https://www.youtube.com/embed/vHmOt1ehKO4

जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना

खानेपानी मन्त्रालयको पहलमा यसरी बन्नेछ जनकपुरधाम (भिडियो सहित)

Hollywood Khabar November 27,2018 Comments

काठमाडौं/प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ। धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो ।

जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्नका लागि जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग सह लगानी खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय र जनकपुरधाम उपमहानगरपालिका बीच भएको सम्झौता अनुसार अबको दुई वर्षपछि जनकपुरको स्वरुप बदलिन लागेको हो ।

उक्त आयोजना अन्तर्गत ३१ वटा पोखरीहरुको सरसफाई र सम्बद्र्धन गर्ने, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाई तथा सम्बद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुर धाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ । यी कार्यहरु अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षदेखि नै काम सुरु गर्ने योजनाका साथ जनकपुरधाममा कार्य अघि बढाउने तयारी भईरहेको छ । यस आयोजनाको कामबाट डेढ लाख जनसंख्या लाभान्वित हुनेछन् । आयोजनाको अनुमानित लागत भ्याट बाहेक १ अर्ब २ करोड ८० लाख रहेको छ । आयोजना सम्पन्न भईसकेपछि त्यसको सञ्चालन, मर्मत सम्भार आदि कार्यको लागि जनकपुरधाम उपमहानगरपालिकालाई आयोजना हस्तान्तरण गर्ने समझदारी भएको छ ।

सम्झौतामा सह लगानी खानेपानी तथा सरसफाई आयोजना, आयोजना व्यवस्थापन कार्यालय काठमाडौंको तर्फबाट आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुरधाम उप–महानगरपालिकाको तर्फबाट मेयर लालकिशोर शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौतामा साक्षीहरुको तर्फबाट जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगाना, वडा नम्बर २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास, खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ र आयोजनाका तर्फबाट इन्जिनियर सुधिर कुमार साहले हस्ताक्षर गरे ।