-लुम्बिनी

लुम्बिनी भ्रमण वर्ष ५ लाखको ‘सुजाता खीर’ उत्सवबाट शुरु हुँदै 

Hollywood Khabar May 15,2019 Comments

 २ जेठ, बुटवल ।प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष ५ लाख रुपैयाँको सुजाता खीर उत्सव गरेर शुरुवात हुदैछ।जेठ ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइने प्रचार प्रसार उपसमिति संयोजक भरत केसीले बताए ।सिद्धार्थ गौतमले ज्ञानको खोजीमा गृह त्याग गरेपछि ६ वर्षसम्म भारतको बोधगया गएर महातपस्या गर्दा  नदी किनारमा सुजाता नामकी युवतीले दान गरेको खीर खाएपछि सोही राती सिद्धार्थले ज्ञान प्राप्त गरेको किम्वदन्ती रहेको छ ।खाना नखाएर होइन, शुद्ध भोजन खाएर स्वस्थ भएपछि नै ज्ञान प्राप्त हुँदो रहेछ भन्ने मान्यता सुजाता खीरले दिएको भन्दै लुम्बिनीमा सुजाता खीर उत्सव मनाउने गरिएको छ ।

भ्रमण वर्षको औपचारिक उद्घाटन २५६३ औं बुद्ध जयन्तीका दिन जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट हुदैछ। भ्रमण वर्ष उद्घाटनमा रुपन्देही,कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम हुनेछन् ।लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराउने भएको छ ।राष्ट्रिय झण्डा राख्नका लागि १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको छ । प्रदेश ५ को उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले लुम्बिनी नयाँ ग्राम क्षेत्रमा २६ सय ४६ वटा बृक्षारोपण गर्ने भएको छ ।लुम्बिनी भ्रमण वर्षको उद्घाटनमा कम्तीमा १० हजार जना सहभागी हुने अनुमान गरिएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, भारतका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री रामदास आठवले, सम्राट अशोकको निधनबारे खोज अनुसन्धान गरिरहेका बोधगयाका भन्ते तिस्सावरोलगायत पनि सहभागी हुनेछन् । सहभागीमध्ये ७ हजार जनालाई निःशुल्क भोजन गराइने कार्यक्रम छ ।

तेसैगरी जेठ ५ गते  १५ लाख रुपैयाँ खर्च गरि मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रमका लागि देवदह र रामग्रामबाट दुई वटा टोली लुम्बिनी आउने छ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतीक लिएर सयौंको संख्यामा बाजागाजा झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्नेछ ।तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।साँझ दरबारमा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित सांस्कृतिक कार्यक्रम हुनेछ।  

भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।भ्रमण वर्ष अवधिमा गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । बुद्ध जन्मभूमि रुपन्देहीको लुम्बिनी, बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामलगायत बुद्धसंग सम्बन्धित स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन थालिएको हो ।

भ्रमण वर्षपछि लुम्बिनी घुम्न आउने पर्यटकको संख्या २० लाख बढी पु¥याउने लक्ष्य छ । भ्रमण वर्षमा लुम्बिनी फूड फेस्टिबल,मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।