-खानेपानी मन्त्रीको निर्देशनमा केयुकेएलले सुरु ग-यो ठाउँ ठाउँमा हात धुने व्यवस्था

खानेपानी मन्त्रीको निर्देशनमा केयुकेएलले सुरु ग-यो ठाउँ ठाउँमा हात धुने व्यवस्था

Hollywood Khabar March 21,2020 Comments

काठमाडौं।विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानीमन्त्री बिना मगरको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

मन्त्री मगरको निर्देशनमा केयुकेएलले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न सय ठाउँहरुमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले ठाउँ–ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिनुभयो ।

केयुकेएलले आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाएको हो। उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट जोगिन सहज हुने भएको छ ।

केयुकेएलको उपत्यकामा रहेका सबै शाखाहरुले आम नागरिकहरुका लागि साबुन पानीले हात धुने व्यवस्था गरेको छ । महाराजगञ्ज शाखाले पानीपोखरी, लाजिम्पाट, जमलको दरबार हाइस्कुल, विश्वज्योति हल, रत्नपार्क, वीर अस्पताल, भोटाहिटीको आकाशेपुल, सामाखुसी र गोगंबु गरी १५ ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ।

केयुकेएलको ललितपुरस्थित जावलाखेल शाखाले १५ ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको छ। शाखाले जावलाखेल चोक, लगनखेल, पाटन कृष्ण मन्दिर, कुपण्डोल, सानेपा चोक र चापागाउँ लगायतको ठाउँमा हात धुने व्यवस्था गर्न लागेको हो । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी शाखाले ठिमी चोक, लोकन्थली चोक, शंखधर चोक र गठ्ठाघर चोक गरी पाँच ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ ।

केयुकेएलको क्षेत्रपाटी शाखाका प्रमुख नृगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी चोक, बसन्तपुर दरबार स्वायरभित्र मरु गणेशस्थान, बांगे मुढा, इन्द्र चोक, इन्द्रायणी मन्दिर, कालधारा, ठहिंटी र न्युरोडको भूगोलपार्क गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागिएको छ।

त्यस्तै बानेश्वर शाखाले हिजोबाट हात धुने व्यवस्था सुरु गरिसकेको छ भने कोटेश्वर, नरेफाँट, अनामनगर, डिल्लीबजार, ज्ञानेश्वर, मध्ये बानेश्वर र सिंहदरबार दक्षिण गेट गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको शाखा प्रमुख नारायण कर्णले बताउनुभयो।त्यस्तै भक्तपुर शाखाले पनि ठाउँ ठाउँमा हात धुने व्यवस्था गर्न सुरु गरिसकेको छ।