कथाकार अभिमन्यू दिपक 

ईर्श्या: एउटा अनुत्तरित प्रश्न

Hollywood Khabar August 10,2019 Comments

हिजोआज मेरो मन एकलकाँटे भएको छ।उनी केवल मेरै मात्र हो भन्ने लाग्छ।उनका हरेक क्रियाकलापहरु मेरै लागि ईङ्गित गरेर होस भन्ने लाग्न थालेको छ।मलाई किन किन उनको हरेक कदमहरु मेरो ईशारामा चलोस।मेरो छायाँ बनेर हरपल मेरै वरिपरि घुमिरहुन उनी।मेरो आँखाको हरेक दृष्टिमा उनलाई नै पाउँ।मेरो अधरबाट निस्कने अट्टहास होस या मधुर मुस्कान त्यसमा उनको अधरको मिठो स्पर्शको आभाष होस। म अचेल यस्तै यस्तै कुराले पिरोलीन थालेको छु अझ भनौं ईर्श्यालु हुन थालेको छ मन साह्रै।हुन त मैले त्यस्तो सोच्नु भनेको उनको नितान्त निजी एवं सार्वजनिक जीवनमा हस्तक्षेप गर्नु हो । यतिका कुरा थाहा हुदाहुदै पनि यो मन बुझ पचाउन खोज्छ।

मलाई ईर्ष्या लाग्छ, जब उनका पाइलाहरु सर्छन्, उनका अगाडि फूलहरु आफैँ फुलिदिन्छन् अनि काडाँहरु मेरा पाइला अघि तेर्सिन्छन्। फूलको बास्ना भएर उनी र काडाँहरुमा रगताम्मे भएर म हिँड्दछु।उनलाई भेटेदेखि नै म उनको ईर्ष्या गर्ने भाछु। किनकि उनको र मेरो सायद धेरै परिवेशहरु उस्तै भएर होला सायद,सोच्छु किन हाम्रा नियतिहरु फरक छन्? उनी अनि म दुबै असन्तुष्ट अनि अतृप्त । उनी पनि आशै आशामा बाँचेकी छिन् र म पनि । त्यसैले हाम्रा परिवेशहरु अलग अलग हुदा पनि नियतिहरु एकाकार हुन पुगे कि ?

उनको र मेरो सक्षमता र योग्यता उस्तै उस्तै होला, लेखाजोखा गर्ने हो भने मात्रामा केहि तलमाथि होला । तथापि लाग्छ हरेक पटक मैले मेरो सक्षमता र योग्यताको परीक्षा दिनुपर्छ तर उनी परीक्षा नदिएरै सँधै ‘उत्तीर्ण’हुन्छिन मेरो सामु। कहिलेकहि सोच्छु उनका अगाडि अवसरहरुका चाङ लाग्छन् र मेरा अगाडि समस्याहरुका ताँती । हो, मलाई ईर्ष्या लाग्छ । अवसरहरु उनलाई र समस्याहरु मलाई !म समस्याका इटाँहरुको पर्खाल बनाउँछु । अरुले नदेखून् भनि मेरो कमजोरीहरुलाई त्यही पर्खालभित्र लुकाउँछु । विकल्प पनि त केही छैन मसँग।उनी लाडे पल्टिदै खुट्टा बजार्दै हरेक कुरा पाउँछिन्।त्यसैलाई पाउन म युद्धमा होमिनुपर्छ,जीतहार जे पनि हुन सक्छ । हुनत ‘हार’ र निराशा  भन्ने मेरो शब्दकोषमा कहिले थिएन हुदैन र हुने छैन। उनले बुनेका धेरै मध्ये केहि सपनालाई त कम्तीमा विपनामा चुम्न पाए हुन्थ्यो भन्ने लाग्छ । 

त्यसैले मलाई ईर्ष्या लाग्छ, तर मैले डाहा गरेको हैन र डाहा गर्नु पनि छैन मलाई।जसलाई म यति धेरै खुशी ओईराइरहेछु सेती मादी र मर्स्याङ्गदीको कञ्चन जलसरि उनी अनि म, उनको किन डाहा गरुँ?तथापि यो मन उनकै छायाँ बनेर रहन चाहान्छ।कहिलेकहि दिनभरि बादलभित्र हराईदिदा छायाँ हुन नपाउँदाको पीडा हो त्यो ईर्श्या। तर उनको उन्नतिप्रगति देखेर म कहिल्यै डाहा गर्दिनँ ढुक्क भए हुन्छ।सायद यो तन अनि मनमा उनकै नाम कुदिँएर आएको थियो सायद त्यसैले ती सबै उनका भए।तैपनि दैवसंग एउटै गुनासो रह्यो मेरो र उनको गन्तव्य एउटै,सक्षमता र योग्यता उस्तै हुँदा पनि उनलाई सँधै सीधा र मलाई सँधै घुमाउरो बाटो पर्छ।

हुन त भनिन्छ डाह गर्नेहरु त कातँर हुन्।माफ गर म त्यो विधामा पर्दिनँ।अरुको खुसी देख्न नसक्ने, अरुको प्रगतिले चिन्ता र पीडा हुन थाल्नेहरु पो डाह गर्छन् तर म त्यो वर्गमा पर्दिन। आफूसँग भएको चीज गुमाउने डर हुँदा पनि मान्छेहरु डाह गर्छन तर म आफूसंग भएको सबै उनलाई खन्याउन तयार भएको मान्छे हुँ । म त उनको प्रगतिहरुमा खुसी हुने मान्छे हुँ। बेखुशी त आफैदेखि पो थिए पहिलेपहिले।मसँग गुमाउनलाई त्यस्तो केही पनि छैन।म कातँर भएको भए सायदै यो युद्धभुमि छाडेर उहिल्यै भागिसक्थेँ। र हामीहरुको भेट पनि हुन्नथ्यो ।

म त आफ्नै जीवनसंग लडिरहेको योद्धा हुँ।सँधै डटिरहन्छु र लडिरहन्छु हामीले देखेका र बुनेका जीवनका सपनाहरु साकार पार्न।अरुको जस्तो कदापि होइन मेरो सपना। नितान्त म जस्तै छन् मेरा सपनाहरु। त्यसैले म उनको ईर्श्या गर्ने मान्छे होईन । उनको खुशी र सन्तुष्टिहरुसंग जोडिएका हुन्छन् मेरा ती ईर्श्याहरु । थाहा छैन मैले सकारात्मक रुपमा उनको ईर्श्या गर्ने अधिकार छ कि छैन म आफै सदा अनुत्तरित छु। ईर्श्या मैले जवाफ नपाएको एउटा प्रश्न मेरो जीवनको।