तस्बिर साभार वेब

गृहद्वारा ठगी र किर्ते सम्बन्धी मुद्दामा जाहेरी

Hollywood Khabar February 12,2020 Comments

२ फागुन काठमाडौँ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगी सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो।ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिनामा संलग्नलाई ठगी र किर्ते सम्बन्धी मुद्दा चलाउनुपर्ने भन्दै दुई साताअघि गृहमा प्रतिवेदन बुझाएको थियो। ठगी मुद्दा चलाउन जाहेरी अनिवार्य चाहिन्छ। हाल खारेज भइसकेको नेपाल समरजंग कम्पनी समेत गृह मातहत कै निकाय भएकाले मन्त्रालयको तर्फबाट जाहेरी परेको हो।गृह मन्त्रालयका एक उच्च अधिकारीले जाहेरी पठाइसकेको बताए। तर, उनले को–कोविरुद्ध किटानी जाहेरी छ भन्ने खुलाउन चाहेनन्। यो प्रकरणमा बिचौलियाबाट सरकार नै ठगिएको भन्दै मुद्दा दायर हुन लागेको हो।

समरजंग कम्पनीको नाममा रहेको बालुवाटारको करिब एक सय ३६ रोपनी जग्गा चारपटक गरेर विभिन्न व्यक्तिको नाममा लगिएको थियो। त्यसमा संलग्न एक सय १० जना र जग्गा किन्ने ६५ जना विरुद्ध गत २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ।

आयोगले तीन पूर्वमन्त्री तथा तीन पूर्वसचिवलाई समेत मुद्दा दायर गरेको थियो। पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध मुद्दा दायर गरेको थियो भने मुद्दा खेप्ने पूर्वसचिवहरूमा दीप बस्न्यात, दिनेश अधिकारी र छविराज पन्त छन्। तर, जग्गा फिर्ता गर्ने सर्तमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएको छ।