कृष्ण के सी/अमेरिका
सिद्धान्तको रङ खैरो हुन्छ र व्यबहारको रङ हरियो हुन्छ भन्ने भनाइ विश्वकै कम्यूनिष्ट नेता मानिने लेलिनको रहेछ।
मेरो आफ्नै कुरा गर्ने हो भने, विचार, ससमर्थन र अध्यनमा देब्रेपंथी सोच मेरो छनोटमा पर्दैन। अर्थात देब्रेपंथ मेरो कप अफ कफी होइन। तर आज, नेपालका एक मात्र देब्रेपन्थी सिद्धान्तकार स्वर्गीय मदन भण्डारीको कुरा गर्दैछु। हुन त नेपालका देब्रेपंथीहरु पुष्पलाको कुरा धेरै उठाउछन। पुष्पलालबारे मलाइ धेरै ज्ञान छैन, उनी अरु कम्यूनिष्ट जस्तो हत्याको राजनीतिबाट टाढा रहेछन। यसबाहेक अरु धेरै पनि होलान आफ्नो ठाउँमा तर तेतातिर मेरो रुचि भएको छैन।
कुरा, सायद, म भर्खर मात्र आइए दोश्रो बर्षमा पढ़दै गर्दाको थियो होला। पाटनको सुन्धारामा नेपालको संविधान २०४७ को घोषणाका सन्दर्भमा आयोजित एउटा जनसभा थियो। मदन भण्डारी आउने भन्ने हल्ला टोलभरि थियो। रिक्सामा माइक हालेर, टोल-टोल घुमाउँदै ठूलो हल्ला नै गरिएको थियो।
उसो त म त्यो बेला पाटनको गाबहालमा बस्थे। पाटन सुन्धारा दैनिक रुपमा जस्तै गइन्थ्यो। त्यो बेला मदन भण्डारीको भाषण सुन्न सबैजना लालायित हुन्थे। साँझको बेला थियो। चोकमा सबैजना सुन्धारा तिर लागे। म पनि पछि-पछि तेतै लागे भाषण सुन्न।
मलाइ भन्दा अरुलाई धेरै थाहा भएको कुरा चाहिँ तत्कालिन समयमा उत्कृष्ट भाषण गर्ने व्यक्ति मदन भण्डारी नै थिए। कतिपयले त भन्छन भण्डारीलाई भाषण गरेर जित्ने व्यक्ति नेपालमा ऐलेसम्म जन्मिएको नै छैन। उनै भण्डारी प्रमुख व्यक्ति थिए त्यो पाटन सुन्धाराको जनसभामा।
हुन त म, पाटन क्याम्पसको बिधार्थी हुँ। धेरै राजनीति हुने ठाउँ हो पाटन क्याम्पस। तर कलेजको राजनीतिमा भने लागिन भन्दा पनि त्यो फुर्सद मलाइ थिएन। हुने-भएका कार्यक्रममा एक-दुइ मिनेट अडिने, सुन्ने काम भने गरिन्थ्यो। बाँकी समय मानो-चामलको लागि काम गर्न लागिन्थ्यो। त्यसैले राजनीति भनेको मेरो चासोको बिषय भएन, छैन र ऐले पनि राजनीति जान्दिन।
नेपालको राजनैतिक इतिहास कोट्याएर हेर्दा सफल राजनैतिक सिद्धान्तकारहरु जम्मा तीनजना मात्र रहेछन। हुनत यो बिषयमा राजनीतिशास्त्रका बिज्ञहरुले ब्याख्या गरिसक्नु भएको होला। म उहाँहरुको बिशेलेशणसम्म पुग्न सक्दिन होला। तर पनि सोझो हिसाबले हेर्दा भने विशेश्वर प्रसाद कोइरालाको प्रजात्रान्त्रिक समाजबाद, मदन भण्डारीको बहुदलिय जनाबाद र नरहरि आचार्यको लोकत्रान्त्रिक गणराज्य नै सफल भएका तीन प्रयोग देखियो।
सायद तेतीबेला मदन भण्डारीको बहुदलिय जनबाद, सार्वजनिक भएको थिएन होला। तर त्यो दिन मदन भण्डारीले ब्याख्या गरेको भाषा र ब्याकरणको उदाहरण मेरो भेजामा घुसेन। मैले राजनीति नबुझेर हो या त्यो समय मेरो उमेर सानो भएर हो। समय सकियो, सबै फर्किए, उनको भाषण अरुले जस्तै मैल पनि बिर्सिय।
म काम गर्दै पढ्दै गरेको व्यक्ति, मास्टर्स डिग्री पास गरेको थिय। त्यो समय म चितवनमा काम गर्थे। ललितपुर घर र चितवन काम हुँदा जाने र आउने कुरा नियमित जस्तो नै हुन्थ्यो। कतिपटक गइयो-आइयो त्यो त याद छैन। तर एक दिन चितवनतिर जाँदैगर्दा दासढुंगामा पुगेपछि म चढेको बस केहिबीर रोकियो।
