सांसद रामवीर मानन्धर

गुठी संस्कृतिलाई सामन्तवाद भन्ने मन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने–सांसद मानन्धर

Hollywood Khabar June 14,2019 Comments

१ असार काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताउनुभएको छ।शनिवार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उहाँले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बास्कोटाले आगोमा घ्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजिनामा दिनुपर्ने तर्क गर्नुभएको हो।मन्त्री बास्कोटाको भनाइले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाईं गराउन खोजेको भन्दै उहाँले अपमान गर्ने विभागीय मन्त्री र सरकारको प्रवक्ताको दिनगन्ति शुरु भएको चेतावनी दिनुभयो।

मानन्धरले भन्नुभयो, ‘मन्त्रीहरुको दिनगन्ती शुरु हुन्छ,याद गर्नुहोस्।गणतन्त्रको पनि दिनगन्ति शुरु हुन्छ कि भन्ने हामीलाई चिन्ता लागिरहेको छ।’सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिनुभयो।उहाँले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठा सँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गर्नु भयो। उहाँले २ सय ४० बर्षे राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुयो‘मन्त्रीपरिषद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ सुन्नुपर्छ।फेरबदल गरेर कसैको इज्जत र जात जाँदैन।जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस्।केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि।किनभने २ सय ४० वर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन्।नेपाली जनता हुन्।त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला।यदि यो विधेयक बारे २ गते प्रधानमन्त्रीले केही बोलेन् भने ४ गते हेर्नुहोला।फेरि पनि मैले दोहोर्याएर भनेँ ४ गते पर्खेर बस्नोस्।४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुनेछैन।’

सँगसँगै राजसंस्थाविरुद्ध लडेर आएकाहरु माथि नै सरकारले दमनको नीति लिएको भन्दै मानन्धरले आक्रोश पोख्नुभयो।‘आफ्नो औकात नबिर्सनुहोला, काठमाडौंमा कसरी बस्नुभएको थियो? के गर्नुभएको थियो? के खानुभएको थियो? कुन घरमा सुत्नुभएको थियो? कसरी संरक्षण थियो? त्यो ख्याल गर्नुहोला’, आक्रोस हुँदै मानन्धरले भन्नुभयो ।

‘सरकारले बुझोस्,राजा फाल्ने शक्तिले तपाईलाई फाल्ने मात्रै होइन तपाईलाई मासमा ल्याएर धुलोपीठो बनाउँछ जनताले।याद गरोस् यो सरकारले, मानन्धरले भन्नुभयो, भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु विडम्बना हो।

संस्कृतिविद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको सञ्चालन गरी सम्पदाको संरक्षण गरी परम्परालाई कायम राख्नुपर्ने तर्क गर्नुभयो।