लेखक अधिवक्ता बिनीता गुरुङ

लकडाउनमा महिला हिंसा बढेको अनुमान सरकारी पहल जरुरी

Hollywood Khabar May 02,2020 Comments

संसार नै अहिले कोरानाको महामारीबाट प्रताडित छ । संसारका धेरै मुलुकहरु यो महामारीबाट बच्न आ आफ्नो मुलुकलाई लकडाउन गरेर कोरोनाको संक्रमणबाट बच्न र बचाउन लागि परेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै मुलुकका नागरिक सबै लकडाउनमा छन् । प्रायः बाहिर काममा जाने या खेलकुद या जमघट या प्रतिस्पर्धा लगायतका मनोरञ्जनात्मक काममा समय बिताउने घरका सदस्यहरु पनि लकडाउनका कारण घरमै थुनिएका छन् । दिनानुदिन रेष्टुरेन्ट पव डिस्को या दोहोरीमा नाचेर खाएर पिएर रमाउनु पर्ने घरका आफुलाई समाजको उच्च खानदानी या हुनेखाने वर्गमा गन्ने सदस्यहरु बाहिर निस्केर त्यसरी आनन्द लिन नपाएकाले  उनीहरुमा एक किसीमको चिढचिढा र असन्तुष्टि बढ्ने र त्यस्को आक्रोश परिवार कै कमजोर सदस्यमा पोख्ने गरेको पाईएको छ ।

‘हाम्रो देश पनि पुरुष प्रधान सामाजिक परिवेशबाट अझै मुक्त हुन नसकेको कुरा जगजाहेर छ । पितृसत्तात्मक सामाजिक व्यवस्थाले पुरुषलाई नै परिवारको मुख्य मानिएको मानिएको देखिन्छ । र घर व्यवहार सञ्चालनको मुख्य जिम्मेवारी नै पुरुषलाई दिएको सामाजिक रुपमा पनि प्रष्टिएको पाईन्छ।महिलाहरु त यसैपनि घरभित्रको दैनिकीमा अभ्यस्त हुँदा लकडाउनको समयमा उनीहरुमा त्यतिविधी  चिढचिढा नहुन सक्छ तर पुरुषहरुमा घरभित्रको दैनिकीमा भिज्न कठिनाई हुँदा उनीहरुमा एक किसीमको चिढचिढा र असन्तुष्टि बढेर परिवारका बिशेष गरेर महिला र बालबालिका सदस्यहरुमा आफ्नो आक्रोस पोख्ने गरेको अनुमान लगाउन गाह्रो पर्ने छैन।

नेपालमा पनि महिला हिंसाका बिषयमा उजुरी सुन्ने हेल्पलाइनहरू धेरै ठाउँमा छन्, तर लकडाउनका समयमा तिनले काम गरेका छैनन्। राष्ट्रिय महिला आयोग कै हेल्पलाइन लकडाउनका बेलामा नउठेको प्रभावित महिला अधिकारकर्मीहरूले बताएका छन्।लकडाउन छ के गर्ने भनेर कुनै अधिकारकर्मी गैसस वा व्यक्तिले माफी पाउँनु हुदैन । उसले फोन गर्नुपर्यो, इन्टरनेट चलाउनुपयो, पत्रकारलाई सम्पर्क गरेर जानकारी दिनुपर्यो, सार्वजनिक मिडियामा बोल्नुपर्यो,पत्रकारले समाचार ब्रेक गर्नुपर्यो !’ 

लकडाउनको अवधिमा महिला तथा बालबालिका सेल, कालिमाटीमा पनि थुप्रै मौखिक उजुरी दर्ता भएका छन्।लकडाउनको अवधि बढ्दै जाँदा घरभित्र हुने हिंसा बढ्दै गएको हुन सक्ने सेलकी एक कर्मचारी बताउँछिन् ।‘यो अवधिमा लिखित उजुरी त आएको छैन । तर, दर्जन बढी मौखिक उजुरी आएका छन्’, उनले भनिन्, ‘लकडाउनका कारण पनि धेरैजनालाई उजुरी दिन अप्ठ्यारो भएको छ ।’महिला हिंसा भइरहेपनि लकडाउनका कारण आवतजावतमा अवरोध हुँदा प्रहरीमा उजुरी गर्ने क्रम एकदमै न्यून हुने भएकाले पनि तथ्यांकमा धेरै नदेखिने उनले बताइन् । ‘शिक्षित परिवारको हिंसा बाहिर आइहाल्छ।धेरै समस्या हुने भनेको अशिक्षित वर्गमा हो’, उनले थपिन्, ‘जुन वर्ग धेरै पीडित हुने अवस्थामा छ, त्यही वर्गचाहिँ प्रहरीमा आउन चाहँदैन ।’ सेलको एक कर्मचारीले बताईन्।

७७ वटै जिल्लामा महिला मानव अधिकार रक्षक सञ्जाल छन्। लकडाउनका समयमा महिलामाथि वैवाहिक बलात्कारदेखि कुटपिटका घटनाहरू बढेको देखिन्छ।‘बाहिर गएर रमाइलो गर्न नपाएको, घरभित्रै थुनिनु परेको झोक श्रीमानहरूले श्रीमतीमाथि देखाइरहेका छन्, अनिच्छापुर्वक यौन सम्पर्कका लागि बाध्य बनाउने, मिठोमसिनो खान नपाएको झोक देखाउने, रक्सी सेवन गर्ने र तास खेलेर समय बिताउने, पैसा हारेकोमा गुनासो गर्ने श्रीमतीलाई कुटपिट गर्ने आदि हिंसात्मक काम पुरुषबाटै हुने गरेको लकडाउन अवधिमा पाईएको छ ।’लकडाउनका समयमा प्रहरीकहाँ गएर उजुरी गर्ने र अधिकारकर्मी सहयोगीको साथ पाउने वातावरण पनि नभएकाले महिला थप पीडामा रहेको प्रष्ट देखिन्छ ।

विश्वका ९० मुलुकका चार अर्ब नागरिक लकडाउनमा रहेका बेला सहायताका लागि महिलाहरूको सहायताका लागि पुकार गर्नेको संख्या ३० प्रतिशतले बढेको र लकडाउनका बेला महिलाविरुद्धको हिंसा ४० प्रतिशतसम्म बढेको युएन विमेनले जनाएको छ । पश्चिमा मुलुकको अवस्था र नेपालको अवस्थामा आकाश जमिन फरक छ भन्दा अत्युक्त नहोला। हाम्रो मुलुकमा लकडाउनका समयमा मानव बेचबिखन र कार्यस्थलमा हुने हिंसा रोकिए पनि महिलामाथि हुने अनिच्छापुर्वक यौन सम्पर्कका लागि बाध्य बनाउने, मिठोमसिनो खान नपाएको झोक देखाउने, रक्सी सेवन गर्ने र तास खेलेर समय बिताउने, पैसा हारेकोमा गुनासो गर्ने श्रीमतीलाई कुटपिट गर्ने हुने जस्ता महिला हिंसा भने बढेको अनुमान गरिएको छ ।

‘केहि घटनालाई सामान्यीकरण गर्नुहुन्न, यद्यपि एउटै मात्र बढेको भएपनिहिंसा हिंसा नै हो, त्यसको विरोध गरिनुपर्छ । लकडाउनमा महिला हिंसा बढेको अनुमान गरिएको हुँदा सो को न्युनिकरणका लागि यथाशिघ्र सरकारी पहल हुनु जरुरी देखिन्छ ।