-सांकेतिक तस्विर

ललितपुरमा आजदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु हुने

Hollywood Khabar June 18,2019 Comments

४ असार,ललितपुर।ललितपुर जिल्लामा आजदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु हुने भएको छ।गृह मन्त्रालयको योजना अनुसार यस वर्ष १५ वटा जिल्ला मध्ये ललितपुर पनि परेको हुनाले सोही अनुसार वितरण गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले दैनिकीन्युजलाई बताए।आज दिउसो ४:०० बजेदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु हुने प्रजिअ जोशीले जानकारी दिए।

राष्ट्रिय परिचय पत्रले सार्वजनिक सेवालाई पारदर्शी रुपमा सञ्चालनमा सघाउ पुग्ने, दोहोरो सुविधा लिने, झुटा विवरण पेश गर्ने र सेवासुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रणमा आई लक्षित वर्ग समुदाय र आम नागरिकले राज्यबाट प्रदान हुने सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने प्रजिअ जोशीले बताए ।

प्रजिअ जोशीले भने–‘राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।’

२०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो। राष्ट्रिय परिचय वितरण गर्ने १५ जिल्लाहरुमा प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुर रहेका छन् ।