Jamuna Gurung, Profile picture by Krishna KC October 2017 at Laprak

NRNA: जमुना गुरुङ हक्की स्वभावकी बाजिगर

Hollywood Khabar April 03,2018 Comments

सोनी शर्मा
जमुना गुरुङ गैरआवासीय नेपाली र नेपालका नेपालीहरुबीच अपरिचित नाम होइन। हुन त उहाँसंग मेरो लामो चिनजान छैन। म गैरआवासीय नेपाली परिन अर्को कुरा त्यो स्तरको व्यक्ति पनि म होइन। गुरुङसंग मेरो पहिलो भेट होटल र्याडिसनमा भएको थियो। एनआरएनएको चुनावले नेपालीहरुको विश्वसंजाल नै तातेको बेला चुनावी गर्मागर्मिका बीच मैले उहालाई पहिलो पटक भेट्ने अवसर पाएकी थिएँ।
एनआरएनको आठौँ विश्व सम्मेलन एवं अधिबेसनको चुनावी मैदानमा उहाँले आफुलाई पहिलो पटक अध्यक्षको बलियो दावेदारका रुपमा प्रस्तुत गर्नुभएको थियो। तेतिबेला देखि नै उहाँको हक्की स्वभावले मेरो मन छोएको थियो। चुनावी मैदानमा उहाँका एजेन्डा राम्रा एनआरएनका हितमा थिए तर उहाँको बोलीमा बनावटी चिप्लोपना पटक्कै थिएन। सहि कुराको तारिफ र गलत कुरा ठाउँको-ठाउँ टुंगोमा पुर्याउने उहाँको खरो तर सफा स्वभाव रहेछ।
चार बर्ष एनआरएनएका अध्यक्ष डा शेष घले संगसंगै हातेमालो गर्दा एनआरएनएको बारेमा गुरुङलाइ सबै कुराको जानकारी र अनुभवले संघको काममा पनि खरो रुपमा मैदानमा उत्रन र नेतृत्व सम्हाल्न आत्मविश्वास बलियो भएको थियो। तर गैर आवासीय नेपाली संघ बाहिर भने उहाँ आफैंमा सक्षम अनि सफल ब्यबसायी हुनुहुन्छ।
एनआरएनएले गरेका हरेक क्रियाकलापमा गुरुङले साथ दिंदै आएको जानकारी मलाइ जस्तै सबैलाई थियो। नेपाली माटोमा दुर्गम ठाउँमा जन्मेकी नेपाली महिला बिदेशी भूमिमा हजारौलाइ नियम र परिधिभित्र बसाएर रोगगारी दिनुभएकी गुरुङ लाखौँ एनआरएनको नेतृत्व सम्हाल्न चुनावी मैदानमा उभिएको देख्दा म निक्कै खुशी र उत्साही थिएँ। त्यो समय म न्यूज रिपोर्टिङ्का लागि उपस्थित भएकी थिए। तर कता कता आफूलाई त्यो भन्दा पनि फरक कुराहरु मनमा कुदीरहेको अनुभव थियो।
प्रतिस्पर्धीको सामु गुरुङ्गको मिशन, भिजन र आत्मविश्वास कतै डगमगाएको थिएन। तर विडम्बना व्यवसायमा जमेर विश्वसामु ख्याति कमाएकी अष्ट्रेलियाको आठौं धनी महिलाको सुचिमा सुचिकृत र हज्जारौंलाई शिक्षा, शिप, रोजगार दिन सफल नेपाली मुलकी जमुना गुरुङ केवल डा शेष घलेकी श्रीमतीका रुपमा हेरे तत्कालिन डेलिगेटहरुले। परिणाम नजितामा उहाँ सफल हुन पाउनुभएन।
