-राम जानकी मन्दिर जनकपुरधाम

ऐतिहासिक मकवानपुरगढीमा पर्यटकिय गन्तब्यका लागि पूर्वाधार निर्माण गरिने

Hollywood Khabar December 09,2018 Comments

२५ मंसीर मकवानपुर ।ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मकवानपुरगढीको विकासका लागि सरोकारवालाले चासो व्यक्त गरेका छन् ।सोमबार गढीमा आयोजित जनप्रतिनिधि, इतिहासविद्, पुरातत्वविद् र सुरक्षा निकायका प्रतिनिधिसहितको  छलफल कार्यक्रममा सरोकारवालाले गढीको विकासमा गम्भीर भएर लाग्ने बताएका हुन् ।सरकारले गढीलाई नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ।

देशकै पुरानो मकवानपुरको गढी दरबारका लागि उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले ९० लाख रुपैयाँ बजेट छुट्याएको छ ।गढी क्षेत्रको पूर्वाधार विकासमा अघिल्लो आर्थिक वर्ष ८० लाख रुपैयाँ बजेट विनियोजन भएकामा ८ लाख मात्र खर्च भएको थियो ।यस वर्ष विनियोजित रकम खर्च गर्ने गरी योजना तयार पारिने पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले बताए ।उनका अनुसार गढीमा छोटो समयमा पर्यटक भित्र्याउनका लागि तत्काल ४० लाखको लागतमा गोलघर सूचना केन्द्र र ५० लाखको लागतमा गेट, कम्पाउन्डलगायतका संरचना निर्माण गरिनेछन् ।

गढीमा कुनै पनि संरचना निर्माण गर्दा पुरातत्व विभागबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ ।त्यसका लागि आयोजनाले विभागमा पत्र पठाइसकेको क्षेत्रीले बताए ।‘प्रदेश ३ मा पर्ने सिन्धुली,चिसापानी, हरिहरपुर,उपरदाङ, सोमेश्वर,सूर्य,रसुवा र दुंगुना गढीको विकासका लागि सरकारले बजेट छुट्याएको छ,’ क्षेत्रीले भने,‘सबै ठाउँको कामलाई प्रदेश सरकारले उत्तिकै महत्वका साथ अघि बढाउनेछ।’