-ललितपुर महानगरपालिकाको सुनाकोठीमा सडकमा रोपाइँ गरेर बिरोध प्रदर्शन**Photo-Saroj Dahal

ललितपुर महानगरपालिकाको सुनाकोठीमा सडकमा रोपाइँ गरेर बिरोध प्रदर्शन

Hollywood Khabar July 13,2020 Comments

सन्तोष दहाल,ललितपुर/७/१४/२०

लामो समदेदेखी कालोपत्रे हुन जीर्ण अवस्थामा रहेको ललितपुर महानगरपालिकाको वडा नं २६ र २७ सुनाकोठीमा मंगलबार विरोधस्वरुप स्थानीयले सडक बन्द गराएका छन्। जनताले लामो समयसम्म सडक क्षतविक्षत भएर दुख पाईराख्दा पनि सम्बन्धित निकायले कालोपत्रे गरी समस्या समाधान गर्नका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय वासिन्दाले बाँस, ह्युमपाइप, ढुंगा तथा सवारी साधन तेर्स्याएर विरोध गराएका हुन्।

सातदोबाटो चापागाउँ सडकखण्डमा पर्ने उक्त सुनाकोठी सडकमा बाटो खराब हुँदा जनताले धेरै सास्ती भोग्नुपरेको छ भने पटकपटक दुर्घटनासमेत भएका छन्। यतिबेला यहाँका बासिन्दाले वडा नं २६ र २७ को वडा कार्यालय घेराउ गरिरहेका छन् भने हिलाम्ये सडकमा धानको बीउ र युरिया मल ल्याएर स्थानीय महिलाहरुले रोपाईं गरिरहेका छन्।

कोरोना महामारी र लकडाउनको ख्याल नगरी यहाँका स्थानीय बासिन्दाहरु आक्रामक रुपमा सडक बन्द गराउनका लागि उत्रिएका छन्। धान रोप्न्न खेतमा हुनुपर्ने समयमा किन सडकमा रोपाईं भन्ने दर्पण दैनिकको प्रश्नमा एक स्थानीय माहिलाले भनिन, 'जनप्रतिनिधि सुविधामुखी भए, जनताको समस्या कहिल्यै सुनेनन। हामीले धेरै दुख पायौं, अब धैर्यताको बाँध टुटिसक्यो, सडक पूर्णरुपमा कालोपत्रे नभएसम्म आन्दोलन रोक्दैनौं।

सुनाकोठीमा विरोध आन्दोलन भईराख्दा यहाँबाट तीनै तहमा प्रतिनिधित्त्व गर्ने जनप्रतिनिधिहरुको उपस्थिति त्यहाँ देखिएको छैन। सुनाकोठीबाटै प्रदेश सभामा सांसदहरु राजकाजी महर्जन र दिपेश महर्जनले प्रतिनिधित्त्व गर्दछन भने स्थानीय तहका प्रमुख चिरीबाबु महर्जन तथा संघीय सांसद पम्फा भूषाल पनि यो समस्या समाधानको लागि उदासीन भएको स्थानीयको आरोप छ। बिहानैदेखि सुरु भएको आन्दोलनमा एक घण्टापछि मात्र चापागाउँबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी पुगेको थियो।

विरोध भईराखेकै समयमा भर्खरै मात्र २ टीप ग्राभेल सडकमा ल्याएर झारिएको छ, यद्यपि कसले त्यो ग्रेभेल झार्यो भन्ने थाहा हुन सकेको छैन ।ललितपुर जिल्लामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला भएको बाक्लो भीडसहितको यो आन्दोलनले संक्रमणको त्रास झनै बढाएको छ।