नन्दिता के सीसँग लेखनाथ गौतमको ग्लामर टल्क

0
shares

by Krishna KC | Updated: 10 May 2017

732 views

नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा समेत अभिनय गरिसकेकी छिन ।

आकर्षक जिउडाल र  व्यक्तित्वकी धनि नन्दिता बास्तवमै नेपाली समाजकी मोडेल हुन्। मोडेलहरु पक्कै समाज भन्दा अगाडी हुन्छन। अगाडी यस मानेमा हुन्छन कि उनीहरुले समाजको भलाइको लागि परिबर्तनको नेतृत्व गर्छन। आफ्नो क्षणिक लोकप्रियताको लागि समाजमा बिकृति र विसंगति फैलाउन खोज्नेहरु मोडेल हुन सक्दैनन्। हाम्रो शरीरको हरेक अंगहरुको जसरी आफ्नो आफ्नो ठाउँमा महत्व छ, त्यसरी नै हाम्रो कला, संस्कृति, भाषा, भेष जस्ता कुराहरुको आफ्नै महत्व छ। नन्दिता केसी हाम्रो समाजको त्यो चरित्र राम्रो संग बुझेकी छिन। आफ्नो प्रस्तुति र अभिनय त्यहि सामाजिक सीमामा रहोस भन्नेमा उनि सचेत छिन। 

बिगत ७/८ महिना देखि नन्दिता अमेरिकाको न्यु योर्कमा बस्छिन। अरु धेरै नेपालीहरु जस्तै व्यक्तिगत चाहना, बाध्यता र सुरक्षित भबिस्यको आशामा उनी अमेरिकामा आएकी हुन्। अमेरिका आए पनि उनले आफ्नो देश, कला, भाषा र संस्कृतिको सेवा गरिरहेकी छिन। अमेरिकाभर हुने बिभिन्न खाले कार्यक्रमहरुमा एक सांस्कृतिक क्षेत्रको दुतको रुपमा उनले काम गरिरहेकी छिन र भबिस्यमा त्यो जारी राख्न प्रतिबद्ध छन्। सोहि शिलशिलामा यहि आउँदो मे २६ देखि २८ सम्म टेक्सासको डालसमा हुने युनाइटेड नेपालिज एसोसिएसनको दोश्रो सम्मेलनमा भाग लिन उनी आउंदै छिन। यहि  प्रशंगमा युएनए सम्मेलन, त्यहाँको आफ्नो प्रस्तुति र आफ्नो बिगत लगायतका बिषयमा युएनए सम्मेलन आयोजकको तर्फबाट म (लेखनाथ गौतम) ले उहाँ संग केहि कुराकानी गरेको थिएँ। प्रस्तुत छ: नन्दिता केसी संगको अन्तर्वार्ता:

- अमेरिका कहिले देखि हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?

७/८ महिना भयो। मेरो आफ्नै क्षेत्रको कामहरु गर्दैछु। कला, संस्कृति, मोडेलिंग, चलचित्र, स्टेज प्रस्तुति आदि इत्यादि नै गर्दैछु। नेपालीहरुको संख्या अमेरिकामा राम्रो छ। त्यसले गर्दा म विभिन्न कार्यक्रमहरुमा आफुलाई प्रस्तुत गर्ने मौका पाएकी छु। यहि मे २६ देखि २८ सम्म टेक्सासको डालसमा हुने युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा आउंदै छु। यहाँ आएपछि एउटा फिल्म पनि गरिसकें । अरु दुइवटा फिल्म लाइनमा छन् । ब्यस्त छु तर रमाइलो संग दिनहरु बितेका छन्।

- यस्तो लोकप्रिय मान्छे, देशलाई चाहिने मान्छे किन विदेश आउनु भएको त ? 

कतिपय चाहना, कतिपय बाध्यता । सबभन्दा ठुलो भबिस्य प्रतिको अनिश्चितता। अहिले नेपालको चलचित्र क्षेत्र राम्रो हुँदै गए पनि ढुक्कै हुन सक्ने अवस्था छैन। मैले यहाँ देखें, धेरै नेपालीहरु यहाँ आउनु भएको छ। उहांहरु पनि भविस्य उज्ज्वल होस् भनेर आउनु भएको हो। म पनि बास्तवमा भन्दा त्यहि नै हो। तर  मैले देशको मायाँ मारेको छैन। मेरो देश, भाषा, संस्कृति र कलाको लागि मैले यहाँ  बसेर पनि धेरै गर्न सक्छु। अहिले संसार साँघुरो भएको छ। आबस्यकता अनुसार जाने आउने गर्न सकिन्छ। ठुलो नेपाली समुदाय अमेरिकामा पनि भएकोले मैले अमेरिकामै पनि गर्नु पर्ने काम धेरै छन्। जहाँ भए पनि मैले मेरो कला, संस्कृति, भाषा र धर्मको प्रबर्धनको लागि काम गर्छु। भौतिक शरीर नेपालमा छैन होला तर म कर्मको हिसाबले नेपालमै छु।

- कला र संस्कृतिको कुरा गर्नु भयो, अहिले नेपाली ग्ल्यामर दुनियाँ कति संस्कृत छ, कति विकृत छ ? 

यो प्रश्नको उत्तर हरेक मानिसको बुझाइ र हेराइमा भर पर्छ । मलाई लाग्छ, कलाले समाजको प्रतिनिधित्व गर्नुको साथै समाजलाई डोर्याउने काम पनि गर्छ। कला परिबर्तन खोज्छ। तर समाजको दायरा भन्दा बाहिर त्यो जान सक्दैन, हुँदैन। कलाले हाम्रो समाजलाई परिस्कृत बनाउनु पर्छ, विकृत होइन। संस्कृतिको नाममा हाम्रा समय नसुहाउँदा कुरा परिबर्तन गर्ने पर्छ । तर आधुनिक हुने नाममा विकृत हुनु हुँदैन। एक जना व्यक्तिको लोकप्रियता वा उसको क्षणिक लाभ र हानिको लागि संस्कृति, धर्म र हाम्रो अस्तित्वको बलि चढाउन हुँदैन।हरेक कलाकारले सोंच्नु पर्छ, मेरो प्रस्तुति सामाजिक मर्यादाको फ्रेम भित्र छ कि छैन भनेर। कमसेकम म यो मामिलामा सचेत छु।

-अमेरिकामा बस्ने  नेपाली युवाहरुमा आफ्नो देशको कला, भाषा र संस्कृति प्रति कस्तो लगाव देख्नु भयो ? 

यसमा मैले दुइटा कुरा देखें । पहिलो पुस्तामा आफ्नो बिगत प्रति गर्ब भएको पाएँ। उहाँहरुमा नेपाली भाषा, कला र संस्कृतिको निकै माया छ। तर दोश्रो पुस्ता संग पहिलो पुस्ताको नशा काटिएको छ। यसले हाम्रो नेपाली भाषा र संस्कृतिको भविस्य संकटमा पारेको छ। नेपालबाट भर्खर आउनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो छोराछोरीलाई बिगत संग जोडिराख्न धेरै मिहिनेत नगरेको जस्तो मलाई महशुश भएको छ। तपाईंले भारतीयहरुलाई हेर्नु भयो भने उनीहरुको चौथो पुस्ता चलिरहँदा पनि उनीहरुले आफ्नो कला, संस्कृति र पहिचान जोगाएका छन्। उनीहरुलाई आफ्नो भाषा, धर्म, कला र संस्कृति प्रति अपार श्रद्धा छ। तर नेपाली युवापुस्तामा एकाध बाहेक धेरैमा त्यो बुझाइ छैन। अब पनि हामी सबै नब्युझिने हो भने अर्को पुस्तामा पुग्दा नेपालीपन रहने निकै कम सम्भावना छ। यो अलि डरलाग्दो परिस्थिति हो।

- तपाईंलाइ किन त्यस्तो लागेको होला ? 

मलाई लाग्छ, बिदेशमा नेपाल र नेपाली संस्कृतिलाइ जोड्ने एउटा मात्र तत्व भन्ने हो भने भाषा हो । भाषाले नै हामीलाई हाम्रो जरो संग जोडिरहनछ । अब तपाईंले आफ्नो छोरा वा छोरीलाई अंग्रेजीमा भगवान कृष्णको बारेमा भन्नु पर्ने अवस्था आयो भने त्यो कस्तो अवस्था होला ? वा हाम्रो नेपालको समग्र धर्म र संस्कृतिहरुका बारेमा नेपालीमा भन्न पाइएन भने वा हाम्रो कुनै अर्को मातृ भाषामा भन्ने अवस्था भएन भने कस्तो होला ? नयाँ पुस्तामा देखिएको अंग्रेजी प्रेमले उनीहरुलाई हामीहरुलाई पुरै अलग गर्नेछ । अंग्रेजी त जान्नै पर्छ, नेपालमा त अंग्रेजी जरुरी भैसक्यो भने अमेरिकामा अंग्रेजी त बोल्नै पर्यो, जान्नै पर्यो । तर नेपाली पनि सिकाउन जरुरी छ । अहिले मेरा छोराछोरीहरुले अंग्रेजी बोले  भनेर मक्ख परेर बस्ने बाबुआमा पछि पछुताउनु पर्नेछ । नेपाली समुदायमा नेपाली भाषा ऐच्छिक होइन अनिबार्य हो । यी र यस्ता थुप्रै चिन्ताका बाबजुद चाँदीको घेरा के छ भने अमेरिकाका धेरै ठाउंहरुमा नेपाली भाषा कक्षाहरु संचालन भैरहेका छन् । यी कक्षाहरुलाइ बढाउनु पर्छ र संगसंगै अभिभावक र बालबालिकाहरुलाई नेपाली भाषाको आबस्यकता र महत्व बारे गहिरो गरी घैंटोमा घाम लाग्ने गरी बुझाउनु पर्छ ।

-युएनए सम्मेलनमा तपाईंको भूमिका कस्तो छ र सहभागीहरुलाई तपाईं के संदेश दिन चाहनुहुन्छ ? 

म एक नायिका भएकोले धेरैको अपेक्षा नृत्य हुने नै भयो, नृत्य प्रस्तुत गर्दै छु। त्यस्तै युएनए द्वारा आयोजना गर्न लागिएको ट्यालेन्ट हन्टमा निर्णायकको भूमिका छ। कल्चरल फेसन शोमा म शो स्टपर पनि हो। समग्रमा मेरो संलग्नता भनेको ग्ल्यामर र हाम्रा  भबिस्यका कर्णधारहरुको समग्र भौतिक, नैतिक विकासमा टेवा पुर्याउनुको साथै उनीहरुमा संस्कार र भाषा प्रति अभिरुचि बढोस भन्ने खालको प्रस्तुतिहरुमा रहनेछ। उनीहरु आफ्नो जरा प्रति संधै गौरब गर्न सक्ने होउन र भविस्यमा अमेरिकी समाजमा नेपाललाई माया गर्नेहरु रहिरहुन। समग्रमा मैले नयाँ पुस्तालाई यहि खालको संदेश दिनेछु। सहभागीहरुलाई पनि मैले हरेक प्रतिस्पर्धामा भाग लिन, आफुलाई निर्धक्क संग अघि बढाउन र आफ्ना पितापुर्खाहरुको साख अमेरिकामा अझै वृद्धि गर्न पनि अनुरोध गर्दछु। तपाईं दुबिधामा हुनुहुन्छ  भने त्यो प्रवृति आजै परित्याग गर्नुस। आउनुहोस आजै युएनए द्वारा आयोजित बिबिध प्रतिष्पर्धाहरुमा भाग लिउँ। आफ्नो कला, क्षमता संसार सामु प्रस्तुत गर्नुको साथै पुरस्कार समेत जितौं।