-Nepali Congress Leader Mr Arjun N KC

एमसीसी दुईतिहाइ मत नजिक सरकारले पास गरोस् कांग्रेसले किन टाउको थामेर हिँड्नुपर्‍यो

Hollywood Khabar June 29,2020 Comments

-अर्जुननरसिंह केसी/केन्द्रीय सदस्य, नेपाली कांग्रेस/६/३०/२०

एमसीसीको विषयलाई राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार विश्लेषण र समीक्षा गर्नुपर्छ। सरकारले एमसीसीको सकलप्रति जनता समक्ष राखोस्। त्यसमा गर्नुपर्ने परिमार्जनसहित राष्ट्रिय हित, राष्ट्रियता र हाम्रो संवेदनशीलतालाई कतै असर नपर्ने गरी पारित हुनुपर्छ। सरकार दुईतिहाइ मत नजिक छ, सरकारले पास गरोस्। कांग्रेसले किन टाउको थामेर हिँड्नुपर्‍यो? मैले नबुझेको कुरा चाहिँ त्यो हो।

नेपाली कांग्रेस नेतृत्वले एमसीसीको विषयमा छलफल नलाउनै नचाहेपछि कसरी चल्छ? हामीकहाँ त एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति! भन्ने संस्कृति छ। मैले गरेपछि हुन्छ भन्ने मनोवृत्तिबाट ग्रसित ग्रन्थी लिएर साथीहरू चलिराख्नु भएको छ। लोकतन्त्र भनेको विचारको घर्षणको पद्धति हो भन्ने कुरा पनि बुझेको छैन। मैले सबै कुरा जानेको हुँदैन। तर, मैले जानेको कुरा अरूले नजानेको हुनसक्छ नि त! त्यसैले मध्यमार्गबाट हिँड्ने पद्धति नै लोकतन्त्र हो। वाद, प्रतिवाद र संवादको प्रक्रिया लोकतन्त्र हो। त्यसैले विचार मन्थन र संश्लेषणबाट निष्कर्षमा पुग्न नै बुद्धिमानी हुन्छ, चाहे त्यो नागरिकताको सवालमा होस् वा एमसीसीको सवालमा होस्।

लोकतन्त्र पद्धति हो, गल्ती भएछ भनेपनि अब गल्ती भएछ भनेर सच्याउन सकिन्छ। अहिलेको प्रसंग अलिकति गम्भीर छ। एमसीसी र नागरिकता विधेयकको एउटा सन्दर्भ होला। तर, राष्ट्रियता र राष्ट्रिवादको लहर सिर्जना गर्ने काम हुनुका पछाडि अर्को कारण पनि छ। चारैतिर असफल भएपछि प्रधानमन्त्री केपी ओलीले परचक्रीहरूलाई गाली गरेर राष्ट्रियताको रक्षा कवच र आफूलाई देवत्वकरण गरिरहनु भएको छ। आफ्नै आन्तरिक व्यवस्थापनमा एकातिर तर्साउने र अर्कोतिर फकाउने लाग्नुभएको छ। यो विषयले पनि अरू मूलभूत विषयलाई ओझेलमा पारेको छ। त्यसैले अबका दिनमा गम्भीर विवेचना र राष्ट्रव्यापी रूपमा बहस आवश्यक छ।

***यो बिचार नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के सी ले अमेरिकाले प्रदान गर्ने गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको बारेमा हो। नेता के सीबाट हलिउडखबरलाइ प्राप्त यो बिचार अन्यत्र पनि पोष्ट भएका छन्।**