कोहलपुरमा सुनिइन् कवि सरिता तिवारी कपिल अन्जान

0
shares

by Soni Sharma | Updated: 17 Aug 2019

136 views
तस्बिर साभार वेब

३२साउन,कोहलपुर।खाली छन् जमिन्दारको बहिखाताका धमिला पृष्ठ, त्यहाँ भेटिन्न कुनै हिसाब, कुन–कुन महाराजको सवारीमा मैले मुटु फुट्नेगरी बाटो खनें,कति हल जोतें चौधरीको खेत कति दिन फरुवा चलाएँ,एक धरो लगौंटीले कति वर्ष–महिना र दिनको लाज ढाकें तर राखेको छु मैले एक–एक हिसाब’ कवि सरिता तिवारीले ‘आदिवासी’ कविता वाचन गर्दा छेउमा बसेकी कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले एकोहोरिएर यो कविता सुनिरहिन् ।

आदिवासी तथा थारुहरुको प्रतिनिधित्व गरेको कोहलपुरलाई स्मरण गर्दै कवि तिवारीले अर्को कविता ‘डेलीमा माछा’ मा सुनाउँदा उपप्रमुख थारुसँगै हलमा उपस्तिथ दर्शकहरु सबैले एकनासले ताली बजाएर कविलाई थप हौसला दिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको वार्षिक साधारण सभाको अवसरमा कवि सरिता तिवारीको एकल कविता वाचन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष महानन्द ढकालले बताए ।

साहित्यमा निरन्तर लागे वापत संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको रु. ७ हजार ७ सय ७७ राशीको तुलसी राम स्मृति पुरस्कार–२०७५ ले कवि तिवारीलाई सम्मान पनि गरिएको छ । पुरस्कारका संरक्षक पवित्रा ढकालले उक्त पुरस्कार राशी उपलब्ध गराइकी थिइन् । कार्यक्रममा कवि सरिता तिवारीले महिलाहरुको विषयमा केन्द्रित रहेर ‘हे देवी’, ‘दैनिकी’, ‘के तिमीले मलाई आविस्कार गर्यौं ?’ कविताहरु वाचन गरेर सुनाइन् । उनले राजधानीलाई कटाक्ष गर्दै ‘काठमाण्डौ’, ‘भाषा चोरहरु जब शासक बन्छन्’, ‘एकछिनलाई’, ‘पुत्ला’, ‘बजारविरुद्ध’ लगायत दर्जन बढि कविताहरु वाचन गरेर सुनाइन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्राज्ञ सनत रेग्मी, प्रतिष्ठानकै सभा सदस्य हरि प्रसाद तिमिल्सिना, साहित्यकार नरेन्द्र जंग पिटर, भारतीय कवि शारिक रब्बानी, रमेश शायन, प्रदिप भट्टराई, पुष्कर रिजाल, कपिल अन्जान, विक्रम शिशिर, सुमित्रा न्यौपाने, देवकी निरौला, भावना पाठक, नमिता बराल, बद्रि ढकाल लगायत १३० भन्दा बढि साहित्यप्रेमीहरुको उपस्थिती रहेको थियो ।