प्रभावशाली सिनेटर क्रिसभ्यान होलान हयारीको कार्यक्रममा सहभागी हुनुहुने

प्रभावशाली सिनेटर क्रिसभ्यान होलान हयारीको कार्यक्रममा सहभागी हुनुहुने

Hollywood Khabar October 02,2018 Comments

मेरिल्याण्ड

अमेरिकाको राजनीतिमा शीर्ष तहमा रहनुभएका सिनेटर क्रिसभ्यान होलान मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठमा आयोजित हयारी भण्डारीको फण्डरेजिङ्ग कार्यक्रममा सहभागी हुनुहुने भएको छ । आगामी अक्टोवर १२ तारिखको दिन हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा नेपाली मूलको तर्फवाट प्राईमेरी निर्वाचन विजयी भएका हयारी भण्डारीको कार्यक्रममा सिनेटर तहको सहभागिता पहिलो हो ।स्मरणीय छ, हयारीको निर्वाचन क्षेत्र भित्र नै सिनेटर होलानको कार्यक्रमले निकै ठूलो महत्व वोकेको छ ।

अमेरिकाको आगामी नोभेम्वर ६ मा हुने मिडटर्म निर्वाचनमा सिनेटोरियल समितिका संयोजक रहनुभएका क्रिस डेमोक्रयाट पार्टीको तर्फवाट आगामी निर्वाचनमा फेडरल सिनेटको लागि उमेदवार वनेका ३३ सिनेटरहरुको निर्वाचनमा मात्र सहभागी हुने गर्नुहुन्छ । राज्य तहको निर्वाचनमा हयारीको कार्यक्रममा सहभागी हुनुहुने क्रिसले यस्तो कार्यक्रममा विरलै उपस्थित हुनुहुन्छ ।

फ्रेण्डस अफ हयारीका ट्रिजरर ईन्द्र थापाका अनुसार उक्त कार्यक्रममा सिनेटर होलानका अवाला जोन सार्वेन्स तथा मेरिल्याण्ड राज्यका दर्जन भन्दा वढी उमेदवारहरु र निर्वाचित व्यक्तिहरु समेत सहभागी हुनुहुनेछ । यसमा सहभागी हुनुहुनेहरुको सूची आगामी शुक्रवार सम्म तयार पारी सकिने योजनामा हामी रहेका छौं –थापाले भन्नुभयो । थापा नेपाली समुदायका व्यक्तित्वहरुलाई आफनो नाम सूचीकृत गर्न विलम्व नगर्नुहुन अनुरोध गर्दे सहभागीताको लागि अपिल गर्नुहुन्छ ।

फ्रेण्डस अफ हयारीका राजनीतिक सल्लाहकार तथा वाहय मामिलाका संयोजक तरुण पौडेलले दिनुभएको जानकारी अनुसार सिनेटर क्रिसको उपस्थितिले नेपालीलाई अमेरिकाको मूलधारमा समाहित गराउन एउटा कोसे ढुंगा सावित हुने छ । पौडेल भन्नुहुन्छ –अमेरिकाको राजनीतिमा निकै प्रभावशाली सिनेटर जसले कंग्रेसको निर्वाचनमा अध्यक्षता गरिसक्नुभएको र अहिले सिनेटरहरुको चुनावमा मात्र केन्द्रित रहने कार्यसूचीमा अत्यन्त व्यस्तताका साथ हामीहरुको कार्यक्रममा उपस्थित हुनु आफैमा महत्वपूर्ण छ । यसले हामीहरुको पहुँच र शसक्तिकरणमा एउटा महत्वपूर्ण फडको मार्नेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

फ्रेण्डस अफ हयारी भण्डारीमा सक्रियताका साथ लाग्नु भएका अर्जुन हमालले अमेरिकामा रहेका नेपालीहरुलाई मूलधारको राजनीतिमा समाहित गराउन लागि परेका हयारी भण्डारीलाई सहयोग गर्न अपिल गर्नुहुँदै अहिले प्रवासमा खास गरि अमेरिकामा हामीहरुले मान्ने सवैप्रकारका चाडवाड भन्दा महत्वपूर्णै अभियान भण्डारी जिताऔ अभियान भएको वताउनुहुन्छ , हमाल अमेरिकी सिनेटमा सशक्त भूमिका खेल्ने व्यक्तिलाई नेपालीको कार्यक्रममा ल्याउन सक्नु आफैमा ठूलो उपलब्धि भएको वताउनुहुन्छ ।

को हुन होलान ?

अमेरिकाको सिनेटमा आफनो गर्विलो र सशक्त भूमिका निर्वाह गर्नुहुने क्रिस भ्यान होलान मेरिल्याण्डवाट सिनेटरमा विजयी हुनुभएको हो । उहाँ सिनेटको वजेट कमिटिमा रहनुभएको छ भने अहिले डेमोक्रयाट पार्टीको सवैभन्दा सशक्त नेता हुनुहुन्छ । उहाँको काँधमा ३३ सिनेटरहरुलाई विजयी वनाएर सिनेटमा डेमोक्रयाट पार्टीको वर्चस्व कायम राख्ने जिम्मेवारी रहेको छ ।

गत महाभुकम्प पश्चात नेपाली आप्रवासीलाई समेत टिपिएसको सुविधा दिनुपर्छ भनेर लविङ्ग गर्नुभएका सिनेटर क्रिसले टिपिएस वाहकलाई सिटिजनको पथमा लैजानुपर्छ भनेर विल नै प्रस्तुत गर्नुभएको थियो । नेपालीहरुको अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानमा उहाँको सहभागिताले निकै महत्व वोक्ने छ । राजदूत पिताजी र अनुसन्धान विभागमा दक्षिण एशिया मामिला हेर्नु भएकी आमाका छोरा क्रिसले नेपालीलाई विशेष महत्व दिदै आउनुभएको छ ।

अमेरिकाको राजनीतिमा डेमोक्रयाट पार्टीको प्रभावशाली सिनेटर क्रिसलाई पूर्व राष्ट्रपतिहरु विल क्लिन्टन र वाराक ओवामाका विश्वासपात्र व्यक्तिको रुपमा लिईन्छ । अमेरिकाको राजनीतिमा सशक्त र सवल भविष्य भएका क्रिस भ्यान होलानले भविष्यमा कुन पोजिशनमा आफूलाई उभ्याछन भनेर आँकलन गर्न सकिन्न ।