श्री ८१२ महाँकपटे गोत्रनष्टे बुद्धबदी भष्माबुद्धि कुरूपेश्वर दुर्गुणाचार्य

0
shares

by KRISHNA KC | Updated: 30 Nov 2018

1949 views
Krishna KC

**कृष्ण के सी/अमेरिका/पहिलो पटक पोष्ट १२/३०/१७ दोश्रो पटक १२/३०/१८ मा पोष्ट**

लगभग एक बर्ष पछि यो लेख पून: पोष्ट गर्न मन लाग्यो। गत बर्ष डिसेम्बर ३०, २०१७ मा पहिलो पटक पोष्ट गरेथे। यो प्रतिकात्मक लेख धेरैलाइ मनपर्यो अनि आज अलिकति परिमार्जन गरेर फेरि पस्केकोछु।

२०१८ को बर्षान्त हुनै लाग्यो, किन पो अरुलाई दु:खी बनाउनु। भनिन्छ लेख्ने मान्छेले पहिला आफैलाई त्याग्नुपर्छ र पूरा आफ्नो खराब र कम्जोर पाटो समेत दुनियाँ सामु नाङ्गेझार पारेर बताउनुपर्छ। आफ्नो कुबाटो, भिरालो बारीको पाटो देखि असारे कुलो सम्म, खोसिएको गैरीखेतको भत्केको आली अनि साँझ-बिहानको रित्तो थालीसम्म सबैलाई मज्जाले थाहा दिनुपर्छ। तब मात्र सही कुरा लेख्ने हिम्मत हुन्छ लेखकमा। होइन भने घाटेबैद्धको हाजमोलाको गोली र पुधिना त के पण्डितबाको तिरुपातीको लड्डु पश्केर लेख्दा पनि तीते फापरको रोटी जस्तो हुन्छ। त्यसैले आज मैले “म” पात्र रोजे।

यो दुनियाँमा म भन्दा कालकुट अरु कोही छैन होला। मेरो अनुहार पनि कालो, नाम पनि कृष्ण काले, बानी र मन पनि कालो त्यसैले मैले कहिल्यै पनि अरुलाई फाइदाको काम गरिन। यो “म” भित्रै कालो बाहिरै कालो, तनै कालो, मनै कालो, सोच, दील दिमाग, काम, दाम, नाम र नतिजा सबै नै कालो। समग्रमा भन्दा मान्छे मार्ने काल भन्दा पनि भयानक बिकराल छु “म” कालो। तर के गर्नु गोराको देशमा बस्छु अनि म भने तेती धेरै कालो।

एकपटक त मैले सबैलाई एउटै खाल्डोमा पुर्छु भनेर चिहान किन्न राष्ट्रिय चिहान सम्मेलन कै आयोजना गरे। टेक्ससमा आयोजित त्यो चिहान सम्मेलन भब्य रुपमा सफल पनि भयो। त्यसपछि मलाइ झन् लोभ लाग्यो र मैले भित्र-भित्र सबैलाई पुर्ने र आफू मात्र काले राजा हुने योजना गरे। योजनामा म धेरै बर्ष पछाडीको स्मृतिमा पुग्छु।

मेरो घरको पश्चिमतिरका डाँडाघरे काकाले परार साल मलाइ रुख चढेर स्याउला झार्न खुबै सिकाए। बिचराले रुख चढ्न र उच्चाईमा पुग्न हैंसे होष्टे मात्र होइन आफ्नो काँध नै थापेर मलाइ रुख चढाए। जसै म रुखको टुप्पोमा पुगे, त्यो डाँडाघरेलाइ त भैंमा भुसुना जस्तो देख्न पो थाले। मलाइ हावा खुवै मन पर्यो, रुखबाट तल झर्न पटक्कै मन परेन। म ठूलो ठूलो स्वरले कराउन लागे। लौ हेर दुनियाँ हो “म भन्दा अग्लो कोही छैन।”

