दिपक अभिमन्यू

कथा : काली

Hollywood Khabar September 03,2017 Comments

भर्खर सोह्र सत्रको उमेर थियो सागरको। कुनै महिला वा केटि मान्छेको सुगन्धमा हराउनु वा मन पराउनु उसको उमेर समूहका लागि नौलो मान्नु पर्ने अवस्था थिएन।सुगम जिल्लाको एउटा दुर्गम गाउँमा सामाजिक अभियन्ताका रुपमा काम गर्ने ब्यक्तिका रुपमा त्यो गाउँमा रहेको थियो। सोहि गाउँकी एउटी गोरी डम्म जीउडाल भएकी नामले काली‚गाउँमा तथा वरपरका गाउँका यूवाहरु समेत उसलाई देखेर घुटुघुट थुक निल्ने गर्थे। सागर त झन भर्खर सोह्र सत्रको कुखुरे वैंशले उन्मत्त‚उसले त झन थुक ननिल्ने कुरै भएन।अझ भनौं उसको रुप जिउडालको प्रशंसा चारैतिर फैलिएको थियो। उ जातले मंगोलियन भएपनि अन्य जातीकाले पनि उसलाई बुहारी बनाएर भित्र्याउन मरिहत्ते गरिरहेका थिए । भो कुरै नगरौं भनी साध्य छैन।

नामले काली भएनि उसको रुप भने औंसीको रातमा जुनको काम गर्ने खालको थियो । उसका बा आमाले दुनियाँको अँखा नलागोस भनेर उसको नाम काली राखिदिएका रे । सागर पनि त्यही कालीकै गाउँको सामाजिक अभियन्ता भएका कारण कालीसंग बारम्बार भेटघाट हुनु कुनै नौलो कुरा थिएन।काली पनि सागरसंग नजिकिन खोज्थी र उसलाई पनि उ नजिक आएको मन पर्न थालेको थियो। जे होस दुबै ईनोसेन्ट थिए‚नजानी नजानी उनीहरु एकअर्काका नजिक पुगेको पत्तै पाएनन्।उनीहरु एकअर्कालाई अगाध माया गर्न र त्यहि मायामा हराउन थाले।उनीहरु मौका पायो कि एक अर्कालाइ भेट्न पुगी हाल्थे। उनीहरुले आफ्ना सुखसन्तुष्टी दुख चोट पीडा सबै कुरा एक अर्कामा बाँड्न कुनै कन्जुस्याईं गरेनन्। समय वित्दै गयो ।उनीहरु एक अर्कामा छुट्टिन नसक्ने अवस्थामा पुगे। उनीहरुको जोडी पनि साह्रै मिल्थ्यो।उनीहरुलाई देख्नेहरुले साह्रै मिलेको जोडी  भनेर प्रशंसा गर्थे।

एक दिन अचानक सागर गाउँबाट हरायो।कालीले त्यो कुरा थाहा पाइ।सागरलाई विवीध सञ्चार माध्यमबाट सम्पर्क गर्न खोजी। तर सागरको कहि कुनै खबर पाउन सकिन।उ विक्षिप्त भई उ दिनको भोक न रातको निद‚दिनरात एकै भो उसलाई । सागरको सम्झनाले हरपल रुवायो अझ भनुं पागल जस्तै बनायो।छोरीको यो हालत बाबु अमालाई सह्य भएन।उनीहरुले सम्झाउँदै गए छोरी हेर हामीले तिम्लाई भनेका थियौ माया गर्दा बिचार पुर्याउ हामी तिम्रो खुशीको बाधक हुदैनौं। आखिर हामले भने झैं भयो हुन्देउ एउटा नराम्रो सपना सम्झेर भुलीदेउ त्यसलाई।बाबा हजुरलाई भन्न सजिलो छ‚म कुन अवस्थामा छु हजुर सोच्नै सक्नु हुन्न।संगै जिउछु मर्छु भनेर उसंग मैले जिवन बाँडेको थिए जिवनका सपनाहरु बाँडेको थिएं अनि संगसंगै एउटा मिठो सपना देखेको थिएँ। तर ती सब एउटा सिसाको घर ढले झैं ढल्यो आज।उसका बा आमाले उसलाई सम्झाउँदै गए‚ सम्झाउँदै गए पटक पटक सम्झाउँदै गए। मंगोलियन जातीमा  मामा चेला फुपुचेला बिचमा पनि बिहेबारी चल्ने परम्परा अनुसार अन्तत कालीको मामाको छोरासंग बिहे भयो।यसका लागि उसका बा आमाले धेरै पापड बेल्नु पर्यो ।

