-ललितपुरको शंखुमा आगलागी, एउटा बाख्रोले एक परिवार र पाँच चौपाया बचायो

ललितपुरको शंखुमा आगलागी, एउटा बाख्रोले एक परिवार र पाँच चौपाया बचायो

Hollywood Khabar January 13,2021 Comments

सन्तोष दहाल, ललितपुर, पुस २७ गते सोमबार राती

ललतिपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका २ शंखुको भलडाँडा निवासी राम प्रसाद घिमिरेको परिवार रातको निद्रामा थियो। मध्यरातको १२ बजेतिर गोठमा आत्तिएर बाख्रो करायो। सोही बाख्राको आवाजले रामप्रसाद ब्युँझिए। धेरै चर्को स्वरमा कराएपछि कतै अल्झिएछ भन्ने सोची उनी गोठतिर लागे। गोठभित्र पसेर हेर्दा चारैतिर धुवाँको मुस्लोले भरिएको थियो। गोठमा आगलागी भएछ। गोठ बाट घरतिर सल्कन थालिसकेको थियो।

घरमा श्रीमतीसहित ६ वर्षीय छोरी र २ वर्षीय छोरा निद्रामै थिए। उनी आत्तिएर श्रीमतीलाई बोलाए। हत्त न पत्त २ बच्चालाई बाहिर निकाले । हारगुहार गर्दा वरिपरिका छरछिमेकी पनि आए तर आगोको ज्वालामा पसेर निभाउन सक्ने अवस्था थिएन। तैपनि सबैको सहयोगमा हतार हतार गरी गोठमा रहेका चार भैंसी, एक गाई र एक बाख्रा निकाले र आगलागीको संकटबाट बचाउन सफल भए।

अब मानवीय र पशुको प्राण बच्नबाट त जोगियो तर ४ घण्टा भित्र घर र गोठमा रहेका अन्य कुनै चिज बाँकी रहेनन्, सबै सखाप भए। सुत्ने बेलामा लगाएका कपडा र भाग्ने क्रममा भेट्टाएर निकालेका कपडा बाहेक केही बचेनन। २० मुरीभन्दा बढी मकै, २ मुरी तोरी, भाँडाकुँडा,लत्ताकपडा लगायत घरमा भएका सबै सम्पत्ति हेर्दाहेर्दै खरानी भए।

बाख्रो कराएको आवाज नसुनेको भए न कोही मानिस बच्न सकिन्थ्यो, न त गाईवस्तु बचाउन सकिन्थ्यो। बिहीबार दु:खी मुद्रामा रामप्रसादले भने,'धन्य मान्छे बचियो र सबै सम्पत्ति सकिए पनि अझै दुख गरौंला र कमाएर खाउँला भन्ने आशा जागेको छ। ' यसरी पालेको त्यही एउटा मात्र बाख्रो ज्यान बचाउनको लागि भगवान सावित भयो।

भनिन्छ, दशा बाजा बजाएर आउदैन। त्यस्तै भयो रामप्रसादको परिवारमा। बेलुकी खुसीसाथ खाना खाएर सुतेको ४ जनाको परिवारको बिहान उज्यालो हुने बेलामा सग्लो ज्यान र गाईवस्तुबाहेक केही बाँकी रहेनन्। खरानी भएको घरमा काठपात , भाँडाकुँडा र अन्नपात जलेको र विजोगलाग्दो अवस्थामा देखिन्छन।

रामप्रसाद यतिबेला छिमेकी काकाको एउटा घरमा शरण लिएर बसेका छन् भने वस्तुभाऊ पनि उहीँ छन्। अर्धहोस अवस्थामा रहेका उनलाई अब के गर्ने कसो गर्ने भन्ने केही मेसो छैन। यस्ता दुख सबैलाई पर्छ भन्दै अरुलाई पर्दा देखेको पीडा सम्झिएर मन बुझाउनुको विकल्प पनि छैन। यस्तै अवस्थामा उनले विभिन्न व्यक्ति तथा निकायबाट तत्कालीन राहतस्वरूप केही अन्नपात तथा न्यानो कपडाहरु भने पाएका छन्।

बिहीबार ललितपुर क्षेत्र नं १ (ख) का बागमती प्रदेश सांसद चेतनाथ संजेलको टोलीले घिमिरे परिवारलाई केही चामल, दाल, नुन, तेल लगायतका तत्कालका लागि आवश्यक राहत सामग्री घरमै पुगेर वितरण गरेको छ। साथमा युवा समाजसेवी पुरुषोत्तम हुमागाईं, नेकपा कोञ्ज्योसोममा नेता कृष्णप्रसाद सापकोटा लगायत पनि सहभागी थिए।

उक्त अवसरमा सांसद संजेलले यो आफुहरुको व्यक्तिगत तर्फबाट दिईएको तत्कालीन राहत सामग्री भएको र आगामी दिनहरुमा पनि घर गोठको पुनर्निर्माण तथा अन्य प्रयोजनका लागि सहयोग गर्न प्रदेश सरकार तथा अन्य निकायसंग पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। दुखमा परेका घिमिरेलाई सान्तवना दिंदै उनले आफुले पनि उस्तै पीडा महसुस गरेको र सहयोगको लागि कुनै कसर बाँकी नराख्ने बताए। साथै युवा नेता हुमागाईं र कृष्णप्रसाद सापकोटाले पनि राहत तथा पुनर्निर्माणको लागि आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै बुधबार कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतान, उपाध्यक्ष मिङ्मा लामा लगायतको गाउँपालिका टोलीले पनि पीडित परिवारमा पुगेर तत्कालीन राहत सामग्री वितरण गरेको छ। गाउँपालिका अध्यक्ष सिंतानले घिमिरे परिवारलाई चामल, दाल, ब्लैंकेट लगायतका सामग्री वितरण गरेका थिए। यसका साथै आगामी दिनमा घर पुनर्निर्माणका लागि एक टिपर बालुवा सहयोग गर्ने तथा कृषि पकेट क्षेत्र अन्तर्गत शंखुका किसानलाई दिन लागिएको भैंसी वितरण कार्यक्रममा नपरे पनि एउटा भैंसी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।