कृष्ण के सी/अमेरिका/८/८/१९
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ मा हुँदैछ। अध्यक्षका दुइ आकांक्षी मध्येका एक कुल आचार्यले आफ्नो चुनावी दौडाहा बढाएका छन्। वर्तमान उपाध्यक्ष रहेका कुल आचार्यको होमकन्ट्री बेलायत हो। बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, योरोप क्षेत्रको क्षेत्रीय संयोजक र वर्तमानमा केन्द्रिय उपाध्यक्ष रहेका आचार्यसंग आज लामो कुराकानी भयो।
अगष्ट ८, २०१९ मा हलिउडखबरले राखेको एक दर्जन प्रश्नहरुको जवाफ दिंदै उनले भने- भनिए जस्तो कुरा होइन। हँसिला र मिजासिला आचार्यले भने, यो पटक सँस्थालाइ हाँक्ने योजना र आँट गरेर नै आएको छु। उनै आचार्यसंग राखिएका एक दर्जन प्रश्न र उनको जवाफ यहाँ प्रस्तुत गरिएको छ।
१. कुल आचार्य अध्यक्षको उम्मेद्वारी बिचमा छोडेर सहमतिको लागि जाने हल्ला छ नि ?
यो कुरा सत्य होइन। म सबैसँग छलफल गरेर, साथीभाइ र अग्रजहरु सबैसँग सरसल्लाह गरेर तयारीका साथ आएको छु, यो कुरा आउने अवस्था होइन। यसमा द्विविदा हुने कुनै कारण छैन। यस बिषयमा आएका अन्य कुरा सबै हल्ला हो। चुनाव लड्ने र जित्ने हो त्यो कुरा भने सत्य हो।
२. तपाइको टिममा कोहि पनि उम्मेदवार हुन आउन नै मानेनन्, कुल आचार्य भनेको एक्लो बृहस्पति हो भन्छन नि त ?
त्यसो होइन, यसलाई उल्टाएर बुझ्नुहोस्। साथीहरु यति धेरै छन् कि मिलाउन नै धौ-धौ परेको छ। तर पनि ऐले नै सबै बाहिर निकालेको भने होइन। बिस्तारै सबै कुरा आउँछन र प्रष्ट हुनेछ। संघलाइ माया गर्ने र योगदान दिएका साथीहरुको एउटा समावेसी सहकार्य हुनेछ। ऐले भने क्षेत्र, योगदान र संघमा उहाँहरुको आवश्यक्ता जस्ता कुराहरुलाई आधार बनाएर सहकार्य गर्ने प्रयास गरिएको छ। केहि दिन पर्खनुहोस सबै कुरा बाहिर आउँछ। म एक्लो बृहस्पति होइन गणको लिड गर्न तयार भएर आएको निडर लिडर हुँ।
३. तपाइले एनआरएनहरुले चलाएका मिडियालाई नगन्ने अनि अरु मिडियाले तपाइलाई नटेर्ने भन्छन नि ?
मैले प्रचार-प्रसार नै औपचारिक रुपमा गरेको छैन। अनौपचारिक भेटघाट र पत्रकार साथीहरुसँग कुराकानी भने भएको हो। मलाइ सबै पत्रकार र संचार संस्थाको सहयोग चाहिन्छ र छ। म सबैको समान रुपले सम्मान गर्छु। मैले पहिलो सुरुवात नै आफ्नो होमकन्ट्री बेलायातका पत्रकार साथीहरुसँगको भेटघाटबाट गरेको छु। एनआरएनभित्र एनआरएन पत्रकारहरुको सबैभन्दा अहम भुमिका रहन्छ। उनीहरुले एनआरएन सँस्था र एनआरएनहरुका कुरा बुझेका हुन्छन। एनआरएन कुरालाई प्रष्ट रुपमा राख्न सक्छन।
४. काँग्रेसका समर्थकहरुको टिम बनाउने र तपाइको टिममा सबैजना काँग्रेस मात्र हुन्छन भन्ने कुरा के हो त ?
पहिलो कुरा त बैधानिक रुपमा टिम या प्यानल भन्ने कुरा नै मिल्दैन। दोश्रो कुरा काँग्रेसको टिम बनाउने भनेको होइन। आस्थाको आधरम रहेका साथीहरुको सामिप्यत हुनु भनेको स्वभाविक कुरा हो। तर म अध्यक्षको लागि आकांक्षी भैरहँदा सहकार्य भने सबैसँग हुन्छ। आजकल यसलाई समावेसी भन्ने चलन चलेको रहेछ। आकाक्षीहरुको योगदान, आवश्यक्ता र क्षमताका आधारमा समावेसी सहकार्य हुनेछ। सहकार्य संघलाइ योगदान दिएका, मायाँ गर्ने र यसका मुद्धा बुझेका आकांक्षीहरुसँग हुन्छ। यसलाई टिम या राजनैतिक लडाइ भन्न मिल्दैन र होइन। म त्यो पक्षमा पटक्कै छैन।
५. नेपालली काँग्रेसका नेता डा शेखर कोइरालाले इटालीमा तपाइलाई बलिको बोका बन्न अध्यक्षमा चुनाब नलड्नु भनेको रे हो ?
त्यो कुरा सत्य होइन। मिटिङ्ग भएको हो र उहाँले भनेको कुरा अरु धेरै साथीहरुले पनि सुनेका छन्। त्यसलाई मैले स्पष्टिकरण दिनुपर्दैन। पब्लिकमा भनेको कुरा हो, लुकाउने या छिपाउने कुरा छैन।
६. संघको ६ क्षेत्रमा तपाइको स्थिति कहाँ कस्तो छ ?
