-उपमेयर सत्यालद्धारा ३० जना पर्यटकलाई पाटन दरवारमा प्रवेश पास

उपमेयर सत्यालद्धारा ३० जना पर्यटकलाई पाटन दरवारमा प्रवेश पास

Hollywood Khabar September 26,2019 Comments

ललितपुर/१० असोज

पाटन दरवार क्षेत्र भ्रमणमा आउने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेश दिइएको छ। ४० औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार पाटन दरवार क्षेत्रमा पहिला प्रवेश गर्ने ३० जना पर्यटकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले शुक्रबार विहान पाटन दरवार क्षेत्रमा सबै भन्दा पहिलो आउने ३० जना पर्यटकहरुलाई पर्यटकलाई टोपी र दोसल्ला ओढाएर स्वागत गर्दै प्रवेश पास समेत वितरण गरिन्। सुरुमा आउने ३० पर्यटकहरुलाई प्रबेश पासका अलवा चिया कफीको गिफ्ट भौचर, एक दिनको डिनर कुपन समेत प्रदान गरिएको थियो ।

ललितपुरको कला, संस्कृतिको प्रवद्र्धन गर्दै भिजिट नेपाल २०२० को प्रवद्र्धनमा समेत सहयोग पु¥याउने लक्ष्यका साथ सबैभन्दा पहिला आउने पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएकोे महानगरका संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख सहजित राईले बताए ।

शुक्रबार विहान पाटन दरवाार क्षेत्रमा हाकुपटासीमा सजिएर उपस्थित भएका नेवारी महिलाहरुले धिमे बाजामा परम्परागत नृत्य देखाएर पर्यटकहरुलाई स्वागत गरेका थिए। त्यस्तै लाखे नाच समेत प्रदर्शन गरिएको थियो । पर्यटकहरुलाई स्वागत गर्न ज्यापू समाजका अध्यक्ष चन्द महर्जन सहितका प्रतिनिधिहरु, बौद्ध बिहार संघ, चाईनिज गाइड एसोसियसन लगायतका संघसंस्थाको प्रतिनिधिहरु उपस्थित भएका थिए ।

पर्यटन दिवसको अवसरमा आज शुक्रवारदेखि सोमबारसम्म दरबार क्षेत्र परिसरमा रहेका रेष्टुरेष्ट, क्याफे तथा अतिथि र हस्तकला पसलहरुमा विशेष छुुट दिने व्यवस्था गरिएको छ ।