श्रीमान श्रीमती हुनु अलग कुरा हुन्। जमुना गुरुङको क्षमता आत्मविश्वास नाता सम्बन्धले तिखारिएको होइन तर विडम्बना जमुना गुरुङलाइ हराउन श्रीमती शेष घलेको नाता दिएर प्रचार गर्नु भने सोह्रैआना गलत थियो। परिणाम जे सुकै भएता पनि उहाँको आवश्यक्ता र निरन्तरता देखेकाहरुले उहाँलाई बुझे र गुरुङ पनि नेपाल आउनुभयो। मलाइ उँहासंग भेटहुने दोश्रो अवसर जुट्यो।
गुरुङले एनआरएनएको निर्माणाधीन भवन देखि लाप्राकमा हुँदै गरेको नमुना बस्ति सम्म पुग्दा उहाँलाई अलिकति नजिकबाट बुझ्ने मौका मिल्यो। गुरुङमा गत निर्वाचनको नतिजाबारे पटक्कै असर थिएन। केवल काममा मात्र ध्यान थियो। ती हरेक अवलोकनमा चासो, सोधिखोजिले संस्थाप्रतिको मायाँ र कर्तब्य प्रस्ट थियो।
भवनमा पुर्वनिर्धारित नक्सा डिजाइन अनुसार भयो कि भएन? किन फेरबदल हुदैछ ? सबै एनआरएनहरुको सहयोगलाइ खेर फाल्नु हुदैन। यो ब्यापारिक भवन होइन एनआरएनको पहिचान बोकेको धरोहरलाइ गुणस्तरिय र उदाहरणीय बनाउनु पर्छ। सामग्री हिनामिना हुन नदेउ, भर्याङ्ग भत्काउनुको कारण के हो ? आफूखुसि परिबर्तन नगर, दातालाई चित्त बुझ्ने काम गर्नुपर्छ भन्ने जस्ता उहाँका थुप्रै कुराले मेरो मन छोयो। मैले उहाँमा एनआरएनए प्रतिको मायाँ झल्किरहेको प्रस्ट देख्ने अवसर पाएँ।
आफू एनआरएन नभए पनि मेरो सोझो बुझाइमा गुरुङलाइ चुनावमा हराएर एनआरएनहरुले अतुलनिय गल्ति गरेकै हुन् भन्ने लाग्यो।
लाप्राकीहरुसंग उहाँहरुको ठूलो माया छ भन्ने त सुनेकी थिए। तर यो पटक भने आफ्नै आँखाले देखियो। हुन त मायाँ देख्ने भन्दा पनि फील गर्ने र नतिजाले देखाउने कुरा हो। तिनै लाप्राकिको अवस्था बुझ्न गुरुङ लाप्राक पुग्दा त्यहाँ जे देख्ने अवसर मिल्यो त्यो कुनै बनावटी दृश्य थिएन। गुरुङ लाप्राक आउने थाहा पाएर उपस्थित भएका महिला दिदीबहिनीहरुले अंकमाल गर्दै आमाको काखमा छोराछोरी लुटुपुटु भए जस्तै गरेको दृश्यले लाप्राकीको मनमा जमुनाको स्थान प्रस्ट झल्केको थियो।
भौगोलिक रुपमा बिकट एवं समुन्द्र सतह देखि २८ सय मिटर उचाइमा एनआरएनएद्वारा भुकम्प पीडितका लागि निर्माणाधीन ६ सय १५ घरधुरी रहेको नमुना बस्ति देखाउंदै गुरुङले लाप्राकको माटो मात्र होइन मौसमसंग जुधेर चुनौतीपूर्ण तरिकाले निर्माण सम्पन्न गर्नुपर्छ भन्दै हिउदको हिउँ र बर्खे झरी छल्दै काम गर्नुपर्छ भन्दा गुरुङको लाप्राकी माटोसंगको साइनो कति गहिरो छ भन्ने झल्कन्थ्यो।
