प्रहरी र स्थानीयबीच झडप

स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

Hollywood Khabar February 08,2019 Comments

२७ माघ सिन्धुली।मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन्।हिजो बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका हुन्।झडपमा परी इप्रका कपिलाकोटमा कार्यरत प्रहरी नायब निरीक्षक जीतबहादुर अर्याल, प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका थिए।

यस्तै प्रहरीले चलाएको गोली लागेर मरिण गाउँपालिका–६ निवासी ४० वर्षीय सार्कीमान मोक्तान घाइते भएका छन्।उनको दाहिने पातामा गोली लागेको छ।प्रहरी र स्थानीयबीचको झडपलाई रोक्न हिजो बेलुका प्रहरीले ४५ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक सिंहले बताए।

घाइते मोक्तानको कपिलाकोटस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धुलीखेल पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।घाइते प्रहरीहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यही माघ २४ गते मरिण गाउँपालिका–६ धमिले निवासी श्रीध्वज स्याङ्तानको विवाहमा सामान्य विवाद भएको थियो।प्रहरीका अनुसार सोही दिन विवादमा खुकुरी हानाहान हुँदा ५ जना घाइते भएका थिए।शङ्कर गोले र दोर्जे गोलेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले शुक्रबार नियन्त्रणमा लिएको थियो।उक्त घटनामा संलग्न अन्यलाई नियन्त्रणमा लिने क्रममा झडप भएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चलित्र कार्कीले बताए।