-खानेपानी मन्त्री बिना मगर

काठमाडौंको खानेपानीको समस्या हलगर्न सरकार गम्भीर -खानेपानीमन्त्री मगर

Hollywood Khabar February 12,2019 Comments

काठमाडौं, १ फागुन।खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताउनुभएको हो।उहाँले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।” केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गर्नुभयो ।मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताउनुभयो ।कार्यक्रममा मन्त्री मगरले केयुकेएलमा कार्यरत उत्कृष्ट कर्मचारीहरु र अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।