सगरमाथा आरोहण गर्न कल्पनालाई ललितपुर महानगरद्धारा ३० लाख सहयोग

सगरमाथा आरोहण गर्न कल्पनालाई ललितपुर महानगरद्धारा ३० लाख सहयोग

Hollywood Khabar February 25,2019 Comments

माधव घिमिरे/ललितपुर/१३ फागुन

ललितपुर महानगरले पर्वतारोही कल्पना महर्जनलाई सगरमाथा आरोहणका लागि ३० लाख सहयोग गर्ने भएको छ। सगरमाथा आरोहरणका लागि अर्थिक सहयोग गर्ने सम्बन्धमा ललितपुर महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आइतबार ललितपूर महानगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त हस्ताक्षर भएको हो। उक्त सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकातर्फबाट मेयर चिरीबाबु महर्जन र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिकातर्फबाट अध्यक्ष रबिन्द्र महर्जनले हस्ताक्षर गरेका छन् । पर्वतारोही कल्पना महर्जनले यस अघि सन् २०१८ मा दक्षिणी मोहोडाबाट पहिलो पटक सरगमाथा आरोहण गरिसकेकी छन्। यस पटक उत्तरी मोहोडाबाट सरगमाथा आरोहण गर्ने तयारी रहेको छ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं बर्ष प्रबेश तथा ललितपुर महानगरपालिका स्थापनाको १०० वर्षको अवसरमा महानगरले यो रकम उपलब्ध गराएको हो। आरोही कल्पना महर्जनले ललितपुर महानगरपालिकाको नाम र लोगोअंकित झण्डा र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तश्वीर अंकित व्यानर सगरमाथाको चुचुरोमा फहराएर सोको फोटो महानगरपालिकालाई उपलब्ध गराउनु पर्नेछ ।

महागरपालिकाले प्रदान गर्ने रकम मध्ये ८० प्रतिशत सम्झौता भएसंगै उपलब्ध गराउने छ। बाँकी २० प्रतिशत कार्यप्रगतिको प्रतिवेदनको आधारमा उपलब्ध गराउने छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्तब्य राख्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले आरोही कल्पना महर्जनलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । महर्जनले सगरमाथाको सफल आरोहण गरेर आए पश्चात आरोही महर्जनलाई एक वर्षका लागि महानगरपालिकाको सदभावना दुतको रुपमा विभिन्न कार्यक्रममा सहभागी गराउने बताए ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। साथै एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिका तर्फबाट अध्यक्ष रबिन्द्र महर्जन र आरोही कल्पना महर्जनको उपस्थिति रहेको थियो।

ब्याक टु एभरेष्टस् ए क्याम्पियन अगेनिस्ट चाइल्ड म्यारिज २०१९ नाम दिइएको उनको सगरमाथा आरोहण अभियानका लागि एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रालिको समन्वयमा व्यापक तयारीका साथसाथै विशेष महत्वका साथ प्रचारप्रसारको कार्यसमेत भइरहेको छ।

पर्वतारोही कल्पना महर्जनले सगरमाथा आरोहणका लागि प्राप्त हुने सहयोगबाट बचेको रकम नेपालमा हुने बाल विवाह रोक्नका लागि प्रयोग गरिने वताइन्।