-Chetnath Kanel-Harit

खोल्छौं हामी सप्पै कुरा !

Hollywood Khabar December 01,2020 Comments

-चेतनाथ कणेल-हरित, श्रृङ्गा, गुल्मी, हालःकाठमाडौं-१२/०१/२०२०

 

पूर्वबाट हरित परेवाले

कुर्कुर माकुर–कुरको सन्देश फलाक्दै छ

नसोचेकै हिसाबले

भौतिक जाँचबाट सफलतासाथ उत्रिएपछि

बाह्रका विद्यार्थी यतिबेला मस्त मस्त रमाएका छन्

एघारका भाइ–बहिनीलाई न्यानो ढाडस दिएका छन्

हरित बत्तीहरू हाम्रासामु बिछट्टै चम्किन थालेका छन् !

 

बडा नेताहरू झगडा गर्दै गरून्

र पौंठेजोरीमै रमाऊन् हरक्षण

हामी खोल्छौं श्रीअन्तु

हामी खोल्छौं नाम्चे र ठमेल

हामी खोल्छौं सौराहा र लुम्बिनी

हामी खोल्छौं रारा र खप्तड

हामी खोल्छौं छिन्नमस्ता, पशुपति, मनकामना र मुक्तिनाथ !

 

भीमसेनले पनि ‘पसिना’ बगाइसके देशका लागि

अपशकुनभित्रकै ‘शकुन’को संकेत हो त्यो

असहजताभित्रकै सहजताको ‘अभिषेक’ हो त्यो

अलिकति आशिक पाथीभरा र छिन्ताङमाईसँग मागेर

अलिकति शुभेच्छा ऋषिकेश र ठाकुरबाबासँग मागेर

कालिका, शैलेश्वरी, उग्रतारा सबै–सबै ‘आस्था’हरूलाई सविनय ढोगेर

संघर्ष गर्दै कोरोनालाई साथमा लिई हिँड्नु छ !

 

सिक्यौं,

आठ महिना खुब सिक्यौं,

दल्यौं,

आठ महिना खुब दल्यौं,

दल्यौं ‘स्यानिटाइजर’

अपनायौं ‘सोसल डिस्टेन्स’

लगायौं ‘मास्क’

घोक्यौं ‘एस एम एस’

अब नर्सरीमा पढ्ने बाबुनानीले पनि कण्ठ गरेका छन्

अब मान्छे–मान्छेका दिमागमा डेरा जमाएर बसेका छन्

थाक्यौं, थाक्दैछौं

जाग्यौं, जाग्दैछौं

येनकेन पाइला चाल्दै जोगिनु छ

येनकेन जोगिँदै पाइला चाल्नु छ

अब,

हामी खोल्छौं शिक्षालय,

हामी खोल्छौं विश्वविद्यालय,

हामी खोल्छौं पुस्तकालय,

हामी खोल्छौं भोजनालय

हामी खोल्छौं शयनालय

हामी खोल्छौं भतेरालय,

हामी खोल्छौं चलचित्रालय,

बडा नेताहरू झगडा गर्दै गरून्

र, पौंठेजोरीमै रमाऊन् हरक्षण

अब हामी खोल्छौं बन्द सप्पै कुरा !

अब हामी खोल्छौं मन्द सप्पै कुरा !