-Rita Sanjel

जिन्दगी

Hollywood Khabar November 08,2019 Comments

रीता सञ्जेल/ललितपुर/११/९/१९

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

शृष्टिको चक्र चलाउन जन्म दियो।

जन्मदै कारण नै नबुझाइ

कोलालिएर रुन सिकायो।

कुरै नबुझी अरुको मुहारका

मुस्कान हेरेर मुस्काउन सिकायो।

परिवार के हो थाहै नदिइ

पारिवारिक सञ्जालमा जोड्यो।

साथी संगी सामाजिक भूमिका

कस्तो हुन्छ जान्न नपाउदै

भूमिका निर्वाह गर्न लगायो।

पढाई लेखाइ व्यक्तिगत काम व्यवहार

सामाजिक अनि पारिवारिक भूमिका

किन अनि कसरी गर्ने भन्दै नभनी

एकपछी अर्को जिम्मेवारी जोड्दै थप्दै गयो।

काँधहरु बलिया बन्न नपाउदै कलिलैमा

जिम्मेवारीका गह्रौं भारी जबर्जस्ती बोकायो।

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

उमेरसङगैको शारीरिक मानसिक परिवर्तन

के हो बुझ्न नपाउदै झेलाइमा पार्यो।

आकर्षण केहो ? माया प्रेमका भाव के हुन

थाहै नपाइ पलभरका नजरहरुमा अल्झायो।

हास्ने खेल्ने मन खोलेर रमाउने समयमा

कर्तव्यका पाठ पढाउदै

संस्कारी र जिम्मेवारी बन्न सिकायो।

सम्बन्ध कसरी गासिन्छ अनि किन निभाइन्छ

भन्ने अवगतै नगराइ जन्मेदेखि नै

एकपछी अर्को साम्बन्धिक जालोमा उन्यो।

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

जिन्दगिका उकाली ओरालिमा भेटिने

चट्टान कसरी फोर्ने

चट्टानरुपि अग्लिएका

सम्बन्धका पहाडीला यात्रामा

चित्त बुझाइलो यात्रा कसरी पार गर्ने?

कसरी पगाल्ने आफू र अरुलाई

जोड्जाम र फेरबदलको प्रक्रिया

जानकारी नै नगराइ

कठिन अनि काठोर यात्रामा धकेल्यो।

कोमल ओइलि हाल्ने फुल जस्तै

जता पनि बगिदिने कुलो जस्तै

जता पनि फैलिनु पर्ने हावा जस्तै

यो जिन्दगीमा मौसम सङ्गै

फेरी फेरी नयाँ कोपिलाले सजिनु पर्ने।

सबैतिरका व्यबहारिक सुख्खापन

ओसिल्याउन आफैं खडेरीनु पर्ने।

कहिले सबैको चिसिएका मन तताउन

आफैं कठ्याङगृएर पनि न्यानोपन छर्नुपर्ने।

आफैं रगत पसिना र आसु भइ वर्षिनु पर्ने

जिन्दगीले एकपछि अर्को परिस्थितिमा

उसैले मनचाहे जसरी डोर्‍याउदै लग्यो।

भन्दै गयो यो तेरो जिन्दगी हो

चुनौती मान्ने या अवसर मान्ने हो?

जिउने तरिका तेरो आफ्नो कस्तो ?

त्यसपछि लाग्यो

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

पिडा हुदा चोट अनि

अनेकौं पल्ट ठेस लाग्दा

मनका घाउहरु बढ्दै एकपछि अर्को

बज्रपात थपिदै जादा

उठ्न,घाउ निको पार्न,मनकै भए नि

मलम लगाउन नभ्याउदै

चोटमाथि चोट थपेर

मानवीय चोला जिउनै पर्छ भन्दै

फाटेको मन फाटेकै मनले

टालटुल पारी सिउन सिकायो।

पलभरका खुशी समेटेर

जिन्दगीभर मुस्कुराउन खोज्दै गर्दा

हो, जुनै अवस्थामा

मुस्कानका साथ जिउन सक्नुपर्छ

सोच्दै गर्दा

केही जान्न नपाउदै

जिन्दगी सकिन लाग्यो भनेर

अन्त्य अन्त्यमा

जिन्दगीले सचेत हुन सिकायो।

जिन्दगिले समय अगावै

जन्मन

जिउन

पलपल हर भोगाइ भोग्न सिकायो भनेर

अब कस्तो प्रतिक्रिया जनाउँ?

सोच्दा सोच्दै जिन्दगिले

जीवन सकिएको उदघोष गर्न लाग्यो।

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

सबै अनुभूति साटौँ सबै जिन्दगीसङ्ग भनेर

मक्किएका मनहरुले कच्चा मनहरु भेट्ने

योजना बुन्न भ्याउदा नभ्याउदै

जिन्दगीले जिन्दगीलाई नै उदघोष गर्न लाग्यो।

सबै मनका कुरा मनैमा पोको पारेर

भन्न लाग्यो धर्ती छाड्न तयार हो।

सामान्य मानव जीवन सबैको यस्तै हो।

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?

आसु पुछ्दै संघर्ष सम्झदै

खुशी सम्झदै मुस्कान लहर छुटाउदै गर्दा

चाउरिएका छाला

हलचल गर्न नमान्ने अटेरी हड्डी

दुनियाँ भोगेको अनुभवी जिन्दगी

सबै हासी हासी स्वीकार्छ जिन्दगी।

धन्य! सधैं समय अगावै

जिन्दगीले सबै सिकाउदै गर्दा

मृत्युले नि सुन्दर आँखीझ्यालबाट

चिहाएर आफ्नो स्वरुप देखयो।

जति रमाइलो जिन्दगी रहेछ नि

सायद! सायद!

त्यति नै रमाइलो मृत्यु हुने लाग्यो।

जिन्दगीले समय अगावै धेरै सिकायो

भनेर कस्तो प्रतिक्रिया जनाउँ भयो?