कथा लकडाउनमा न्याय !

0
shares

by Soni Sharma | Updated: 31 Mar 2020

554 views
अभिमन्यु दिपक

जय बिक्रमको मुद्धामा सर्बोच्चले अन्तिम फेसला सुनायो । शुरु अदालतले गरेको ५ बर्ष कैद बिगो बराबरको जरीवाना र दाबी बमोजिमको बिगो भराउने गरि गरेको शुरु  फैसलामा आँशिक उल्टी गरेर एक बर्ष मात्र कैद र रु ५०००००। अक्षेरुपी पाँच लाख जरीवाना र बिगोको हकमा लिए खाएको मिसील संलग्न प्रमाणबाट नदेखिदा बिगो भराउने गरि गरेको हदसम्म फैसला उल्टी हुन्छ बिगो दाबी पुग्न नसक्ने ठहर्छ । यसरी फैसला भएपछि उनी आफुलाई सम्मानित सर्बोच्च अदालतको शरणमा सुम्पिए । अदालतले उनलाई न्याय दियो दिएन त्यो त फैसला विश्लेषण कै पाटो भयो तर जय बिक्रमका लागि निर्णय भने दियो । उनी अदालतको निर्णय कार्यान्वयनका लागि अदालत त गए तर उनको भित्री आत्मा भने उनी प्रति सोह्रै आना अन्याय भएको ठहर गरिरहेको थियो । तथापि सर्बोच्चको फेसला मान्नुको विकल्प थिएन । अदालतले उनलाई कारागार पठायो कैद भुक्तानका लागि ।

कारागारमा रहेका अन्य बन्दीसंगै जयको पनि दिनचर्या वित्न थाल्यो । उनका शुभ चिन्तकहरुको ओइरो लाग्न थाल्यो कारागारमा ।अनेकन वकिलहरुको भीड लाग्थ्यो उनको रिहाई र छिटो भन्दा छिटो मुक्ति दिलाउनका लागि अनेकन परामर्श र आश्वासन त दिएर जान्थे तर ति फेरि फर्केर भेट्न जादैन थिए । सायद उनीहरु परामर्शको पनि फि चाहान्थे तर नपाएपछि उनीहरुले जयको पिछा गर्न छाडे । कारागारमा ओहोरदोहोर गर्ने वकिलहरुको त्यहि भिडमा वकिलको दुईजना वकिल पनि थिए राधा र कन्हैया । जो दुनिया सामु एक असल र उच्च व्यक्तित्वका वकिल भनेर चिनीन्थे  उनीहरु । जो वास्तवमा राम्रा वकिल थिए पनि । 

न्याय क्षेत्रसंग सम्बन्धित जो कोहिलाई थाहा थियो उनीहरुको दक्षता र क्षमताका बिषयमा । उनीहरु दुबैसंग अलगअलग क्षमता थियो राधासंग परामर्श र पब्लिक रिलेसन डेभलपमेन्टको दक्षता थियो भने बन्दीहरु उनको परामर्शले आधा न्याय पाएको महसुस गर्दथे । उनको मन साह्रै कमलो थियो कसैको दुख देख्न सक्दैनथिन्। त्यसैले कुनै बन्दीले दिदि मसंग मुद्धा लड्ने पैसा छैन भन्यो भने उनी सित्तै अझ उल्टै आफ्नै पैसा हालेर नि मुद्धा लड्दिन्थिन्। त्यस्तै कन्हैयासंग कोहि बन्दीले कुरा गर्यो र आफ्नो मुद्धाका बिषयमा सोध्यो भने या उसको वहस सुन्यो भने बन्दी आफुले मुद्धा जिते सरह ठान्थ्यो । यी दुबै वकिलको काम गराई वास्तव मै सह्राहाना गर्न लायक थियो। 

