-प्रधानमन्त्रीबाट असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदै

प्रधानमन्त्रीबाट असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदै

Hollywood Khabar September 26,2019 Comments

काठमाडौं/९/२७/१९

दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ। आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताउनुभयो ।

मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिनुभयो । नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ। मन्त्री मगरले कार्यक्रममा भन्नुभयो, सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ। नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।

मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराउनुभयो। उहाँले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ । मन्त्री मगरले थप स्पष्ट पार्दै भन्नुभयो, यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ । यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताउनुभयो। सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको स्पष्ट पार्नुभयो।

पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ। देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं। सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।

कति बने शौचालय ?

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन ग¥यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको भनाई छ ।

समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।