हलो र गोरुको पूजा गर्दै किसान

हलो र गोरुको पूजा गरि किसानले मनाए बसन्त पञ्चमी

Hollywood Khabar February 09,2019 Comments

२७ माघ गौशाला महोत्तरी।श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका हलो र गोरुको पूजा गरि किसानले श्री पञ्चमी मनाएका छन्।परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले महोत्तरीका हजारौँ किसानले हलो गोरु पूजा गरेका हुन्।
किसानले आ–आफ्ना आँगनमा हलो राखेर पूजाआजा गर्नुका साथै घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा गर्ने गर्दछन्।किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोतेका छन्।

आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुका रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने गर्छन्।किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन् प्रयोगमा ल्याउने गर्छन्।

श्रीपञ्चमीको अवसरमा अरवा चामलमा सख्खर मिलाएर एक किसिमको प्रसाद तयार पार्छन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्ने प्रचलन छ।आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्ने गरिन्छ भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ हुन्छ।हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाका १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहका सयौँ गाउँमा धुमधामका साथ मनाइएको छ।