उनीहरुलाई कारागारमा देख्दा बन्दीहरु खुशी हुन्थे । राधाले त कति बन्दीहरुलाई भाई बनाएर टिका समेत लाईदिएकि थिईन् । त्यसैले उनीलाई कारागार जाँदा माईति गएझैं  लाग्थ्यो । उनलाई कारागारका बन्दीहरु दिदि भनेर बोलाउँथे अनि मलाई सर । बन्दीका कानुनी उपचारका लागि लागि परिरहेका उनीहरु कारागार पटक पटक जान्थे । तीनै बन्दीहरुबिच जय बिक्रम पनि थिए जो कुनै गल्ति नहुदा नि सिङ्गो सरकार लागेर उनलाई भ्रष्टाचार मुद्धामा फसाएको मिसील कागजहरुले प्रष्टै देखाउँथ्यो यध्यपी ती प्रमाणहरुको कुनै मुल्याङ्कन नै नगरिएको जो कोहिले अनुमान लगाउन सक्थ्यो । उनलाई कसुरदार ठहराईएको थियो । 

उनी राधाको हाँसेर बोल्ने हक्की स्वभाव र पारिवारिक रुपमा झैं दिएको परामर्शबाट साह्रै प्रभावित थिए । र कन्हैयाको कुरा गराई कन्भिन्स गर्ने तरिका र लालच बिनाको सहयोग र सेवा देख्दा मुद्धा लड्दा लाखौं रुपैंया सकेका जय प्रभावित थिए । यतिसम्म भएकि उनी अव अरु कुनै वकिलको विश्वास गर्न छाडीसकेका थिए । केवल राधा र कन्हैया भए पुग्थ्यो उनलाई ।

समय वित्दै गयो । उनलाई छुटाउनका लागि कन्हैया र राधाले अनेकौं प्रयास गरे । एक बर्ष भन्दा कम कैद तोकीएको मुद्धाका बन्दीलाई सो वापत दिनको ३०० का दरले रकम जम्मा गरि कैद लगत कट्टा गर्न पाईने नयाँ कानुनी व्यवस्था अनुसारको निवेदन दिन ठिक्क पारेको भोलीपल्टै सर्बोच्चले परिपत्र गरेर फैसलमा उल्लेख भएको हकमा मात्र मिल्ने भन्दै रोकेपछि जयको बाहिर निस्कने आशा निराशामा बदलियो । हुन त जयको दुर्भाग्य त त्यतिवेलैदेखि शुरु भएको थियो जतिखेर आफुले गर्दै नगरेको गल्तीमा मुद्धा खेप्नु पर्यो र कुनै कसुर नगर्दा पनि कसुरदार ठहरिएर आज जेल सजाय काटी रहनु परेको छ ।

समय भन्दा बलवान कोहि छैन । समयले मै हु भन्ने मान्छे मात्र होईन राष्ट्रलाई पनि झुकाउँछ आफ्ना सामु । मार्चको महिना थियो कोरोना भाईरसले संसारभर माहामारीको रुप लिदै थियो । चिसो महिनामा फैलिने त्यो रोग बिस्तारै नजाँनिदो रुपमा संसारभर माहामारी बनीरहेको थियो । यसको ओखती थिएन । यो रोगबाट आफुले आफुलाई जोगाउनुको विकल्प थिएन । सबै देशहरुमा सेल्फ आईसोलेसनमा बस्न अनुरोध हुदाहुदै हरेक देशले लकडाउन गर्दै थियो ।

कोरोनाको कहरबाट नेपाल पनि अछुतो रहेन । सरकारले भीडभाड हुने हरेक अफिसहरु बिदा गर्दै जान थाल्यो । भीडभाड हुने अड्डा अदालतहरु दुई हप्ताका लागि भित्री प्रशासन र  अत्यावश्यक काम गर्नेगरि बन्द गर्यो । बन्दीको भीड कम गर्न सहयोग पुर्याउन एक बर्ष भन्दा कम कैद तोकीएको मुद्धाका बन्दीलाई सो वापत रकम जम्मा गरि कैद लगत कट्टा गर्न पाईने नयाँ कानुनी व्यवस्था अनुसार निवेदन दिन पाईने भयो ।

