तीनघरे मगरटोलमा सञ्चालित होमस्टेमा मगर कल्चर प्रस्तुत गरिँदै

ठोरीमा घरवास कार्यक्रम-होमस्टे फस्टाउँदै

Hollywood Khabar January 19,2019 Comments

प्रेम लामा/पर्सा/ठोरी

प्रदेश-२ को पश्चिमी सीमानामा रहेको पर्साको ठोरी गाउँपालिकामा घरबास कार्यक्रम (होमस्टे) तर्फ स्थानीयहरु आकर्षित हुँदै गएका छन्। यसवर्ष ठोरी गाउँपालिका-१ तीनघरेमा मगर समुदायले १३ घरमा होमस्टे सञ्चालनमा ल्याएको छ। तारा गाउँ विकास समिति काठमाण्डौले तीनघरेको मगरबस्तीमा होमस्टे स्थापनाका लागि सहयोग गरे संगै ठोरी गाउँपालिकामा होमस्टेको संख्या थपिएको हो ।

जातिय भेषभूषा, भाषा, कला र सांस्कृतिको धनीको रुपमा मानिने मगर समुदायले सञ्चालन गरेको होमस्टेमा बास बस्न आउने पर्यटकलाई मगर कल्चर झल्कने मारुनी, सोरठी लगायतको गीत तथा नृत्यले मनोरञ्न प्रदान गर्ने गरेको होमस्टेका अध्यक्ष चेतबहादुर थापाले बताए । थापाले भने, ‘होमस्टे मार्फत स्थानीयको आय आर्जनमा समेत वृद्धि भएको छ । धर्म, संस्कृति, भाषा, भेषभूषा र पर्यापर्यटनको विकासमा पनि टेवा पुगेको छ । 

भान्सामा स्थानीय उत्पादनका परिकार पाक्ने भएकाले आन्तरिक पर्यटकहरु आकर्षित हुने गरेको उनले बताए । स्थानीयले पालेको कुखुरा, हाँस लगायत खेतवारीमा उत्पादन भएका तरकारी लागायतका अन्य खाद्यन्न समेत विक्री भइरहेको छ । ग्रामीण पर्यटन विकासको उच्च सम्भावना बोकेको मगरटोलमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालन गरिएको उनले बताए । गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरिएको थापाले बताए ।

गाउँमा होमस्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आगमनले गाउँमा चहलपहल बढेको थापाले बताए । स्थानीय सुशिला थापाका अनुसार होमस्टेमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । होमस्टे व्यावसायबाट आर्थिक उपार्जनसमेत भएको छ । ‘गाउँमा होमस्टे चलाएसँगै स्थानीयको आर्थिकस्तर उकासिन थालेको छ, होमस्टे सञ्चालकसमेत रहेकी थापाले भनिन्, गाउँमा नयाँ ठाउँका नयाँ मानिसहरु आउँदा रमाइलो लाग्छ, उहाँहरुबाट विभिन्न ज्ञान, सीप सिक्ने अवसर पाइन्छ । होमस्टेमा बस्नका लागि वीरगंज, चितवन, बारा, काठमाण्डाै लगायतका शहरबाट मानिसहरु दिनहुँ आउने गरेका छन् ।
मगर जातिको मात्रै बसोबास रहेको तीनघरे मगरटोलमा होमस्टे सञ्चालन गर्ने सबै मगर समुदायका मानिसहरु छन् ।  जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष ठाकुर न्याैपाने भन्छन्, 'स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे सञ्चालनमा ल्याइएको पाइयो । ठोरीमा स्तरीय होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा आउन सकिरहेको छैन । पर्यटन भित्र्याउने एक मात्र माध्यम होमस्टे बनेको छ । त्यसैले होमस्टेलाई थप व्यवस्थित पार्नका लागि स्थानीय तहले ध्यान पुर्याउनु जरुरी छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य रहेको ठोरीमा होमस्टे अन्य क्षेत्रमा समेत विस्तार गरिने गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले बताए। पर्सा र चितवन राष्ट्रिय निकुञ्जको काखमा फैलिएको ठोरी क्षेत्रमा घुम्न आउने पर्यटकहरुले संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु, हात्ती, जरायो, चित्तल, बिभिन्न प्रजातिका चरा चुरुंगीको अवलोकन गर्न सक्ने भएकाले पर्यटक आएर बासबस्नका लागि घरबास सेवा प्रभावकारी देखिएकाले अन्य क्षेत्रमा पनि विस्तार गरिने उनले बताए ।
ठोरी गाउँपालिका-५ सुवर्रणपुरमा विगत केही बर्षदेखि तामाङ समुदायको बाहुल्य रहेको बस्तीमा होमस्टे सञ्चालनमा छन् । सुवर्णपुरमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई तामाङ सेलो तथा स्थानीय स्तरमा चलेका भाकामा भेषभूषा तथा पहिरनमा प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिइन्छ। सुवर्रणपुरमा रहेका होमस्टेलाई थप व्यवस्थित बनाउने कार्य भइरहेको छ । प्रचार प्रसारदेखि लिएर कल्चर भवन निर्माण गरिएको छ ।

ठोरीमा होटल रेष्टुरेन्टहरू खुल्ने क्रममा रहेको भए पनि स्तरीय होटल तथा पूर्वाधार निर्माण हुन सकेको छैन। पर्यटकहरू होमस्टेको घरायसी वातावरणमा बढी रम्ने गरेको अनुभव सुवर्णपुर होमस्टेका अध्यक्ष शम्भुराम पाैडेलको छ। त्यसैले स्थानीय तह पनि होमस्टेको संख्या वृद्धि गरी पर्यटन प्रवर्धन गर्न लागि परेको देखिन्छ ।