उहाँले बस्ति निर्माण कार्यमा खटिएका प्राविधिक तथा एनआरएनएका सीइओ डा हेमन्त दवाडी, प्राविधिक तथा निर्माण कार्यमा खटिएका सहभागीलाई भूकम्पको चोट सहेका लाप्राकीलाइ गुणस्तरीय नमुना बस्तीमा हासिखुसी बाँच्न पाउनुपर्छ भन्नुभयो। यसबाट गुरुङ हरेको गतिबिधिमा सामेल भएको प्रष्ट जवाफ आउंथ्यो। शुरुमा नमुना बस्तीको डिजाइन र प्रयोग हुने सामग्री नेपाल सरकारको मान्यता अनुसार प्राविधिक परिक्षण गरि नमुना बस्ति निर्माण थालिएको भन्दै पहिलाकै डिजाइनमा निर्माण गर्नुपर्छ नत्र फेरी भुकम्पकै कारण कुनै प्रकारको क्षति बेहोर्न नपरोस् भन्ने अभिव्यक्तिले सबैको मन छोएको थियो।
लाप्राक बस्तीमा महिनौ बसेर सेवा गर्नुभएकी गुरुङ लाप्राकमा खटिंदा जति काम भएको थियो तर विडम्बना अहिलेसम्म त्यो काम अगाडी बढ्न सकेको रहेनछ। त्यो देख्दा गुरुङ निक्कै भावुक हुनुभयो। जति मायाँ आफुले जन्माएको छोराछोरीको लाग्छ त्यतिकै मायाँ गुरुङलाइ लाप्राक नमुना बस्तीको रहेछ।
गुरुङले लाप्राक बस्ति निर्माणमा कुनै कसर बाँकी नराखी  आफ्नै घर सम्झदै गुणस्तरीय निर्माण गर्नुपर्ने भन्दै निर्माण शैली फेर्दा बढी जोखिम र समयपनि धेरै खर्च हुने भएकाले पहिलेकै गुणस्तरमा बस्ति बनाउँदा आर्थिक अभाव भएमा आफुले सहयोग गर्न तयार रहनु भएको कुरा गुरुङले बताउँदै हुनुहुन्थ्यो। त्यसका लागि आफू नेतृत्वमा नरहेपनि कर्तब्य नभुल्ने गुरुङको स्पस्ट बिचार थियो।
नेपाली भूमिमा एनआरएनले गरेका कामले संस्थाको गरिमा बढाउने काम गर्नुपर्छ भन्दै एनआरएनए भित्रको कमि कमजोरी औल्याउदै संस्थालाइ पारदर्शी र सफा बनाउन राम्रा कुराको तारिफ र नराम्रा कुरा ठाउँको ठाउँ भनिदिने गुरुङ्को स्वभाव व्यक्तिलाई तितो लाग्ला तर संस्थाको भने सदैव हितमा रहने छ भने मेरो बुझाइ रह्यो।
उसो त मैले धेरै चिप्ला कुरा गर्ने मानिसहरु देखेकी छु। तर संघको छवि धमिल्याउनेहरुलाई समेत गल्ति सच्याउने मौका दिने गुरुङको हक्की स्वभाव सहितको नेतृत्वको पछिल्लो समयमा एनआरएनएमा अभाव खड्किएको महसुस मैले मात्र होइन धेरैले गरेको देखे।
एनआरएनएको निर्माधीन भवनमा धेरै कुरा पहिला पासगरि शुरु गरिएका भन्दा फरक बाटोबाट शुरु भएका रहेछन्। ति फरक बाटोले एनआरएनएको गरिमामा आँच आउछ भन्दै आफूखुशी नगरी लाखौँ एनआरएनएको भावना अनुरुप भवनलाई नमुना बनाउनुपर्छ भन्ने गुरुङ्को बिचार सुन्दा गुरुङको नेतृत्व स्वीकार नगर्ने एनआरएनहरु पछुताउने दिनको शुरुवात हुनेछ भन्ने मेरो बुझाइ रह्यो।
चुनाव जितेर नेतृत्वमा पुगेकाहरुले नारा अनुसार काम गरे कि गरेनन्? पदको लागि प्रतिस्पर्धा भयो कि एनआरएनहरुको हितको लागि ? अव बिस्तारै अध्यारो हट्ने छ र वास्तविकता सबैको सामु छर्लंग हुनेछ, जितेर हार्यो कि हारेर जित्यो।