र पूर्वाग्रहले यी बिषय उठेको होइन तर संस्था बाच्नु पर्छ र सस्थाको संस्थागत विकास हुनु पर्दछ भन्ने मूल्य मान्यता राख्ने भएकोले यी बिषयहरु आगाडी उठान गरेको छु।

धन्यवाद
सोनाम लामा
निबर्तमान क्षेत्रीय संयोजक, अमेरिकाज