खानेपानी मन्त्रालयको प्रगति विवरण:५ सय ४५ वटा आयोजना सम्पन्न

0
shares

by Krishna KC (admin@gmail.com) | Updated: 18 Jul 2019

259 views
-खानेपानी मन्त्रालयको प्रगति विवरण:५ सय ४५ वटा आयोजना सम्पन्न

काठमाडौं/२ साउन/खानेपानी मन्त्रालय

खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् ।

आर्थिक वर्ष २०७५-०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भईसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिनुभयो ।

त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् ।

तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् ।

मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्त सम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिनुभयो ।