NRNA:लुसाकामा नेपालको पर्यटन प्रबर्द्धनको लागि कार्यक्रम आयोजना

0
shares

by KRISHNA KC | Updated: 09 Jul 2018

424 views

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्बियाले नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा  जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकील र मिडिया सेलिब्रिटीहरूको उपस्थिति रहेको थियो। जाम्बियाको पररास्ट्र मन्त्रालयका राजनैतिक र अन्तरराष्ट्रीय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटी भाइस चान्सलर र डीन, संयुक्त राष्ट्र संघ संस्थाका निर्देशक तथा उच्च स्तरका ब्याक्तिहरुको समेत उपस्थिति रहेको थियो। साथै जाम्बियामा रहेका नेपालीहरूको समेत बाक्लो सहभागीता रहेको  थियो।

नेपालको रास्ट्रीयगानबाट सुरु भएको कार्यक्रममा एनआरएनए एनसीसी जाम्बियाका अध्यक्ष प्रोफेसर बिशाल नाथ उप्रेतीले कार्यक्रमको उदेश्य माथि प्रकाश पर्दै अतिथिहरुलाई स्वागत गर्नुभयो।

आफ्नो स्वागत भाषणमा प्रोफेसर उप्रेतीले एनआरएनएको  संक्षिप्त परिचय दिनुको साथै नेपालका गौरवपूर्ण इतिहास, संस्कृति र राजनीतिक घटनाक्रमको बारे उजागर गर्दै नेपाल र जाम्बिया बीचको सुमधुर कूटनीतिक सम्बन्ध विकास र दुई देशबीचको वर्तमान उच्च स्तरको सम्बन्धको विकासको संभावना पेश गर्नुभयो। नेपालका रहेको अद्वितीय पर्यटकिय आकर्षणका बारेमा प्रोफेसर उप्रेतीले उल्लेख गर्दै, उपस्थित पहुनाहरुलाई नेपाल आउन प्रोत्साहन समेत गर्नुभयो। उहाँले जाम्बियन सहभागिहरु विशेष गरी सरकारी प्रतिनिधिहरूलाई पर्यटकिय विकासका क्षेत्रहरुमा नेपालसंग एकसाथ काम गर्न सकिने सम्भावनाहरुबारे पनि  उल्लेख गर्नुभयो।

नेपाल पर्यटन सम्बन्धी स्वागत भिडियोको एक प्रस्तुतीकरण पछि नेपालका प्रमुख पर्यटकिय स्थलहरूको झलकहरु आईएलओमा काम गर्ने नेपाली नागरिक श्री गुंजन डल्लाकोटि द्वारा प्रस्तुत गरिएको थियो। युएनएड्स जाम्बियामा कार्यरत र एनआरएनए जाम्बियाका सल्लाहकार डा नर्मदा आचार्यले रोचक रूपमा कार्यक्रम  सञ्चालन गर्नुभएको थियो। उहाले सहभागीहरुलाई भूकम्प पछिको देशको पुनर्निर्माण कार्यमा पनि नेपाललाई सहयोग पुर्याउन अपील गर्नुभयो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले बिगतका आफ्ना नेपालको भ्रमणको बारेमा आफ्ना विचारहरु र अनुभवहरु आदान प्रदान गरे। सहभागीहरूले नेपालका बारे आफ्ना प्रश्नहरू / जिज्ञासाहरू पनि राखे जुन नेपाली सदस्यहरूबाट सम्बोधन गरिएको थियो। अंतत नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरणहरु, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा , भगवान बुद्धको जन्मस्थान,
गोर्खाली वीरताको इतिहास, विशिष्टता सहितको झण्डा, पौराणिक र सुन्दरता को भूमि, आदि छलफलका मुख्य विषयहरू थिए।

युएनएचसीआर जाम्बियामा कार्यरत र एनसीसी जाम्बियाका सल्लाहकार केशव श्रेष्ठले, नेपालका जीवित देवी कुमारीको कथाको बारेमा व्याख्या गर्नुभयो।

कार्यक्रममा जाम्बिया राजस्व प्राधिकरणका एक अधिकारी जसले नेपाल भ्रमण गर्नुभएको थियो उहाँले आफ्नो अनुभव सुनाउनु भएको थियो र नेपालमा अत्यधिक प्रभावकारी राजस्व संकलन व्यवस्था लागू गरिएको र कर फिर्ता दाखिल गर्न निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्ध्योग बाणिज्य महासंघको भूमिका र सहयोगको प्रसंसा गर्नु भयो।

अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अथितिहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नुभयो। उहाँले यस महत्त्वपूर्ण कार्यक्रमको आयोजनका लागि नेपाली राजदूतावास, प्रिटोरिया दक्षिण अफ्रिकालाई आफ्नो कृतज्ञता व्यक्त गर्नु भयो। उहाँले जाम्बियाका एक मात्र नेपाली उद्यमी रोशन थापालाई उदार वित्तीय योगदानका लागि धन्यवाद दिनुभयो।

साथै कार्यक्रम सफल बनाउन मदत  गर्ने समस्त जाम्बियावासी नेपालीहरुको योगदानको प्रसंसा गर्दै कृतज्ञता समेत ब्यक्त गर्नुभयो।

कार्यक्रमको अन्तमा रात्रिभोज आयोजना गरिएको थियो। सहभागीहरूले रात्रिभोजका बखत अनौपचारिक छलफल र विचारहरू आदान प्रदान गरे। नेपाली र नेपाली जनताको बारेमा थप ज्ञान, तथा नेपाल र जाम्बिया बीच पर्यटनको संभावना बारे थाहा पाउँदा खुसी ब्यक्त गरेका थिए ।

अतिथिहरुद्वारा कार्यक्रमको सराहना गर्नुका साथै नेपाल र नेपाली जनताको बारेमा यस कार्यक्रम मार्फत धेरै जान्ने मौका पाउदा खुशी ब्यक्त गरे।