संघका सबै क्षेत्रमा रेस्पन्स राम्रो आएको छ। मेरो युरोप क्षेत्र अत्यन्तै बलियो छ। अमेरिकाज जाँदै पनि छु र राम्रो छ। एशिया, मिडल इष्ट र ओसनिया अत्यन्तै राम्रो छ। अफ्रिकामा कुरागर्दै छु।
७. किन अध्यक्षमा नै उठ्न यति हतार गरेको, एकपटक खाली बसे या उपाध्यक्षमा नै दोहोर्याए हुँदैन र ?
यो हतार होइन, ठीक समय हो। विगत १२ वर्ष देखि संघको काममा निरन्तर रुपमा छु। स्थानिय देखि केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी लिएको छु। अब के बाँकी भनेको अध्यक्ष नै त हो नि ? उपाध्यक्ष भएर काम गरिसके दोहोर्याउन आवश्यक छैन।
८. तपाइले पालो नकुरेको, धैर्यता भएन, वर्तमान अध्यक्ष भबन भट्ट नउठ्ने भनेपछि मौकामा चौका हानेको भन्छन नि, के हो त सहि कुरा ?
पहिलो कुरा भबनजी नउठ्ने भन्नुपूर्व नै मैले आकांक्षी भएको जानकारी दिएको हो। अब पालो कै कुरा गर्ने हो भने त धेरै कुरा आउँछन्। पालो मिचेको कुरा गर्दा राम थापा, रतन झा, रामेश्वरजी, भिमजी, दिपकजी, तेन्जीजी थुप्रैको नाम मिचिएकाहरुमा छन्। जहाँ सम्म मेरो कुरा छ मैले १२ बर्ष संघको स्थानिय देखि केन्द्रको उपाध्यक्ष सम्म भैसके। अब उठ्ने अध्यक्ष हो र ऐले नै लडे पनि अध्यक्ष हो पछि लडे पनि अध्यक्ष हो। अर्को कुरा नेतृत्व भनेको पालोले होइन क्षमताले लिने हो। गत पटक जमुना गुरुङ अध्यक्षको उम्मेद्वार हुनुभयो, पालो कुरेर होइन क्षमताले गर्दा हो। यो संघ-संस्थामा नेतृव लिने भनेको पालोले होइन क्षमताले हो।
९. तपाईको दौडाहा कता कता हुँदै छन् त ?
ओसनिया सकेर आएको छु। युरोप भर्खर गएकै हो फेरि अर्को पल्ट पनि जाँदैछु। अमेरिकाज अर्को हप्ता जान्छु। त्यो समय न्यूयोर्क, टेक्सस र क्यानाडा पनि जाने हो। अनि त्यसपछि मिडल इष्ट र एशियातिर जान्छु। औपचारिक रुपमा उम्मेद्वारी घोषाणा कार्यक्रम भने पछि मात्र राख्छु।
१०. तपलाई अध्यक्षमा किन मत दिनुपर्ने, तपाई र अध्यक्षका अरु उम्मेदवारमा के फरक छ ?
संघको प्रमुख मुद्धा बुझेको छु, गैरआवासीय नागरिकता, नेपालमा लगानी जस्ता बिषय अनि संघका चालु प्रोजेक्ट सम्पन्न गर्न पनि मेरो नेतृत्व आवश्यक छ। यस बाहेक सबै खाले कम्प्लेनहरुको निराकरण, संघमा सुद्धिकरण, पारदर्शिता, फण्ड रेजिङ्ग, क्षेत्र विस्तार र संस्थाका आन्तरिक परिपाटीको बजबुतिकरणका लागि पनि मेरो भूमिका आवश्यक छ भन्ने मेरो जिकिर हो। अर्को कुरा एउटा व्यक्तिको रुपमा हेर्दा म र अर्का अध्यक्षका उम्मेद्वारबीच फरक नहुन सक्छ। तर नेतृत्वका बिषयलाई लिएर हेर्ने हो भने धेरै फरक छन्। मैले उठाएका र अरुले उठाएका मुद्धा, काम गर्ने शैली, संघलाइ अगाडि बढाउने कुरा जस्ता बिषयमा आधारभूत देखि उच्च स्तर सम्म भिन्नता छन्।
११. अग्रजहरुले नै तपाइलाई सघाएनन भन्छन, के फरक हुन्छ त तपाइको कार्यकालमा ?
सबै कुरा त घोषणा पत्रमा आउने छन्। तर पनि संस्थामा पारदर्शिता, संस्थागत बिकास, संघका प्रमुख मुद्धाहरुको किनारा र अरु थुप्रै काम हुनेछन। यो पालो कुर्ने होइन क्षमता र आवश्यकताका आधारमा नेतृवमा पुग्ने अवसरको सृजना हुनेछन। बिगत देखि बाँकी रहेका, निर्णय भएर कार्यान्वयन नभएका काम पुरा हुनेछन। अबको सँस्थाको स्वरुप भनेर बनाइएको भिजन २०२० लाइ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनेछु। अग्रजहरुसंग मैले छलफल र सल्लाह लिने गरेको छु, उहाँहरुको साथ र सहयोग रहेको छ र रहन्छ।
१२. अरु केहि भन्नु छ ?
अब म तयारिका साथ आएको छु, धेरै कुराहरु बिचमा अड्केका छन्, तिनलाई पुरा पनि गर्नुछ। सबैले सहयोग गरिदिनुहोस, म बिचमा खुट्टा कमाउँदिन, संस्थालाइ सहि रुपमा लैजानको लागि मेरो उम्मेद्वारी हुन्छ र नेतृत्वमा पुग्छु भन्ने एकदमै विश्वास छ।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...