-खानेपानी मन्त्रालय र विश्व बैंकबीच छलफल

खानेपानी मन्त्रालय र विश्व बैंकबीच छलफल, खानेपानीमा लगानी गर्न आग्रह

Hollywood Khabar March 12,2019 Comments

खानेपानी मन्त्रालय/काठमाडौं

खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच आज बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ अघि बढिरहेको बताउनुभयो।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो, दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।

ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गर्नुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गर्नुभयो । तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराउनुभयो । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उहाँको आग्रह थियो ।

तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु-याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताउनुभयो । धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उहाँले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताउनुभयो । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको थियो ।