डाँडाघरेले त भन्दै थियो मलाई, बाबु नमात्त है ऐले लड्छौ भनेर। मैले बालै दिइन, झन् रुख हल्लाइ - हल्लाई कराउन थाले उहु.……क्या मज्जा ! झन माथि माथि टुप्पोमा नै पुग्न मन लाग्यो। मेरो स्वरको उमङ्ग झन बढ्न लाग्यो। अन्तमा खर्ल्याम्म भैमा बजारिन पुगे। मेरो शरीरमा भएका २०६ टुक्रा हड्डीका ४१२ टुक्रा भए। मेरै शरिरका टुक्रेका तीखा हड्डीले मेरै शरीरका अन्य अंगका विरुद्ध मलाइ नै घोप्न थाले।

केही महिनाको उपचार पछि म निको भएँ। अब त बैसाखी पनि न चाहिने भयो। मैले घाइते हुँदा चोकमा पुल-बोर्ड खेल्ने काइतेहरुलाई साथी बनाएको थिएँ। बल्ल तल्ल एउटा काइते टोली बनाएँ। अनि त के गजब नै भयो नि। हाम्रो टोलीलाई “थुप्त्ने” अफर आयो-थुत्यौं, अनि “उठाउने” अफर आयो-“उठायौं”, “पड्काउने” अफर आयो “पड्कायौ” अन्तमा त चुनाबकै अफर आयो मौकामा चौका हानेर दिल, दिमाग र घर मात्र होइन सिटी नै ग्रीन बनायौं।

अब बिस्तारै मेरो जोश दिन दुगुना रात चौगुना बढ्न लाग्यो। मलाइ टोले गुण्डाबाट ठेकेदार बन्न मन लाग्यो। ए रातै, त्यो पनि काम गर्ने ठेकेदार होर थोरै। सेटिङ्ग गर्ने ठेकदार हो-सेटिङ्ग। एउटा सेटिङ्ग मै माला-माल हुने अनि किन गर्नु प्यार ? मैले पुराना कुरा सबै त्यागे, घर-बार अनि साथी संगत सबैलाइ बालै दिन आवश्यक्त ठानिन।

तीन पानेमा ढ्याङ्ग्रो ठोक्नेको काइते र घाइते टोलीको सट्टा नयाँ बियर र होममेड खोइला बिर्के र गाँजा-भाङ्ग टोली बनाएँ। त्यो टोलीको खोइला बिर्के एक सिरिप र गाँजाको एक सुर्को तानेपछि त तेस्ता पंचायत भबनका पूजारी पण्डित मात्र होइन बर्षौं नापुजेर लेउ परेका शंकर भगवानको शिवलिङ पनि खोजी-खोजी भष्मासुर हुन पाउँ भन्दै वरदान माग्दै भेटी समेत चढाएर मन्त्र जप्नथाले।

मैले आफूलाई श्री ८१२ महाँकपटे गोत्रनष्टे बुद्धबदी भष्माबुद्धि कुरूपेश्वर दुर्गुणाचार्य पाउनको लागि आराधाना गर्न थाले। हे भगवान ! हे दूरवीनाचार्य, हे कणकणका ज्ञाता कणेश्वर, हे बंजारण, बिष्णु-बिष्णु, राम-राम, ओम-ओम शिव-शिव, शंकर-शंकर, हरे हरे गौरीपति महादेव, हे इश्वर, हे हरिहर, हे उमा, हे राधा, हे दुर्गा, हे प्रमोदय; हे ब्रम्ह बिज्ञानी; बमबम बोल भनेर भष्मासुरको रिद्धी-सिद्धी अखण्ड पूराण गर्न थाले। अनि भगवान शुभनामले मलाइ श्री ८१२ महाँकपटे गोत्रनष्टे बुद्धबदी भष्माबुद्धि कुरूपेश्वर दुर्गुणाचार्य नाम दिनुभयो।

तर पाएको ठूलो भारी बोक्न नसक्ने सुकुटे जस्तै आजकल त्यो मेरो नामको प्रचार भइहरुको चंगुल देखी सात्तो जान लागेको छ। मेरो घरको सुदुर पश्चिम तर्फका एउटा अनलाइन प्रचार भाइले मलाइ नबोलाईकन एउटा छिन्ने तिथि गर्न लागेछन।

भातो, लातो र खादो सारै प्यारो लाग्ने मलाइ अनि त्यो तिथिको निम्ता नदिंदा खपी नसक्नु भयो। मेरो कन्परो १०० डिग्रीले तातेर आयो। मैले बाटामा भएका रुख-जति सबै काटेर सोतर पार्दै एलए देखि सान फ्रान्सिस्को जाने हाइवे ५ मा नै ठाउँ-ठाउँमा “नेपाल बन्द” को घोषणा गरे। फोन-टेक्स्ट, इमेल, म्यासेन्जर, फ्लाश ड्राइभ, पेन ड्राइभ र अरु धेरै गर्नु जति सबै गरे। तर पनि प्रचारभाइको छिन्ने तिथि रोकिएन।

गोटा दुइ-तीनलाइ त बाटो बन्द गर्न ज्याला पनि दिएको थिएँ। शंकरजीको पाउमा र डिलेन्द्र दुइथरेको त खातामा नै जम्मा गरिदिएको हो। तर भगवान विष्णुको मन्त्र त झन उल्टो भएछ क्यारे। सयौं मान्छे पो गएछन। थुइय म; भन्दै तालु पिटेर खुइय गर्दै एक पातो पिज्जा के खाएको थिएँ पेटमा हजम भएन, मैले नै बनाएको हाजमोला गोली खान थाले।

अब यो कृष्ण लिला रच्ने खडुस कोर्कालीहरुको दुनियाँ उजाड बनाउन मैले पनि एउटा खड्यन्त्र रचे। स्वस्थानी कथाको ठाउँमा मैले इफिशिङ कम्पनीको प्रोमो बनाएँ। गायत्री मन्त्रको सट्टा इन्द्रजाल बनाएँ अनि आफ्नै बगैंचाको होचो वृक्षको फल माथि इन्द्रजालको झटारो हान्न थाले। मनै देखि सोचे पहिला ग्रह शान्ति गर्न भवनबाट भेटी लिएर गणेशलाइ फाल्दै कुमारको पूजा गरे। हिमाञ्चलस्थित सपिलेश्वर बद्रिआश्रम सम्झेर मन्त्र जप्तै हिमप्सारमा अवस्थित किरातेश्वर शिवको आराधना गर्दै रातैभरि ताण्डब नाचे।

मन्त्र त उल्टो परेछ कि क्याहो। मैले सरल रुपमा हानेको झटारो फर्केर मेरै पुर्पुरोमा टंगरंङ बज्रियो। मिनेट भर त तोरीको फूल देख्ने गरी दुख्यो। उसै त कालो म दुखाइले गर्दा यो दुनियाँको सबै भन्दा कालो हाँडी जस्तै नै भएँ। त्यो बेला म जस्तो पक्का कालो रंग भएको खरो कालीदास अर्को कोही थिएन होला।

मन कालो भएकोले होला मलाइ काला जादु गर्न खुबै मन पर्ने। क्यजिकल्ली म ५०० लाइ १५०० र १५०० लाइ ५००० अनि ५००० लाइ १५००० या त्यो भन्द धेरै सम्म पनि बनाउन सक्छु। त्यसो गर्न मलाइ नेपालका त कुरै छाडौ अमेरिकामा पनि अन्तरिक राजश्व (IRS) सम्म लैजाने हिम्मत कुनै फुच्चेमा छैन। एउटा २ आउँचको आइसी पिउँदैमा दागा धर्छन छोटे राजनहरु।

यो अनलाइनवालाहरुले कहिले काहिँ ट्वार-टुर्र गर्छन मेरै बारे। आँ-आँ गर्ने भएर होला नाम पनि अनलाइन भएको। लिनको लागि लाइनमा अर्थात अनलाइन। अन्यथा म भदौको साँढे भन्दा कम छैन। थोरै बाँझो जोत्ने गोरु होर म लुते भएर जोत्ने जुवा थाप्ने ? साँढे पो हो त बाइ, असनमा पनि डुक्रने अनि म डुक्रन थाले ठूलो स्वरमा “डुक्राँ -----!

