-खानेपानी मन्त्री बिना मगरले गुहेश्वरीस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण

खानेपानी मन्त्री बिना मगरद्वारा गुहेश्वरीस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण

Hollywood Khabar October 18,2019 Comments

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ

काठमाडौँ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ ।

खानेपानी मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार स्थलगत निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै बनेको बताउनुभयो ।

उहाँले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिनुभयो ।

नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल; जोडिनेछ। बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानी मन्त्री मगरले जानकारी दिनुभयो।

बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भन्नुभयो,’पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसके पनि नुहाउनसक्ने बन्नेछ ।’ अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र ३२० किलोवाट बिजुली निकाल्ने बताइएको छ।

गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले गरिररहेको छ ।