समय बित्न कुनै बेर लागेन। काली अहिले गाउँकी सामाजिक अभियन्ता भएकी थिई जहाँ पहिले सागरले सामाजिक अभियन्ता भएर काम गरेको थियो। एक दशकपछि त्यहि कालीको गाउँमा एउटा अस्पतालले स्वास्थ्य शिविर राख्यो। डाक्टरहरुको टोली लिएर डाक्टर सागर पनि त्यहि गाउँमा पुग्यो।काली गाउँभरिका मान्छेलाइ क्रमश नामदर्ता गर्दै मिलाउँदै बिषयगत डाक्टरहरुकोमा मान्छे पठाउने काममा ब्यस्त थिई।हिजोको यूवा लरक्क जुल्फी पालेको सागर र आजको गेटअपमा आकाश जमिनको फरक थियो। तर काली उस्तै थिइ हालाकि उसका दुइ बच्चा भईसकेका थिए । कालीले उसलाइ चिन्न सकिन। तर सागरले बिर्सेको थिन। डाक्टर सागरले कालीलाई सहजै चिन्यो। वास्तवमा उसकै मिठो सम्झनाका कारण उसले आफ्नो अस्पताललाई अनुरोध गरेर त्यो गाउँमा स्वास्थ्य शिविर राखेको थियो। कार्यक्रम शुरु गर्नु अघि कालीलाई सागरले बोलायो र एकान्तमा लग्यो। कालीको बिहे भएको उसलाई थाहा थिएन।हुन पनि उ अझै उस्तै अबिवाहित अवस्था कै जस्तै थिइ।कुनै परिवर्तन थिएन। उसले आफु बिना खबर उनीबाट टाढा भएको कारण देखि अहिले उनको गाउँमा स्वास्थ्य शिविर ल्याएको कारण समेत सबै एकै सासमा भन्यो।यो सब सुन्नासाथ उ छाँगाबाट खसे झैं भई र उसलालई गम्लङ्ग अङ्गालो हालेर डाँको छाडेर रोइ।उसले धेरै सम्झायो‚उ कालीकै लागी आजसम्म बिहे नगरि बसेको कुरा पनि भन्यो।तर धेरै ढिलो भइ सकेको थियो।कालीले धोतीको सप्कोले आँसु पुछ्दै भनी सागर तिम्ले मलाई धोका दियौ साँचो माया गर्छु भनेर मलाई ढाँट्यौ।मलाई घरको न घाटको बनाएर छाड्यौ। तिमी डाक्टर पढ्न जाने नै भए नि म तिम्लाई छेक्दैनथे नि तिम्रो उन्नती प्रगतीमा म कहिले बाधक हुन्नथे तर तिमले मलाई उल्टो सोच्यौ मलाई ढाट्यौ।सागर तिमी आउन धेरै ढिला गर्यौ म अर्कैकी भइसके बाध्यता थियो मेरो मैले तिम्लाई सम्पर्क गर्न धेरै प्रयास गरें तर सकिन।मसंग दुईटा विकल्प थियो मर्ने या मेरो चोखो मायाको लागी बाँच्ने।म मरेर कायर हुन चाहिन।सागर थचक्क भुईंमा बस्यो र पुर्पुरोमा हात लाएर बर्बरायो मैले आज डिग्री त पाएँ तर मेरो मुटुको ढुकढुकी गुमाएँ।म तिम्रो मायाको आड भरोसाले यो सफलता दिलाएको थियो तर अब मसंग केहि रहेन।म रित्तो भएँ।यति भन्दा भन्दै उ बेहोस भयो।काली आत्तिएर कराई डाक्टरका टोली आए र उनलाई सामान्य उपचारपछि अस्पताल पुर्याए।उसको होस आउँदा उ आइसियूमा थियो।होसमा आउँदा पनि उ मसिनो स्वरमा कालीकै नाम बर्बराइरहेको थियो–कालीऽऽऽऽऽ कालीऽऽऽऽऽऽऽ कालीऽऽऽऽऽऽऽऽऽऽ काली ऽऽऽऽऽ कालीऽऽऽऽऽऽऽऽऽ