कसो-कसो मलाइ धामी बन्न मन लाग्यो। मैले एउटा जाजुल्यमान कालो मसान उठाउने धामी बोलाएँ। धामीले ढ्यांग्रो बजायो, मैले अक्षता छरे, बिचमा न्याउली करायो तर पनि जादुले काम गर्यो। जादुले गर्दा काफल मेरै बोटमा पाक्यो। भनिन्छ इतिहास जित्नेहरुको घोडा हो, हार्नेको गरुढ्पूराण होइन। म जिते अनि दुनियाँ हा-यो, सारा समय मेरै भयो, काला जादुले काम गर्यो। दुनियाँ साला हेरेको हेरै, लौन कति हाँस्नु बाबै हो, खुइ---य !

त्यो रमाइलो समय छोटो भयो। के गर्नु बिधि पनि अचम्मको रहेछ। जे म चाहन्छु त्यसको उल्टो हुन लाग्यो। म मेनका चाहने, नतिजा उर्वसीमा जाने, म दुर्वाषा र अष्टबक्र पूज्ने, दुनियाँ भगवान राम मान्ने। के भयो कुनी मेरो मन्त्र उल्टो हुन थाल्यो। मेरो मुठ्ठीमा हुने दुनियाँ भैमा हानेको मेरो भकुण्डो मै भन्दा अग्लो हुन लाग्यो। मैले नै हानेको भकुण्डो नियन्त्रण भन्दा बहिर गयो र अन्तमा म एक्लै परे।

दुनियाँले मेरो मुखमा गनी गनी एक-दुइ-तीन-चार भन्दै “पाँच” मुक्का हाने। एक जोडीले त दुइतिरबाट पाखुरा तानेर झण्डै च्यातेनन। मेरो कन्परा तातेर १०४ डिग्री जरो आयो। मैले पनि भए भरको शक्ति लगाएँ। तर पनि मेरो टेक्स्ट र इमेल त के कुनै पनि कुराले काम गर्न छोडे। मलाइ दुनियाँले टेर्न छाडे, सालेलाइ बर्खास्तीको पत्र काटे-बिधिले दिएन तेस्ले पनि केहि भएन।

पवित्र मन्त्रले भरिएको खादा माग्दै ओड्दै हिड्ने म अपवित्र पापी अव त सबैको घृणाको बस्तु बन्न पुंगे। सबैको बक्सिङ्ग हान्न झुण्टाइएको पोको जस्तै भएँ म, जो आउँछ प्वाङ हान्छ जान्छ।

अब म खोटो सिक्क भएँ। अनि मलाइ मेरो “म” मोहप्रति बितृष्णा पैदा हुन लाग्यो। हुन त कताकता म पनि बहादुर न परे। थोरै त्यो हाम्रो जिल्लातिरका नेता कागती बुढा जस्तो हो। मैले गर्जंदै स्वीकारे, यो “म” पात्रको म भएर झाडू खानु भन्दा बरु एउटा दारु खानु बेस ! दुइ कौडीको “म” अन्तमा एक बोतलमा बिकें, स्स्स्स्स्स्स्स्स; सबैजना चुप लाग्नुहोस। दुइ कौडी भन्दा त एक बोतल महँगो हो नि बाइ, त्यो पनि कति मुक्का खाएर पाएको बल्ल बल्ल।

“प्रतिकात्मक म”