त्यहाँ मदन भण्डारी र जीवराज आश्रितको सालिक रहेछ। त्यसपछि मलाइ उनको सुन्धाराको भाषणको याद आएको थियो। त्यसपछि मैले बर्षौ सम्म ती दुवै नेताहरु बिर्सिएको थिए। आज करिब २७ बर्ष पछि आएर फेरि त्यो बिषयलाइ एक पटक लेख्दैछु। उसो त दार्शनिकहरुको कुरा बुझ्न मेरो बुताले नभ्याउला। तर पनि ऐले आएर धेरै प्रयास गरे पछि भण्डारीले भनेको एउटा बाक्यलाइ जति बिझे तेती नै यहाँ उल्लखे गर्ने प्रयास गर्दैछु।
४६/४७ को आन्दोलनले ल्याएको बहुदलिय प्रजातन्त्र एउटा ठूलो परिवर्तन थियो। त्यो समय विश्वनाथ उपाध्याय, माधब नेपाल, निलाम्वर आचार्य र राजा बिरेन्द्रको कुरा संबिधान निर्माणमा धेरै चलेको थियो। कतै निलाम्वरले संबिधान गोदावरीमा लगेर खुँडे बनायो भनेर कमेन्ट गरिन्थ्यो त कतै राजा हावी हुनलाग्यो भनेर। ति सबै कुराहरुलाइ जवाफ दिनको लागि स्व भण्डारीले दिएको भाषणको अर्थ त्यो बेला बुझिन तर ऐले आउँदा बेग्लै लाग्यो।
स्व मदन भण्डारीको भनाइ थियो- भाषाको रङ हरियो हुन्छ र ब्याकरणको रंग खैरो हुन्छ। अर्थात भाषा परिवर्तन हुन्छ, त्यसैले यसको अर्थ हरियो मानियो भने ब्याकरण आफैं परिवर्तन हुँदैन। यसर्थ ब्याकरणको अर्थ खैरो होला। हरियो यानेकी बढ्ने र खैरो अर्थात स्थिर रहने मृत जस्तै, आफैं परिवर्तनमा नआउने।
ब्याकरणले जति बहादुरी देखाउने भए पनि भाषा भन्दा अगाडी जान सक्दैन। जहिले पनि ब्याकरण भाषाको पछाडी लाग्नैपर्छ। भाषा हरियो भएकोले परिवर्तनशिल छ। भाषाको परिवर्तन भएपछि ब्याकरणमा पनि अनिवार्य परिवर्तन आउँछ। नयाँ भाषालाई ब्याकरणले नयाँ रुपमा बाँधेर ब्याख्या गर्नुपर्छ। तर भाषामा परिवर्तन आएको छैन, उस्तै छ भने ब्याकरणमा परिवर्तन आउनु जरुरी छैन। ब्याकरण खैरो भएता पनि ब्याकरण बिनाको भाषा अर्थपूर्ण हुँदैन।
अर्थात भाषालाई बाँधेर राख्ने काम ब्याकरणले गर्छ तर ब्याकरण आफै भाषा भन्दा ठूलो या परवर्तनको बाहक भने होइन। अझै पनि भन्नुपर्दा ब्याकरण बिनाको भाषा अनर्थको हुन्छ। यसर्थमा भाषालाई ब्याकरणले बाध्नुपर्छ, छाडा छोड्नु हुँदैन।
त्यसैगरी नेपालमा आएको बहुदलिय प्रजातन्त्रसंगै देशको संबिधान पनि परिवर्तन हुनुपर्छ। नयाँ ब्यबस्था अनुरुपको संबिधानले बाधेर राख्नुपर्छ। नेपाल एउटा भाषा हो भने नेपालको संबिधान त्यसलाई बाध्ने ब्याकरण हो। नेपालमा परिवर्तन भयो, संबिधानको पनि परवर्तन हुनु जरुरी छ। जसरी ब्याकरणले भाषालाई रोक्न सक्दैन त्यसैगरी परिवर्तन रोक्ने र त्यसलाई अनर्थ गर्ने काम संबिधानले गर्न सक्दैन। तर पनि एउटा देशको लागि संबिधान आवश्यक छ, नत्र देश चल्दैन।
संबिधान जे सुकै बने पनि, राजाको स्थान जे सुकै भए पनि नेपाली जनताको आर्थिक, सामाजिक, राजनैतिक उन्नतिमा बाधा हुँदैन भने राजालाइ राख्दा कुनै फरक पर्दैन। यो कुरा मदन भण्डारीको थियो। ऐले राजतन्त्र र मदन भण्डारी दुवै छैनन। तर पनि देशले काया पलट लिएको छैन। नेताहरुको आर्थिक, सामाजिक स्तर आकासिएको छ अनि जनताको स्तर नाजुक बन्दै गिरेको छ। यो अर्थमा दशकै पिच्छे मागिने परिवर्तन र तन्त्रहरुको के अर्थ भयो र ? मदन भण्डारीले भनेझैं राजा नहुनुले पनि त कुनै फड्को मारेको अवस्था छैन।
-स्व.मदन भण्डारी
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु