कुष्ठरोगका नयाँ विरामी थपिए

तनहुँमा १७ जना कुष्ठरोगका विरामी

Hollywood Khabar January 28,2017 Comments

तनहुँ जिल्लामा चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ जना कुष्ठरोगका नयाँ विरामी थपिएका छन् । थपिएका मध्ये १ जना सर्ने रोगको र ५ जना नसर्ने रोगको विरामी रहेका छन्। नयाँ विरामी मध्ये २ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद सुवेदीले हालसम्म जिल्लामा १७ जना कुष्ठरोगका विरामीले उपचार सेवा लिँदै आएको जानकारी दिए । तीमध्ये ७ जना महिला र १० जना पुरुष रहेका छन् भने १ जना नसर्ने र १६ जना सर्ने रोगको विरामी रहेका छन् ।
दमौली अस्पतालबाट १० जना, दुलेगौंडाबाट ३ जना, खैरेनी स्वास्थ्य केन्द्रबाट १ जना, क्यामिनबाट १ जना र रुपाकोटबाट २ जना विरामीले नियमित रुपमा कुष्ठरोगको औषधि सेवन गर्दै आएको समेत उनले जानकारी दिए । जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराइन्छ ।
गत असारसम्म जिल्लामा २० जना कुष्ठरोगका विरामी रहेकोमा ९ जना निको भएका थिए भने ६ जना नयाँ विरामी थपिएका थिए । क्षयकुष्ठ अधिकृत सुवेदीका अनुसार नसर्ने खालका विरामीले ६ महिना र सर्ने खालका विरामीले १२ महिना नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ । नियमित रुपमा औषधि सेवन गरेर निको भएपछि स्वास्थ्य कार्यालयले १ हजार रुपैयाँ यातायात खर्चको रुपमा प्रदान गर्ने गरेको छ ।
कार्यालयका अनुसार प्रत्येक वर्ष कुष्ठरोगका विरामी घट्दै गइरहेका छन् । आ.व. ०६९/०७० मा २१ जना, ०७०÷७१ मा २२ जना, ०७१÷०७२ मा १८, ०७२÷०७३ मा १८ र ०७३/०७४ को पुष मसान्तसम्म ६ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् ।
सामाजिक दृष्टिकोणले हेयको रुपमा लिइने भएको हुँदा कुष्ठरोगका विरामीले अझै पनि लुकेरै औषधि सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. पवनजंग रायमाझीले बताए । उनले कुष्ठरोगलाई पूर्ण रुपमा निर्मुल पार्नुपर्ने दायित्व सबैको भएको हुँदा यसको बारेमा जनचेतना फैलाउन आवश्यक रहेको समेत बताए ।  
छाला र स्नायुमा प्रभाव पार्ने ढिलो गरी लाग्ने र विस्तारै निको हुने रोग कुष्ठरोग हो । कुष्ठरोग समयमै उपचार पछि पूर्ण रुपमा निको हुन्छ । २ वर्षदेखि ५ वर्षसम्म पनि कुष्ठरोगका लक्षण देखा पर्न सक्छ । ५ वर्षदेखि ६० वर्षसम्मका मानिसमा यो रोग कम लागेको पाइएको छ ।
कुष्ठरोग सर्ने र नसर्ने गरी दुई प्रकारको हुन्छ । नचिलाउने तथा रातो फुस्रो दाग देखा पर्नु, हात खुट्टा झमझमाउनु, स्नायु सुन्निनु, कानको लोती बाक्लो हुनु कुष्ठरोगको लक्षण हुन् ।