काल- कर्म

0
shares

by Krishna KC | Updated: 01 Apr 2020

702 views
-Tirtharaj Adhikari

तीर्थराज अधिकारी/गोरखा, लप्सीबोट/४/१/२०

उखेल्छ बाघको नड्०ग्रा, मत्ताको मद गाल्दछ

उतार्छ गोहीको दाह्रा, साँढेको सिड० भाँच्दछ

देख्दा अजिबकै होलान् काया ह्वोल, अजिड०गर

कालका बलका सामु ,छैनन् कोही भयड्०कर ।

चरा सगरमा उक्ली, दूर जाऊन् जतातिर

माछा सागरमा डुब्दै, गरून् फुर्फुर फुर्फुर

पुगून् मंगलमा वा क्वै कुदून् जंगल - जंगल

सबैको बल खोसेर कालले पार्छ दुर्बल ।

हुरी, आँधी , महामारी, सुनामी जति आउँछन्

हाँसेका ओठमा आँसु , आँखाबाट खसाउँछन्

फुट्दा ज्वाला स्वयंभित्र शैल भासिन्छ गर्तमा

अड्न सक्ने कुनै छैनन् रण चर्को प्रकम्पमा ।

ढुंगामा मात्र पर्दैन, वज्रको क्रूर चड्कन

वडवानलले बाँकी राख्दैन मृदुजीवन

दयामाया कहाँ राखी गति चाल्छ र छालले ?

वयको ख्याल गर्दैन, बिन्ती सुन्दैन कालले ।

सुनको लोभमा फस्दै, दौडे राम अरण्यमा

बर्सिए वाण व्याधाका, कृष्णका दिव्यप्राणमा

जूनमा ,घाममा छाया पर्छ ग्रहणको कडा

कालका दृष्टिमा छैनन् , कतै कोही महाबडा ।

आजका हरिया पात , झर्छन् भोलि कठाड्०ग्रिँदै

शैलका हिमका ढिक्का , पग्ली खस्छन् मडारिँदै

फाँटले मोह राखेर काखमा कुन बस्छ र ?

पाकेका अन्नका दाना ,पुग्छन् किसानका घर ।

पक्षको पथले गाल्दै ,जून पस्दा कुनै कुना

बढ्ला ताराहरूभित्र भेटको अझ तिर्सना

कुनै तारा कतै झर्दा रोलान् बाँकी सबै मिली

झर्दा अन्तिमको तारा, रोला को दर्दले जली ?

रस, शब्द कता जान्छन्, गन्ध, स्पर्श हराउँछन्

डेरा सर्दा कतै प्राण, रूप जम्मै बिलाउँछन्

जन्मकै ऋण हो मृत्यु - सबैले तिर्नुपर्दछ

आएको शून्यबाटै हो, शून्यमै मिल्नुपर्दछ।