कन्हैया र राधा फेरि चलमलाए कतै यहि मौकामा जय बिक्रमको उद्दार गर्न सकिन्छ कि भनेर । जताततै शुन्य थियो तर उनीहरु जयको चिन्तामा थिए । रातारात पुन: निवेदन तयार गरेर कारागर लगेर सहिछाप गराई सर्बोच्च अदालत पुगे ।त्यहा पुग्दा हाकिम हिडी सकेका कारण काम हुन पाएन । भोलीपल्ट गए । उनीहरुलाई बिशेष अदालत जान भनियो । आम नागरिकलाई कोरोनाबाट बच्नको लागि सचेत गराउनुपर्ने उच्च ओहोदाकि ति बिशेष अदालतको हाकिमले गरेको तुच्छ व्यवहार हेर्न लायक थियो । त्यो अनभिज्ञता टिठ लाग्दो थियो । न्याय दिन बसेका ठेकेदारहरुको त्यस्तो टिठ लाग्दो व्यवहार देख्दा कोरोनाले नेपालमा सबैभन्दा पहिले यीनैलाई लाने हो कि भने झै लाग्थ्यो । कन्हैयालाई तिनलाई मुखभरि बुझो लाग्नेगरि भन्न र पेटको चुर्ना मर्नेगरि झपार्न मन नलागेको होईन तर फेरि पछि उनैकोमा काम लिएर जानु पर्ने हुन सक्ने सोचले गर्दा उ आफ्नो रिसलाई मुट्ठीभित्र थुनेर आफुलाई सम्हालेर बाहिर निस्कियो । राधा त ति हाकिमको त्यो दुर्व्यवहार देख्दा रिसले मुरमरिएर पहिल्यै बाहिरिएकी थिईन्। त्यो दिन नि परिणाममुखी काम भएन । राधा र कन्हैयाको निंद बिथोलिएको थियो यो चिन्ताले खान  भोक हराएको थियो दुबैको । जीवनमा कुनै केसप्रति यति चिन्तीत थिए भने यो पहिलो केस थियो ।

सरकारले देश लकडाउनको घोषणा गर्यो । लक डाउन कडा भन्दा कडा हुदै गई रहेको थियो । यस्तो अवस्थामा पनि उनीहरु जयलाई छुटाउन नसक्दा चिन्तित थिए । कन्हैयाले पुन एक पटक प्रयास गर्ने निधो गर्यो र जिल्ला प्रशासन कार्यालयबाट  गाडीको लकडाउनमा अत्यावश्यक सवारी अनुमति मगायो । घरमा उसलाई बाहिर ननिस्कन अनुरोध गर्दा उसले परिवारलाई पनि कन्भिन्स गराएर निस्कियो निवेदन लिएर । सर्बोच्च गयो सर्बोच्चले ललितपुर जिल्ला अदालत जा भन्यो । कन्हैया ललितपुर पुग्यो ललितपुरले काठमाण्डौं जिल्ला अदालत जा भन्यो । उ काठमाण्डौं गयो काठमाण्डौं जिल्ला अदालतले बिशेष अदालत जा भन्यो । विशेष अदालत जाँदा मूल गेटमा भोटे ताल्चा लागेको देखेर गेट छेउकै मेचमा उ थचक्क बस्यो र एक्लै बर्बरायो− धन्न हाम्रो न्याय प्रणाली । के गणतन्त्रमा हामीले खोजेको न्याय प्रणाली यस्तै थियो । यस्तै न्याय दिलाउन हामी लागि परेका हौं ? न्यायालयप्रतिको वितृष्णाबाट जन्मेका भावनाहरु  एकैचोटी ओइरियो । यहि हो हामीले चाहेको न्याय प्रणाली ! अनि यहि हो हामीले दिलाउन खोजेको न्याय !