ललितपुर महानगरको विरुद्ध गएका कारण नगर प्रहरी प्रमुख निलम्बित

0
shares

by KRISHNA KC | Updated: 22 Jul 2019

226 views
-ललितपुर महानगरको विरुद्ध गएका कारण नगर प्रहरी प्रमुख निलम्बित

ललितपुर/६ साउन

ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन्। महर्जनले नगर प्रहरी सेवा सञ्चालन सम्बन्धि कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेको ललितपुर महानगरपालिकाले जनाएको छ। ललितपुर महानगरपालिकाले प्रहरी प्रमुख कदमलाल महर्जनलाई कार्वाही स्वरुप निलम्बन गरेको हो । मिति २०७६ साउन २ गतेको निर्णयअनुसार महर्जनलाई कार्वाही गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

निलम्बनमा परेका प्रहरी प्रमुख महर्जनले आज सोमबार महानगरको प्रशासनबाट पत्र बुझेको जानकारी छ। प्रहरी प्रमुख कदमलाल महर्जनलाई निलम्बन गर्ने पत्र ललितपुर महानगरले साउन ५ गतेको मितिमा चलानी गरेको छ ।

ललितपुर महानगरपालिकाले पर्यटकको सवारी लागि पार्किङ्गको टेण्टरमा लगाएको नः टोलस्थित कम्पाउण्डमा रहेका पार्किङस्थलमा प्रहरी प्रमुख कदमलाल महर्जन र सामाजिक विकास महाशाखाका प्रमुख बाबुराजा महर्जनको उपस्थितिमा बिना तयारी जब्बरजस्ती पोखरीको सिलान्यास गरिएको हो । महानगरलाई जानकारी नै नदिई महानगरले गरेको निर्णय विरुद्ध लागेपछि महर्जन कारवाहीमा परेका हुन् ।

महानगरपालिकाले सो ठाउँ श्रावण १ देखि पाकिङ्गको लागि ठेक्कामा दिने निर्णय गरेको थियो । महानगरपालिकाले ठेक्काको लागि गत जेठ १० गते बोलपत्र आहवान गरेको थियो । यसअघि उक्त स्थानमा वार्षिक न्युनतम शुल्क बुझाउँदै नटोल सुधार समितिको नामबाट पार्किङ्ग सञ्चालन हुँदै आएको थियो । सो पार्किङमा निलम्बित नगरप्रहरी प्रमुख कदमलाल महर्जनको समेत संग्लग्नता रहेको वताउँछन् महानगरका एक सिनियर कर्मचारी ।

ललितपुर महानगरलाई न्युनतम् शुल्क बुझाएर मोजमस्ती गर्दै आएका कदमलाल महर्जन र उनको समूहको कब्जाबाट पार्किङ खुस्किएपछि पोखरी बनाउने नाममा महानगरको निर्णय र प्रक्रियाबिरुद्ध परिचालित भएका हुन् ।

उक्त स्थानबाट महानगरले बार्षिक २० लाख रुपैयाँ र पाँच बर्षमा एक करोड रुपैयाँ आम्दानी पाउने वताउँछन् महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराई । पार्किङ्ग सञ्चालन भइरहेको स्थानमा महानगरले टेण्डर गरेपनि हाल उक्त स्थानमा तालाबन्दी गरिएको छ ।

पर्यटकको सवारी साधन पार्किङ्गका लागि टेण्डर गरी सम्पूर्ण प्रक्रिया सकिएपछि स्थान खाली नगरेर कदमलाल महर्जनकै सक्रियतामा उक्त स्थान तालाबन्दी गरिएको महानगरका प्रशासन शाखामा कार्यरत एक अधिकृतले वताए ।

ललितपुर महानगरकै स्थानीय सुरेन्द्रराज अवालेले टेण्डर प्रकृयाद्धारा प्रतिस्पर्धामा ल्याएर अधिकतम कर उठाउने प्रयास गरेको प्रति सकरात्मक पहल भएको भन्दै महानगरको निर्णयको प्रशंसा गरेका छन् । उनले भनेका छन्, पोखरी बनाउने अति राम्रो कार्य हो तर हिजोसम्म ठेक्काबाट कर उठाउँदा केही नबोल्ने आजैबाट पोखरीको कुरा उठ्नु रहष्यमयी छ।

ललितपुर महानगरपालिकाले बिगत ७/८ बर्ष अघिदेखि सो स्थान पर्यटक बसपार्कको रुपमा ठेक्कामा लगाउँदै आईरहेकोमा ठेकेदारले बुझाउने रकम धेरै न्युन देखिएको पनि अवालेको भनाई थियो ।