भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने

0
shares

by editor (editor@gmail.com) | Updated: 16 Jul 2019

66 views
तस्बिर वेब

१ साउन काठमाडौं।नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता गरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ।नेपाली सिमा नाकासम्म ढुवानी गर्ने व्यावसायीबाट भन्सार बिन्दुमै भ्याट असुल हुने गरेको छ।देशभित्र पनि ढुवानी गर्ने भारतीय ढुवानीकर्ताले भने भ्याट तिर्नुपर्ने आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए।

२० लाख रुपैयाँभन्दा बढी वार्षिक भुक्तानी लिने भारतीय ढुवानीकर्तालाई पनि भ्याटको दायरामा ल्याइनेछ।नेपालमा औद्योगिक कच्चा वस्तु, खाना पकाउने ग्यास तथा विभिन्न व्यापारिक कारोबारका मालवस्तु भारतीय ढुवानीकर्ताले देशका विभिन्न भागमा ढुवानी गर्दै आएका छन् ।

भारतबाट ग्यास आपूर्ति गर्ने बुलेटले मात्रै ढुवानीबापत वार्षिक तीन अर्ब रुपैयाँ आम्दानी गर्छन्।एउटा ग्यास बोटलिङ प्लान्टले मात्रै वर्षमा कम्तीमा पाँच करोड रुपैयाँ ढुवानीबापत खर्च गर्दै आएका छन्।त्यसमध्ये नेपाली भूभागमा मात्र ढुवानीको हिसाब गर्दा एकदेखि डेढ करोड रुपैयाँ ग्यास ढुवानी गर्ने बुलेटले प्राप्त गर्छन्।यस्तै औद्योगिक कच्चा वस्तु, व्यापारिक प्रयोजनका तयारी कार्गोसमेत भारतीय ट्रक, लरीमार्फत देशका विभिन्न भागमा ढुवानी हुँदै आएको छ ।अधिकांश ढुवानीकर्ताले नेपालबाट वार्षिकरूपमा भ्याटको थ्रेसहोल्ड (कम्तीमा २० लाख रुपैयाँ) भन्दा बढी आम्दानी गर्छन् ।

भारतीय ढुवानीकर्तालाई भ्याट तिराउन सरकारले स्वदेशी ढुवानी कम्पनीलाई जस्तै नियम आकर्षित हुने बताएको छ।यसका लागि विभागले सार्वजनिक सूचना जारी गरिसकेको छ।नेपालमा नियमित ढुवानीको काम गरिरहेका भारतीय कम्पनी अहिलेसम्म नेपालमा दर्ता हुन आएका छैनन्।यद्यपि, सरकारले भने भारतीय ढुवानी कम्पनीलाई पनि साउन १ देखि नै भ्याट तिराउने बताएको छ।ढुवानीमा भ्याटसम्बन्धी व्यवस्थाले ढुवानी भाडा अझै वृद्धि हुने भन्दै ढुवानी व्यवसायीले यसको विरोध गर्दै आएको छन् ।नेपालमा ढुवानी लागत दक्षिण एसियामै उच्च मानिन्छ।ढुवानी व्यवसायीको मागका सम्बन्धमा अध्ययन गर्न सरकारले कार्यदल पनि गठन गरेको छ।यसमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक संयोजक,अर्थ मन्त्रालय,आन्तरिक राजस्व विभाग, नेपाल ट्रक तथा यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधि सहभागी छन् ।