-ललितपुरको दक्षिण भेगमा हावाहुरीले धेरै क्षति पुर्याएको छ

ललितपुरको दक्षिण भेगमा हावाहुरीले धेरै क्षति पुर्याएको छ

Hollywood Khabar May 25,2020 Comments

सन्तोष दहाल/ललितपुर/५/२६/२०

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ ले निम्त्याएको शेल्टर इन प्लेसबीच ललितपुर दक्षिणभेगमा भने हावाहुरीले विध्वंश मच्चाएको छ। मंगलबार साँझ आएको भीषण हावाहुरीले गर्दा मकवानपुर र काभ्रेको सीमावर्ती साविक गाउविकास गिम्दी, आश्राङ, ठुलादुर्लुङका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ स्थित ठाटीभनज्याङमा केही वर्षअघि मात्र जापानी सहयोग नियोग जाईकाले निर्माण गरिदिएको ज्वालादेवी आधारभूत विद्यालयको पक्की विद्यालय भवनमा ठुलो क्षति पुर्याएको छ। जस्ताको छाना राख्ने संरचना अनुरुप निर्माण भएको उक्त भवनको छाना उडाएर ६०० मिटरभन्दा टाढा पुर्याईदिएको छ।

त्यसैगरी महेन्द्र माविको भवनका छानाहरू समेत उडाएर क्षति पुर्याएको ठुलादुर्लुङका वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिएका छन्। उनका अनुसार हावाहुरीबाट वडामा हुर्कंदै गरेको मकैबाली ९० प्रतिशत नष्ट भएको छ। सैयौं घरका छाना तथा अन्य संरचनाहरु ध्वस्त भएका छन्। यसैगरी कपिराम निवासी लाल बहादुर रुम्बाको घर पूर्णरुपमा ध्वस्त हुँदा उनी छिमेकीको घरमा शरण लिन पुगेका छन्।

यसैगरी मकवानपुरको सीमासंग जोडिएको बागमती गाउँपालिका ७ गिम्दीमा पनि हावाहुरीले ठूलो क्षेती गरेको छ। गिम्दीको तामाङ बस्ती रहेको मोचेडाँडाका कैयौं जस्ताका टहराहरु उडाउदा बसोबासमा समस्या उत्पन्न भएको छ। बारी तथा खेतमा रहेको मकैबाली पनि व्यापक रुपमा नष्ट भएको छ।

गिम्दीको कटुवा, बेंसी, मगरगाउँ, बाँजगाउँ, थुम्की, शुभाने लगायतका क्षेत्रमा व्यापक क्षति पुगेको बताइएको छ। गिम्दीकै थुम्कीबेंसीमा एक परिवारको बाख्राको खोर उडाउदा बाख्राको खुट्टा भाँचिएका छन्। आश्राङमा पनि केही घर तथा तरकारी फर्मका संरचनाहरु बिगारेका छन्। प्युटारको खयरघारीमा निर्माण भएको शौचालयको छानो उडाएको छ। यो क्षेती विगतको ३० वर्ष यताकै ठूलो आँधी रहेको बताईएको छ।